अँ साँच्चै, दशैं सकियो त, कति भयो नि दक्षिणा ? - nepaliheadline.com
काठमाडौं- दशैं भन्नेबित्तिकै प्रायः सबैको मस्तिकमा दक्षिणा नै अगाडि आउँछ होला। दशैंमा परिवारका ठूला सदस्यले टीका, जमरा लगाइदिँदै आशिषसँगै दक्षिणा दिने भएकाले केही वर्ष अघिसम्म मेरो स्मरणमा पनि दशैं भनेपछि दक्षिणा नै अगाडि आउँथ्यो। तथापि, दशैंमा दक्षिणा नै सबै कुरा होइन भन्ने कुरा मैले केही वर्षदेखि बुझ्दै आएकी छु, जुन यसपालिको दशैंले झनै छर्लंग बनाइदियो। दशैं लागेसँगै गाउँघरमा छाउने रमाइलोपन, घरमा राखिएका जमरा बढ्दै गर्दा पकाइने मिठा-मिठा परिकार, घरलाई रंगाइने प्रक्रिया, देश-विदेशमा रहेका आफन्तहरू घर फर्कंदा छाएको रौनक सबै कुरा यसपालिको दशैंमा मिस गरियो। मान्न सकिन्छ, आजभोलिको दशैं पहिलेजस्तो रमाइलो लाग्दैन। तर पनि, सम्पूर्ण परिवारको साथमा बसेर दुःख, सुख बाँड्दै रमाइलो गर्नुको मज्जा नै बेग्लै हुँदो रहेछ। अन्य समय नभए पनि दशैंमा त जसरी नि घर फर्कनुपर्छ। मैले पनि यही सोचेकी थिएँ। मैले पनि दशैंमा घर जान हरेक महिना अनि हरेक साता कुरिरहेकी थिएँ। तर, कुनै कारणवस दशैं नजिकिन एक महिनाअघि मात्रै मैले यसपालि दशैंमा घर नजाने निधो गरें। हरेक दशैं परिवारको साथमा मनाउँदै आएकी मैले सुनेकी थिएँ- दशैंमा काठमाडौं निकै सुनसान हुन्छ अनि हदभन्दा नरमाइलो लाग्छ। त्यसकारण जे-जस्तो भए पनि दशैंमा त काठमाडौं छोड्नैपर्छ। लामो समय काठमाडौंमा बसेका साथीभाइहरूको अनुभवभन्दा मैले भिन्नै अनुभव बटुलें यसपालि। दशैं, तिहारको अवसरमा लाखौं मानिस काठमाडौं बाहिरिए पनि साथीभाइले भनेजस्तै काठमाडौं सुनसान भएको आभास भने मलाई भएन। कारण- यो वर्षको बाढी पहिरो पनि हुन सक्छ। दशैंको लागि अग्रिम टिकट बुकिङ हुने भनेकै दिनबाट लगातार दुई दिनसम्म परेको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बनाइदियो। ठाउँ-ठाउँमा पहिरो जाँदा धेरै यात्रुले ज्यान पनि गुमाउनुपर्यो। पानी पर्न त रोकियो। तर, सुक्खा पहिरो जाने क्रम रोकिएन। त्यसकारण पनि धेरैले त्रासै-त्रासले यसपालि काठमाडौं नछोडेको अनुमान गर्न सकिन्छ। करिब ५० लाखको आवादीलाई धानेको राजधानी काठमाडौबाट दशैंमा ५-७ लाख मानिस मात्र बाहिरिनु सामान्य हो। त्यसकारण पनि चहलपहलमा त्यस्तो कुनै फरकपना आएन। सडकमा गुड्ने सवारी साधनको संख्या केही हदसम्म कमी देखिए पनि सडक, गल्ली, चोक अनि पसलहरूमा मानिसहरूको भीडभाड, चलहलपहल उस्तै थियो। सडक, गल्ली, मन्दिरहरूमा दशैं नजिकिएसँगै बनाइएको झिलिमिली, पसलहरूमा राखिएका मखमली र सयपत्री फूलले काठमाडौंको सौन्दर्यलाई झनै