इजिप्ट एएफकनको क्वाटरफाइनलमा - ehimalayatimes.com
कायरो । आठौंपल्ट उपाधि जित्ने लक्ष्यमा अघि बढिरहेको इजिप्ट अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मोहम्मद सलाहले अतिरिक्त समयको अन्तिम क्षणमा गरेको गोलको मद्दतमा बेनिनविरुद्ध ३-१ को जित निकाल्दै इजिप्टलाई एएफकनको क्वाटरफाइनलमा प्रवेश गरेको हो । इजिप्टले खेलको सुरुवातदेखि नै दबाब बनाए पनि नियमित समयमा १-१ को बराबरीमा सीमित भएको थियो । खेलको ६९औँ मिनेटमा मारवान अत्तियाले इजिप्टलाई अग्रता दिलाउनुभएको थियो । तर, ८३औँ मिनेटमा बेनिनका जोडेल डोसुले रिबाउन्डमा गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । अतिरिक्त समयको सातौं मिनेटमा यासेर इब्राहिमले अत्तियाको क्रसमा हेडरमार्फत् गोल गर्दै इजिप्टलाई फेरि अग्रता दिलाउनुभयो । त्यसपछि काउन्टर आक्रमणमा सलाहले पेनाल्टी क्षेत्र बाहिरबाट सट हानेर गोल गर्दै जित पक्का गर्नुभयो । यो प्रतियोगितामा सलाहको तेस्रो गोल हो । खेलको पहिलो हाफमा इजिप्टलाई ठूलो झट्का लागेको थियो । लेफ्ट ब्याक मोहम्मद हम्दी डोकु डोडोसँग ठोक्किँदा गम्भीर घुँडाको चोट लागेपछि स्ट्रेचरमा बाहिरिन बाध्य हुनुभएको थियो । इजिप्ट अब शनिबार क्वाटरफाइनलमा बुर्किना फासो वा डिफेन्डिङ च्याम्पियन आइभोरी कोस्टसँग भिड्नेछ । प्रतियोगितामा सबै खेल एगाडिरमै खेलेको इजिप्टले अतिरिक्त एक दिनको विश्राम पनि पाउनेछ । सोमबार भएको अर्को खेलमा नाइजेरियाले मोजाम्बिकलाई ४-० ले पराजित गर्यो । एजेन्सी