प्रवासमै सिर्जिएको प्रेमगीत सार्वजनिक - sahityapost.com
काठमाडौँ । कवि, नाटककार तथा गीतकार गणेश खड्का र सङ्गीतकार–गायक नवीन खनालको सहकार्यमा तयार भएको नयाँ प्रेमगीत सार्वजनिक भएको छ । प्रवासमा बसेर सिर्जना गरिएको उक्त गीत २६ मङ्सिर २०८२ (१२ डिसेम्बर २०२५) मा गीतकार खड्काको आफ्नै युट्युब च्यानल Ganesh Khadka मार्फत सार्वजनिक गरिएको हो । प्रवासी जीवनका बाध्यता, समयको अभाव र परिस्थितिको चुनौतीबीच लेखिएको गीतलाई अन्याय नहोस् भन्ने हेतुले लामो समयपछि रेकर्डिङ गरिएको गीतकार खड्काले बताउनुभएकाे छ । गीतमा पुरुष आवाज सङ्गीतकार नवीन खनाल स्वयंले दिनुभएकाे छ भने महिला आवाजमा चर्चित गायिका रजिना रिमालको स्वर रहेको छ । अडियो रेकर्डिङपछि भिडियो निर्माण गर्ने चाहना जागेपछि विभिन्न देशमा रहेका स्रष्टाहरूको सहकार्यमा गीतको म्युजिक भिडियो तयार गरिएको हो । गीतकार सेसेल्समा, सङ्गीतकार दुबईमा तथा गायिका र भिडियो टिम नेपालमा रहँदै पनि प्रविधिको सहायताले साङ्गीतिक कर्मलाई पूर्णता दिइएको जनाइएको छ । अन्तरजातीय प्रेमसम्बन्धको सङ्घर्षपूर्ण कथामा आधारित गीत अन्ततः आपसी समर्पण र सङ्कल्पमार्फत प्रेम र जीवन दुवै सफल हुन सक्छन् भन्ने सकारात्मक सन्देशसहित सुखान्त रूपमा सम्पन्न हुन्छ । म्युजिक भिडियोमा दृश्य सुवेदी र रुषा नेउपानेको अभिनय रहेको छ । रिकेश गुरुङको सङ्गीत संयोजन, हरि हुमागाईंको छायाङ्कन तथा शिव पुरीको निर्देशन तथा सम्पादन रहेको भिडियो दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । रेडियो नेपालमा सहकर्मी रहँदा पचासको दशकमा समेत केही गीतमा सहकार्य गरिसकेका गणेश खड्का र नवीन खनालको यो नयाँ सहकार्यलाई साङ्गीतिक यात्राको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । नाटक, कविता, गीत, गजल, कथा, निबन्ध लगायत विभिन्न विधामा कलम चलाउँदै आउनुभएकाे गणेश खड्काका यसअघि पनि दर्जनभन्दा बढी गीत, नाटकसङ्ग्रह तथा कवितासङ्ग्रह प्रकाशित छन् । उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ । The post प्रवासमै सिर्जिएको प्रेमगीत सार्वजनिक appeared first on साहित्यपोस्ट.