निर्खारेको थियो। अर्काको ठाउँमा जस्तोसुकै झिलीमिली अनि चलपहल होस्, त्यसले क्षणिक खुशी मात्र दिन्छ। धित मरुन्जेल खुशी हुन त आफ्नै घर, गाउँठाउँ र परिवार नै चाहिने रहेछ। र, रुखोसुखो परिवारसँग खाएको वेश। परिवारसँग टाढा रहेर पहिलोपटक राजधानीमै मनाइएको दशैं एकदमै खल्लो, नरमाइलो लाग्यो। वर्षदिनदेखि त्यही दिनको प्र्रतीक्षा गर्दै घर जाने अनि रमाउने भन्दै बनाएको योजना कतिखेर आयो-गयो पत्तो नै भएन। दशैंअघि नै दशैं कुन घरमा मनाइने, के-कस्ता परिकार पकाउने, कस्तो लुगा लगाउने भनेर दिदी-बहिनीमाझ गरिने सल्लाह, मम्मीको हातबाट बनाइएका परिकार र उहाँको आशीर्वाद सबै मिस गरियो। बुवासँगै दशैं मनाएको स्मरण मलाई छैन। र, बुवा-मम्मीसँगै बसेर दशैं कहिले मनाउन पाउँछौं होला, त्यो पनि ज्ञात छैन। तर, मम्मीको हातबाट टीका थाप्न नपाएको यो नै पहिलोपटक थियो। दशैंको साइत शुरु भएसँगै दशैं विशेष भन्दै हरेकले सामाजिक सञ्जालमा तस्बिरहरू पोस्ट गर्दा भने मम्मीलाई सम्झँदै निकै नरमाइलो लाग्यो। बालपनको दशैं, कति भयो दक्षिणा ? ओई तेरो दक्षिणा कति भयो हँ ? प्रायः बच्चा हुँदा साथीभाइसँग गरिने प्रश्न। त्यो समयमा दशैंमा छुट्टै किसिमको रमाइलो हुन्थ्यो। सोह्रश्राद्ध सकिनेबित्तिकै घरलाई शद्ध बनाउन लिपपोत गर्नुपर्छ भन्ने मान्यता छ। त्यसकारण माटो लिन घरबाट करिब ४-५ किलोमिटर टाढाको जंगलमा जानुपर्थ्यो। हामी करिब ४-५ साथीहरूको समूह बनाई साइकल कुदाउँदै लालझाडी जंगल पुग्थ्यौं। माटो लिएर नफर्कंदासम्म यता मम्मीलाई झर्को लागिरहन्थ्यो। कारण- माटो खन्न बनाएको खाल्डोभित्र माटोको ढिस्को पल्टिएर धेरैले ज्यान गुमाउँथे। र, गाउँमा यस्ता घटना समय-समयमा सुनिन्थ्यो। त्यसकारण पनि भित्री खाल्डोमा नजानु भन्दै सम्झाई-बुझाई गरेपछि हामी माटो लिन जंगल पुग्थ्यौं। मान्छे सानै भए पनि आफूले सक्नेभन्दा बढी माटो बोरामा भरेर साइकलमा लोड गर्दा बल्लतल्ल घर पुग्थ्यौं। घटस्थापनाको दिन घर लिपपोत गरी जमरा राख्ने प्रक्रियासम्म निकै रमाइलो हुन्थ्यो। साँच्चै नै त्यो समयमा पैसा नै सोवथोक लाग्थ्यो। दशैंमा बिहानै उठी नुहाई-धुवाई गरेपछि टीकाको साइत कुर्दै कतिखेर दशैंको दक्षिणा हातमा पर्छ भन्नेतिर हाम्रो ध्यान बढी हुन्थ्यो। खर्च गरिहाल्छन् भनेर खासै दक्षिणा दिइँदैनथ्यो। मम्मी, सानो मम्मी, दाजु, दिदी गरेर मुस्किलले सय-दुई सय दक्षिणा हुन्थ्यो। त्यो रकम पनि त्यो समय निकै ठूलो लाग्थ्यो। दक्षिणा हातमा पर्नेबित्तिकै खानपिनको वास्ता नै नगरी क-कसको कति दक्षिणा भयो भनेर साथीलाई देखाउन अगाडि पुगिहाल्थ्यौं। सबै साथीमध्ये मेरो