जेनजी आन्दोलनपछिको ९० दिन : अर्थतन्त्र पुनरुत्थानको बाटोमा रहेको अर्थमन्त्रीको दाबी - www.pardafas.com
अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो तीन महिनाको अवधिमा मुलुकको अर्थतन्त्रले सकारात्मक दिशा पक्रेको र नागरिकमा आशाको सञ्चार भएको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित गोरखापत्र संस्थानको अङ्ग्रेजी प्रकाशन ‘दि राइजिङ नेपाल’को ६१औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले जेन-जी आन्दोलनपछिको अनिश्चयलाई चिर्दै सरकार पुनरुत्थान र पुनःनिर्माणको बाटोमा सफलतातर्फ उन्मुख भएको दाबी गरेका हुन् । भदौ २३ र २४ गतेको घटनापछि नेपालको अर्थतन्त्र गम्भीर संकटमा फस्ने र नागरिकको जीवनस्तर कष्टकर हुने जुन आशंका गरिएको थियो, सरकारले त्यसलाई ९० दिनभित्रै गलत सावित गरिदिएको उनको तर्क थियो । मन्त्री खनालले भने, ‘भदौको घटनापछि नेपाल एउटा अनिश्चयको भुमरिमा फस्यो र अर्थतन्त्र ध्वस्त भयो भन्ने खालका परिदृश्यहरु देखिएका थिए, तर हामीले ९० दिनकै छोटो अवधिमा तीव्र गतिमा पुनःनिर्माण र पुनरुत्थानको जग बसाल्न सफल भएका छौँ ।’ अर्थतन्त्र चलायमान भएको प्रमाणको रुपमा मन्त्री खनालले पछिल्लो समयको राजस्व संकलन र कच्चा पदार्थको आयातलाई प्रस्तुत गरेका छन् । उनका अनुसार मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र भन्सार राजस्वमा करिब १० प्रतिशतको वृद्धि देखिएको छ । भदौ महिनामा राजस्व संकलनमा केही गिरावट आए पनि असोज, कात्तिक, मंसिर र पुसको हालसम्मको तथ्यांकले अर्थतन्त्र लयमा फर्किएको संकेत गरेको उनले उल्लेख गरे । ‘कच्चा पदार्थको आयात बढ्नुले औद्योगिक उत्पादनमा गतिशीलता आएको देखाउँछ भने उपभोग्य वस्तुको आयातले बजारमा माग र उपभोग बढेको पुष्टि गर्छ,’ अर्थमन्त्रीले भने ।