एमाले महाधिवेशन : प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार, एक जना पक्राउ - bishwokhabar.com
Source: bsbk
काठमाडौं– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जारी ११औँ राष्ट्रिय महाधिवेशनमा मतदान भइरहेको छ । महाधिवेशन प्रतिनिधिहरू भोट हाल्न लाम्बद्ध छन् । नेता तथा समर्थकहरू भने आ–आफ्नो पक्षका नेताहरूलाई भोट माग्न लाइनमा बसेका प्रतिनिधिहरूसँग आग्रह गरिरहेका छन् । केपी शर्मा ओली र ईश्वर पोखरेल समूह प्यानलै बनाएर प्रतिस्पर्धामा छन् । आ–आफ्नो प्यानलका उम्मेदवारहरूको नामावली प्रतिनिधिहरूलाई बाँडेर भोट मागिरहेका छन् । यही क्रममा एक जना व्यक्ति मतदान केन्द्र परिसरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछाम घर भएका शंकर सावद रहेको प्रहरीले जनाएको छ । सावदले प्यानलगत उम्मेदवाहरूको नामावली अदलबदल गरेको लिस्ट तयार गरी प्रचारप्रसार गरेको आरोप एमाले कार्यकर्ताहरूले लगाएका छन् । सावदलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।