Redirecting...

आदिकविको जन्मथलो साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाइँदै - nagariknews.nagariknetwork.com

आदिकविको जन्मथलो साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाइँदै - nagariknews.nagariknetwork.com
Source: ngrk

भानु साहित्य उद्यानको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरिएको छ। आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानु नगरपालिका-४ चुँदीरम्घामा निर्माण गरिने सो गुरुयोजना मङ्गलबार बसेको भानु नगरपालिकाको कार्यपालिका बैठकले स्वीकृत गरेको हो।स्वीकृत गुरुयोजना अनुसार उद्यानको पुनर्निर्माणका लागि करिब एक अर्ब रूपैयाँ बजेट अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा सङ्घीय शहरी विकास मन्त्रालयबाट २० करोड रूपैयाँ बजेट विनियोजन भइसकेको छ।उक्त बजेटबाट शिखर कटेरीदेखि रम्घाडाँडासम्मको मोटरमार्ग स्तरोन्नति गरी कालोपत्र सडक निर्माण गरिनेछ भने ५४ फिट उचाइको आदिकवि भानुभक्त आचार्यको प्रतिमा निर्माण गर्ने योजना रहेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताए।उनले गत आर्थिक वर्षमै रम्घाडाँडामा आवश्यक ‘रिटेनिङ वाल’ निर्माण तथा जग्गा अधिग्रहण काम भइसकेको बताए।उनका अनुसार हालसम्म गुरुयोजना कार्यान्वयनका लागि चार सय रोपनी जति जग्गा प्राप्त भइसकेको छ।उद्यानलाई साहित्य, संस्कृति र पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित यसलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा बहुवर्षीय योजनामा समावेश गर्न आवश्यक प्रक्रिया अघि बढाइएको नगरप्रमुख त्रिपाठीको भनाइ छ।उनले भने, “गुरुयोजना कार्यान्वयनपछि उद्यानमा साहित्यिक संरचना, सांस्कृतिक प्रतीक, पर्यटकीय पूर्वाधार तथा अध्ययनअनुसन्धानका सुविधा विकास गरिने अपेक्षा गरिएको छ।”भाषाका माध्यमबाट जोड्ने आदिकविको जन्मथलो ओझेलमा परेपछि यसलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने लक्ष्य राखिएको छ।उनले भने, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा भानुभक्तको आचार्यको विशिष्ट पहिचान छ, यो ठाउँलाई समय सन्दर्भ अनुसारका सबै किसिमको धाम बनाउने परिकल्पना साथ अगाडि बढेका छौं।”साहित्यिक उद्यानमा विभिन्न संरचना निर्माण गरिनेछ। नगरप्रमुख त्रिपाठीका अनुसार यहाँ भानुभक्तको विशाल सालिक, रामायण मन्दिर, मूर्तिवाटिका, भानुभक्तकालीन नमूना बस्ती, भानु साहित्य ग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, मनोरञ्जन वनभोजस्थल, प्राकृतिक वन विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग प्रस्तावित गरिएको छ।रम्घाकोटमा भानुभक्तको विशाल प्रतिमा निर्माण गर्नु, नेपालको सामाजिक तथा सांस्कृतिक एकीकरण प्रक्रियामा भानुभक्तले दिएको योगदान परिलक्षित गर्न नेपालका सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सप्तधाम निर्माण गर्नु, रम्घाडाँडामा भानुभक्तकालीन घरबस्ती, जनजीवन, रहनसहन र सामाजिक वातावरणलाई वस्तुगत वा चित्राङ्कित रूपमा प्रदर्शन गर्नु यसको उद्देश्य छ।भानु साहित्यिक उद्यानका लागि हालसम्म एक करोड ८० लाख रूपैयाँ खर्च भएको छ। साहित्यिक उद्यान निर्माणका लागि पछिल्लो दुई आर्थिक वर्षमा गरी एक करोड ८० लाख ४१ हजार ५०० रूपैयाँ खर्च भएको जनाइएको छ।