Redirecting...

सर्लाहीका १६ सयभन्दा बढी घर डुबानमा - janatatimes.com

सर्लाहीका १६ सयभन्दा बढी घर डुबानमा - janatatimes.com
Source: jant

काठमाडौं, असोज २० । दुई दिनदेखि लगातार परिरहेको अविरल वर्षाले सर्लाहीका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण १६ सयभन्दा बढी घरधुरी डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीका अनुसार बागमती र लखनदेही खोलामा आएको बाढीले मात्रै १ हजार ६ सय १९ घर प्रभावित बनाएका छन्।बागमती नदीको बाढीले बलरा नगरपालिका–३ लक्ष्मीपुरका ७ सय घर, वडा नं. १ छन्की टोलका ५० घर र वडा नं. ५ का करिब १ सय ५० घरमा पानी पसेको छ। लखनदेही खोलाको बाढीले मलंगवा नगरपालिका–५ भाडसरका करिब २ सय घर डुबानमा परेका छन्। त्यसैगरी कौडेना गाउँपालिका–७ शिवनगरमा ३ सय ५० देखि ४ सय घर प्रभावित भएको प्रहरीले जनाएको छ। चक्रघट्टा गाउँपालिका–५ पडरियामा बाढी पस्दा २० वटा माटोका कच्ची घर पूर्ण रूपमा भत्किएका छन्। त्यसैगरी, हरिवन नगरपालिका चिनीमिल क्षेत्रमा पानीको उचित निकास नहुँदा ४० घरमा बाढी पसेको छ भने बरहथवा नगरपालिका–७ डोमटोलमा सोती खोलाको पानी पस्दा करिब १५ घर डुबानमा परेका छन्। कौडेना गाउँपालिका–३ र ५ मा लखनदेही खोलाको पानी पस्दा ४० घर डुबानमा परेका छन्, र कविलासी नगरपालिका–८ अगर्वामा झिम खोलाले १४ घर प्रभावित बनाएको छ। गोडैता नगरपालिकाका विभिन्न स्थानहरूमा पनि पानी पसेको प्रहरीले जनाएको छ। हालसम्म ठूलो जनधनको क्षति नभए पनि प्रभावित स्थानीयहरूलाई सुरक्षित स्थानमा सारिएको र राहतको तयारी भइरहेको प्रहरीको भनाइ छ। यता, कौडेना गाउँपालिका–३ स्थित लखनदेही खोलामा आएको बाढीले हुलाकी सडकको करिब १५० मिटर पक्की भाग बगाउँदा जिल्लाको पश्चिम क्षेत्र र सदरमुकाम मलंगवाबीचको यातायात सम्पर्क विच्छेद भएको छ। सडक बगिएपछि स्थानीयहरूलाई सदरमुकाम आउजाउ गर्न लामो वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था आएको छ।