दक्षिणा जहिल्यै धेरै हुन्थ्यो। अनि सबैभन्दा दक्षिणा बढी मेरै भन्दै खुुब फुर्ति लाउँथें। आफूसँग भए खर्र्च गरिहाल्ने भएकाले चाहिएको समय माग्ने शर्तमा दशैंमा भएको दक्षिणा मम्मीलाई नै राख्न दिइन्थ्यो। फेरि राख्न दिएको दक्षिणा मम्मीले खर्च त गरिदिनु भएन भनेर घण्टैपिच्छे देखाउन भन्दै मम्मीलाई हैरान पार्थ्यौं भाइ र म। आफूले राख्न दिएको पैसाबारे खोजीनीति गरेपछि अन्तिममा मम्मी पनि दिक्क मानेर पैसा फिर्ता गर्न बाध्य हुनुहुथ्यो। दिदी बुझ्ने हुनुहुन्थ्यो। म र भाइले भने खुब सतायौं मम्मीलाई यो मामिलामा। पछि त आफ्नो दक्षिणा आफैं राख भनेर मम्मीले खुत्रुके पनि किनेर ल्याइदिनुभयो। सोही खुत्रुकेमा दशैं-तिहारको दक्षिणा मात्र नभई पाहुनाहरूले दिनुभएको पैसा पनि राख्न थालें। तर, स्कुल लागेपछि भने टिफिनमा खाजा खाने भन्दै मम्मीले नजानिँदो पारामा खुत्रुकेको प्वाल ठूलो बनाई जम्मा गरेको दक्षिणा सकाएको पत्तो नै हुँदैनथ्यो। साँच्चै निकै रमाइला अनि यादगार छन् ती दिनहरू। सबै परिवार एकसाथ दशैं मनाउँदा डबल मज्जा ५-७ वर्षयता मेरो सम्पूर्ण परिवार एकै ठाउँमा बसेर दशैं, तिहार मनाउन थालेका छौं। हजुरआमा, ठूलो बुवा, ठूलो मम्मी, सानो बुवा-मम्मी हुँदै दाजु-भाउजू अनि दिदीहरूबाट दशैंको टीका, जमरा थाप्ने र आफूभन्दा साना भाइबहिनी अनि भदाभदैलाई टीका लगाइदिँदा कम्ति रमाइलो हुँदैन। त्यसभन्दा रमाइलो सम्पूर्ण परिवार साथमा खानपिन गर्दा हुन्छ। वर्षभरि आ-आफ्नै काममा व्यस्त रहने सबै दशैंको एक दिन एकसाथ हुँदा छुट्टै खुशीको आभास हुन्छ। अहिले भने दक्षिणा बढेको भन्दा सम्पूर्ण परिवार एकसाथ भएकामा खुशी ज्यादा लाग्छ। बुवाहरू कहिल्यै दशैंमा घरमा बस्न पाउनुभएको छैन। अझै पनि रोजगारीको सिलसिलामा भारतमै हुनुहुन्छ। दुई वर्षमा एकपटक घर फर्कने उहाँहरू हरेक दशैंमा घर आउन सके हाम्रो घरमा दशैंको रौनक झनै भिन्दै हुन्थ्यो होला भन्ने महशुस सबैले गरेका छौं। एक वर्ष एक घरमा त अर्को वर्ष अर्को घरमा टीका थाप्ने नयाँ चलनले झनै परिवारमा आत्मीयता बढेको छ। अघिल्लो वर्षको दशैं हाम्रो पहाड घरमा मनाउने निर्णय भयो। प्रायः सबै घरबाट जान भ्याउने जति दशैं मनाउन पहाडतिर नै जानुभयो। हरेक घरमा थोरै सदस्य बाँकी रहनुभएपछि आ-आफ्नै घरमा दशैं मनाइयो। हामीले पनि मम्मी, सानो बुवा-मम्मी, भाउजू, दिदीबाट दशैंको टीका थाप्यौं। त्यसपालिको दशैं पनि खासै रमाइलो लागेन। कारण- दक्षिणा कम भएर होइन, सम्पूर्ण परिवार साथमा नभएर। पोहोरको फिकापन यो दशैंमा मेटाउने मन थियो। तर, यसपालिको दशैं पोहोरको भन्दा झनै दिक्दार लाग्यो।