Redirecting...

असन्तुष्टिपछि पनि ओलीको समर्थनमा ज्ञवाली, ओलीलाई शानदार मतका साथ विजयी गराउन आग्रह - arthasanjal.com

असन्तुष्टिपछि पनि ओलीको समर्थनमा ज्ञवाली, ओलीलाई शानदार मतका साथ विजयी गराउन आग्रह - arthasanjal.com
Source: sanj

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका छन् । एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र स्थलमा मंगलबार दिउँसो ३ बजेबाट नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । उक्त निर्वाचनमा ज्ञवालीले अध्यक्ष ओली नेतृत्वको सम्पूर्ण टिमलाई एकताबद्ध भएर विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेका छन् । सोमबार ओलीले शंकर पोखरेललाई महासचिवमा दोहो¥याए पछि महासचिवका आकांक्षी रहेका ज्ञवाली ओलीसँग असन्तुष्ट बनेका थिए । तर, आज सामाजिक सञ्जालमार्फत एमालेको आन्तरिक जीवनका लागि मात्र नभई चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि ओलीको पक्षलाई शानदार मतका साथ विजयी गराउन अपिल गरेका छन् । उनले पार्टीलाई वैचारिक स्पष्टता, सांगठनिक मजबुती र राजनीतिक स्थिरताको मार्गमा अगाडि बढाउन ओली नेतृत्वको निरन्तरता अपरिहार्य रहेको बताएका छन् । उनले लेखेका छन्, ‘आज महाधिवेशनको सर्वाधिक महत्वपूर्ण र निर्णायक क्षण अर्थात् नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । नेकपा (एमाले) को आन्तरिक जीवनका लागि मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने यस महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नु भएको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउनु हुन सबै कमरेडहरूमा हार्दिक अपिल गर्दछु ।’ साथै, उनले आफू पार्टी केन्द्रीय कमिटी सदस्य पदमा उमेदवार रहेको जानकारी गराउँदै प्रतिनिधिहरूबाट मन र मत दुवै पाउने विश्वास व्यक्त गरे । ‘म हमेशा तपाईँहरूकै बिचमा छु, त्यहीँ रहन्छु,’ उनले थप लेखेका छन्, ‘यसपटक पार्टी केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवारी दिएको छु । कमरेडहरूबाट मन र मत दुबै पाउने विश्वास लिएको छु ।’