Redirecting...

दाहाल, ओली, देउवा : नेतृत्वको 'त्रिशूल'मा नेपाली राजनीति - nagariknews.nagariknetwork.com

दाहाल, ओली, देउवा : नेतृत्वको 'त्रिशूल'मा नेपाली राजनीति - nagariknews.nagariknetwork.com
Source: ngrk

नेपाल कम्युनिस्ट पार्टी एमाले महासचिव शंकर पोखरेलले प्रमुख दलहरूमा नेतृत्व परिवर्तनको विषयलाई लिएर घुमाउरो भाषामा नेकपा माओवादी केन्द्रप्रति व्यंग्य गरेका छन्। मुलुकमा बहुदलीय व्यवस्था स्थापनापछि अन्य दलमा नेतृत्व परिवर्तन भए पनि माओवादी केन्द्रमा भने सुरुदेखि अहिलेसम्म पुष्पकमल दाहाल नेतृत्वमा रहेको पोखरेलको राय हो।पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेअनुसार मुलुकमा बहुदलीय व्यवस्था स्थापनापछि एमालेमा मदन भण्डारी, मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओलीले नेतृत्व गरेका छन्। त्यस्तै नेपाली कांग्रेसको मुख्य नेतृत्व कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाले गरेका छन्। माओवादी केन्द्रमा भने सुरुदेखि अहिलेसम्म पुष्पकमल दाहालको नेतृत्व रहेको उनले लेखेका छन्।प्रमुख पार्टीहरूमा नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला पोखरेलको यो पोस्टको के अर्थ होला? उनले एमाले र कांग्रेस नेतृत्वमा ‘रोटेसन’ भएको तर माओवादी केन्द्रमा दाहालको एकलराज भएको देखाउन खोजेका छन्। विश्ल्लेषकहरू भने पछिल्लो समय सबै दलमा नेतृत्वको एकलराज भएको बताउँछन्। बहुदलीय शासन प्रणाली स्थापनापछि सत्ताको मूलधारमा रहेका प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र माओवादी केन्द्रभित्र नेतृत्वको विषयमा व्यापक असन्तुष्टि छ।माओवादी केन्द्रमा दाहालले निरन्तर नेतृत्व गरेको झन्डै चार दशक हुन लागेको छ। ‘जनयुद्ध’को कमान्डरदेखि मुलुकमा गणतान्त्रिक व्यवस्था ल्याउने भूमिकासमेत निर्वाह गरेका दाहालको नेतृत्वप्रति पार्टीभित्र असन्तुष्टि छ। पछिल्लो समय नेतृत्व हस्तान्तरणको बहस माओवादी केन्द्रभित्र नभएको पनि होइन। उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्कीलगायतले नेतृत्वमा ताजा सोच र रणनीति हुनुपर्ने संकेत गर्दै आएका छन्। तर उनीहरू सधैं अल्पमतमा छन्।माओवादी केन्द्रको नेतृत्वमा अझै पनि दाहालको विकल्प नभएको धेरैको बुझाइ छ। दाहाल पक्षका नेताहरू त नेतृत्वमा उनी नभई नहुने ठान्छन्। ‘राजनीतिक दलमा नेतृत्व पुस्तान्तरण विचारले हुने हो, उमेरले होइन,’ माओवादी केन्द्रका उपमहासचिव मातृका यादव भन्छन्, ‘हाम्रो आन्दोलनमा कमरेड प्रचण्ड (दाहाल) सबैभन्दा कान्छा हो नि। मोहनविक्रम सिंहलाई माओ, निर्मल लामालाई चाओ भनिन्थ्यो। तर कसैबाट पनि आन्दोलन पूरा भएन। आखिर आन्दोलनका लागि प्रचण्ड नै चाहियो।’उनले दाहाल जति खट्ने नेता माओवादी केन्द्रमा नभएको बताए। दाहालले पार्टीमा ‘नयाँ क्याप्टेन नभएसम्म जहाज नछाड्ने’ भन्दै पुस्तान्तरण विचारबाट मात्र सम्भव भएको यादव बताउँछन्। माओवादीमा नेतृत्व हस्तान्तरणको बहस चले पनि यो तत्काल सम्भव हुने अवस्था अझै नबनेको यादलको भनाइले बुझिन्छ।