रास्वपा संघीयता स्वीकारी गणतन्त्रको पक्षमा उभिने - bishwokhabar.com
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गणतन्त्रै पक्षमा उभिने भएको छ । संघीयता स्वीकार्ने र संविधानले संस्थागत गरेका परिवर्तनका एजेन्डालाई अगाडि बढाउन तयार भएको छ । खासगरी काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ मिसिएपछि रास्वपाभित्र वैचारिक प्रश्न पेचिलो गरी उठेको थियो । यीलगायत वैचारिक अस्पष्टताबारे उठेका प्रश्न चिर्नेगरी रास्वपाले गणतन्त्रको पक्षमा उभिने र संघीयतालाई स्वीकार गर्ने नीति अवलम्बन गर्ने आन्तरिक सहमति गरेको हो । यस्तो सहमति जुटाउन रास्वपाका सभापति रवि लामिछाने, कुलमान घिसिङ, सुदन गुरुङलगायत छलफलमा बसेका थिए । छलफलमा रवि लामिछानेसँग कुलमान घिसिङले संघीयता, पहिचान, गणतन्त्र र धर्मनिरपेक्षतासहित वैचारिक धारमा लिखित स्पष्टता चाहिने अडान राखे । यसका पछाडि उनले विगतमा रास्वपाले यी एजेन्डामा प्रस्ट केही नभनेको र प्रदेश सभा सदस्यको निर्वाचनमा मतदान नगेको विषय स्मरण गराएका थिए । २०७९ को चुनावमा रास्वपाले प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिएको थिएन । साथै, रास्वपा सभापति लामिछाने र काठमाडौंका मेयर बालेनले प्रदेश सभा सदस्यको निर्वाचनमा मतदानसमेत गरेका थिएनन् । साथै, रास्वपाले राष्ट्रिय सभाको निर्वाचनमा समेत भाग लिएको छैन । आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । उक्त निर्वाचनमा भाग लिनेगरी १३ वटा राजनीतिक दलले दल दर्ता गरेका छन् । तर रास्वपाले राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छैन । यो पृष्ठभूमिमा नवगठित रास्वपाभित्र वैचारिक अस्पष्टाबारे पेचिलो गरी प्रश्न उठेको थियो । त्यसलाई चिर्नेगरी उनीहरूले आन्तरिक सहमति गरेका हुन् । तर लिखित रूपमा भने अझै केही भनिएको छैन । बैठकपछि नेता जितराम लामाले भनेका छन्, ‘संघीयतालाई स्वीकार गर्ने, संघीय संरचना मानेर जाने तय भएको छ । गणतन्त्र र संविधान स्वीकार गर्ने सहमति भएको छ ।’ यसका साथै रास्वपामा बालेन र कुलमान पक्षको समायोजनपछि बन्ने पदाधिकारी र केन्द्रीय समितिको विषयमा समेत छलफल भएको छ । नेताहरूका अनुसार चार पदाधिकारी बालेन र कुलमान समूहलाई दिइने भएको छ । रास्वपाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह, ऊर्जामन्त्री समेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग पुस १३ र १४ गते सात बुँदे सहमति गरेको थियो । पार्टी एकीकरण एवं विस्तार कार्यान्वयनका लागि सम्झौता कार्यान्वयन गर्ने निर्णय गर्दै रास्वपाले सहमतिअनुसार थपिएको चारवटा पदाधिकारी कुलमान र बालेन समूहलाई दिने सहमति जुटाएको हो । आइतबार रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समितिको बैठक बसेको थियो । बैठकले बालेन शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीतसमेत गरेको छ । पार्टी प्रवक्ता मनीष झाका अनुसार आइतबार मात्रै विवेकशील साझा पार्टीबाट आएका सात जनालाई केन्द्रीय समितिमा मनोनीत गरिएको छ ।