बक्सअफिसमा ‘परान’को अग्रता कायमै - ehimalayatimes.com
काठमाडौं । चलचित्र विकास बोर्डले सोमबार बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ । जसअनुसार नीर शाह स्टारर चलचित्र ‘परान’ ले घरेलु बक्सअफिसमा १७ करोड रुपैयाँ ग्रसभन्दा धेरै कमाइ गरेको छ । सिनेपाः बक्सअफिसमा पछिल्लो शनिबार २० मंसिरसम्म चलचित्रले १६ करोड ९७ लाख ९३ हजार ३५४ रुपैयाँ ग्रस कमाएको छ । आइतबारसम्मको हिसाब जोड्दा चलचित्रको कमाइ १७ करोड नाघेको छ । सोमबार अपराह्नसम्म चलचित्रको कमाइ १७ करोड १० लाख ग्रस हाराहारीमा पुगेको छ । सोही अवधिसम्म चलचित्रका पाँच लाख ९८ हजार ३०९ वटा टिकट बिकेका छन् । दीपक आचार्य काकु निर्देशित चलचित्रले अभिभावक र सन्तानबीचको मर्मस्पर्शी सम्बन्धको कथा भन्छ । यो अहिलेसम्म सन् २०८२ को सर्वाधिक कमाइ गर्ने चलचित्रसमेत हो । यस्तै, अनमोल केसीको मुख्य भूमिका रहेको ‘जेरी अन टप’ ले १२ करोड २६ लाख ६ हजार २४० रुपैयाँ ग्रस कलेक्सन गरेको छ । जुन मंसिर २० अर्थात् शनिबारसम्मको तथ्यांक हो । सोही दिन यस फिल्मले प्रदर्शनको ५१औं दिनसमेत मनाएको थियो । यस अवधिभर चलचित्रका तीन लाख ९१ हजार टिकट बिक्री भएका छन् । त्यसैगरी, शनिबारसम्म उपेन्द्र सुब्बा निर्देशित ‘जारी २’ ले ६ करोड २३ लाख नेरु ग्रस कमाएको छ । सोही अवधिमा यस चलचित्रका दुई लाख सात हजार टिकट बिक्री भएका छन् । ‘जारी २’ चर्चित चलचित्र ‘जारी’ को सिक्वेल हो । २०८० सालमा रिलिज भएको ‘जारी’ १७ करोडमाथिको व्यापार गरेको थियो । ‘जारी २’ मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, ऋचा शर्मा, प्रेम सुब्बा, अनिल सुब्बा, रेखा लिम्बुलगायतको अभिनय छ । चलचित्रको लेखक तथा निर्देशक उपेन्द्र सुब्बा हुनुहुन्छ । टंक बुढाथोकी निर्देशित ‘मनबिनाको धन’ ले तीन करोड ७९ लाख रुपैयाँ ग्रस कमाएको छ । चलचित्रका एक लाख ४५ हजार टिकट बिकेका छन् । ‘मन बिनाको धन’ भने बालगायक अशोक दर्जीको जीवनमा आधारित चलचित्र हो । यस चलचित्रमा दर्जीको जिरोदेखि हिरोसम्मको यात्रालाई समेटिएको छ ।