एमाले महासचिव पोखरेलले उल्लेख गरेअनुसार नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन हुँदै आएको छ। कांग्रेसमा अहिले शेरबहादुर देउवाको नेतृत्व छ। यो उनको दोस्रो कार्यकाल हो। विधानको व्यवस्थाअनुसार आगामी महाधिवेशनबाट उनी नेतृत्वमा दोहोरिन पाउने छैनन्। त्यसपछि नेतृत्व अर्कैमा जानेछ। देउवा पार्टीमा आफूअनुकूल शक्ति सन्तुलन कायम गर्न सफल छन्। तर दोस्रो पुस्ताका नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, मिनेन्द्र रिजाललगायतले बेलाबेलामा नेतृत्व परिवर्तनको माग गर्दै आए पनि उनीहरूको आवाज बलियो र संगठित छैन। नेता डा. शेखर कोइराला अब कांग्रेसमा नेतृत्व परिवर्तन हुनेमा ढुक्क छन्।‘कांग्रेसको विधानमा नै दुई पटक सभापति बन्न पाइन्छ भन्ने व्यवस्था छ। उहाँ (देउवा) दुई पटक सभापति भइसक्नु भयो,’ कोइरालाले भने, ‘उहाँले अब राजनीतिक सन्न्यास लिने कुरा राखिसक्नुभएको छ। यसलाई हामी सबैले ठिक भनेका छौं, यसलाई अन्यथा लिनु हुँदैन।’देउवा समर्थकहरू अनुभव र राजनीतिक सन्तुलन कायम गर्न सक्ने क्षमताका कारण पार्टीलाई अझै उनी चाहिने ठान्छन्। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य देउवाको नेतृत्व स्वच्छ नभएकाले उनले अब सहज रूपमा नेतृत्व हस्तान्तरणको बाटो खोल्नुपर्ने बताउँछन्। तर देउवा पक्षका नेता अनुभवी नेतृत्वले मात्र पार्टीलाई सन्तुलनमा राख्न सक्ने बताउँछन्। पार्टीको आन्तरिक संरचना र सत्ता सन्तुलनमा देउवाको पकड अझै मजबुत छ। विरोधी पनि उनका केही सकारात्मक पक्षको तारिफ गर्न चुक्दैनन्।महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्व हस्तान्तरणमा अन्य दलको तुलनामा कांग्रेसमा अलि व्यवस्थित अभ्यास रहेको सुनाउँछन्। जति लोकप्रिय भए पनि दुई पटकभन्दा बढी जिल्ला वा केन्द्रीय सभापति बन्न नपाइने बताउँदै उनले कांग्रेसमा हरेक चारपाँच वर्षमा महाधिवेशन हुने र प्रतिस्पर्धाका आधारमा नेतृत्व चयन हुने परिपाटी रहेको उल्लेख गरे।‘हाम्रोमा प्रश्न उठाउँदैमा पार्टीबाट निष्कासन हुनु पर्दैन। मैले सभापति शेरबहादुर देउवालाई तपाईं अब छैटौं पटक प्रधानमन्त्री बन्नुहुन्न भनें,’, शर्माले भने, ‘भोलिपल्ट उहाँसँगै बसेर चिया पिएँँ। मेरो हातमा स्पष्टीकरणको पत्र परेन नि।’एमालेको आफ्नै कथा छ। एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओली शक्तिशाली मानिन्छ। चार पटक प्रधानमन्त्री बनेका ओली पार्टी संगठन विस्तार र राष्ट्रियताको अजेन्डामा सबल भएको दाबी गरिन्छ। तर एमालेमा ओलीको आलोचना गर्नेलाई टिक्ने वातावरण नहुने बताइन्छ। विगतमा माधवकुमार नेपाललगायतका नेताले एमालेबाट अलग भएर नयाँ पार्टी खोल्नु ओलीकै ‘हठ’ कारक भएको धेरैको बुझाइ छ।विगतमा मात्र हैन वर्तमानमा पनि एमालेमा ओलीको दबदबा देखिन्छ। तर पनि पार्टीभित्र नेतृत्वको बहस भने चर्किएको छ। महासचिव ईश्वर पोखरेलले ७० वर्ष उमेरसीमा र दुई कार्यकालका आधारमा अब ओलीले नेतृत्व छाड्नुपर्ने बताउँछन्। उनले स्थायी र केन्द्रीय समिति बैठकमै, ‘अब तपाईंले नेतृत्व छोड्नुस् ...’ भनेको सार्वजनिक भएको थियो।एमालेमा नेता कर्णबहादुर थापा पनि नेतृत्व परिवर्तनको पक्षमा देखिन्छन्। उनी अब पार्टीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेतृत्व लिन खोज्नुु स्वाभाविक ठान्छन्। अब भण्डारीले मात्र पार्टीमा सामूहिक नेतृत्व प्रणालीलाई बलियो बनाउन सक्ने, पार्टीका समस्याका समाधान गर्न सक्ने थापाको बुझाइ छ। तर उनको यो आवाजले एमालेका कुनै पनि बैठकमा स्थान पाएन।अर्का राजनीतिक विश्लेषक हरि रोक्का नेतृत्वको मुख्य काम जिम्मेवारी हस्तान्तरण, वैकल्पिक विचारको संस्थागत अभ्यास र भावी नेतृत्व निर्माण भएको बताउँछन्। नेतृत्व पार्टी सगंठनदेखि स्थायित्वको विषयमा चनाखो रहनुपर्ने उनको बुझाइ छ। त्यस्तै नेतृत्वले कति डेलिभरी गरिहरेको छ, नयाँ पुस्तालाई नेतृत्वका लागि तयार गरिरहेको छ कि छैन भन्नेतर्फ ध्यान दिनुपर्छ। तर नेपालका प्रमुख दलहरू यो मामिलामा चुकेको उनको बुझाइ छ। ‘पार्टीमा ओली पछि को? देउवा पछि को? प्रचण्डपछि को? भनेर नेतृत्व पंक्ति तयार पारिएको छैन,’ उनले भने, ‘अहिले जो, जसले भित्रभित्रै पार्टी नेतृत्वको उत्तराधिकारी दाबी गरेका छन् उनीहरूसँग पनि पार्टीलाई सम्हाल्ने हैसियत देखिन्न।’ नेतृत्व हस्तान्तरण गर्नुभन्दा पहिला नेतृत्वकर्ताले आफ्नो जिम्मेवारी बुझ्नुपर्ने उनको भनाइ छ।‘दलका नेतृत्वकर्ताले नयाँ पुस्तालाई समेट्न र आन्तरिक लोकतन्त्रलाई आत्मसात् गर्न सकेको देखिएन,’ उनले भने, ‘अहिलेको मूल समस्या यही हो।’ उनले भने जस्तै नेपालका तीन प्रमुख दलमा चलिरहेको नेतृत्व परिवर्तनको बहसले देखाएको कुरा के हो भने अब राजनीतिक नेतृत्व दायित्व बोध गर्न सक्ने, अनुभवी, स्थायित्व दिन सक्ने, नवीन सोच भएको र सहभागितामूलक हुनुपर्छ।एमाले महासचिव पोखरेलको पोस्टलाई कतिले व्यंग्य ठाने पनि कतिले नेतृत्वमा पुनर्विचारको संकेतका रूपमा बुझेका छन्। राजनीतिक विश्लेषक आचार्य अहिले एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली, गठबन्धनलाई सहयोग गरिरहेका कांग्रेस सभापति देउवा र प्रमुख विपक्षी माओवादी केन्द्रका अध्यक्ष दाहालको वरिपरि मुलुकको राजनीति घुमेको बताउँछन्। उनले यी नेताबाट मुलुकका समस्या समाधान हुन नसक्ने ठोकुवा गरे।‘अब त कांग्रेस, एमाले र माओवादीमा अर्थनीति र राजनीति केहीमा भिन्नता पाइँदैन। न त कार्यान्वयनको पक्षमै पाइन्छ,’ उनले भने, ‘त्यसकारण मतदाताले व्यवहार परिवर्तन गर्न थालेका छन्।’हामीले जतिसुकै गाली गरे पनि, मन नपराए पनि कांग्रेसका देउवा, एमालेका ओली र माओवादीका दाहालको नै पार्टी रजगज रहेको उनले बताए। ‘यी तीन नेताले झन्डै दुई दशकदेखि यताउता पल्टेर शासन चलाएका छन्,’ उनी भन्छन्, ‘प्रमुख तीन दलको वर्तमान नेतृत्व अझै सत्तामा जान, बस्न चाहन्छ किनकि उनीहरूलाई थाहा छ कि सत्तामा पुगेर आफूले नेतृत्व छाड्नुनपर्ने अवस्था सिर्जना गर्न सकिन्छ।’