विश्व घटना : अफगान भूकम्पमा मारिए २४ सय - www.nepaliheadline.com
काठमाडौं- आज ७ अक्टोबर। विश्व इतिहासका विभिन्न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप। – सन् २००१- अफगानिस्तानमा अमेरिकी आक्रमण अमेरिकाको न्युयोर्कस्थित ट्विन टावर अलकायदाले ध्वस्त बनाएपछि त्यस आतंकवादी संगठनविरुद्ध आजदेखि अफगानिस्तानमा अमेरिका र बेलायतले संयुक्त सैन्य अभियान शुरु गरेका थिए। त्यतिबेला अफगानिस्तानको सत्ता कब्जा गरिरहेको तालिबानले अलकायदा प्रमुख ओसामा बिन लादेनलाई जिम्मा लगाउन गरेको अनुरोध अस्वीकार गरेपछि उक्त सैन्य कारवाही आरम्भ भएको थियो। उक्त सैन्य हस्तक्षेपलाई तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसले आतंकवादविरुद्ध विश्वव्यापी लडाईं संज्ञा दिएका थिए। – सन् १९९६- फक्स न्युजको प्रसारण आरम्भ अस्ट्रेलियन-अमेरिकी बिजनेस टाइकुन रुपर्ट मर्डोकले आजकै दिनदेखि फक्स न्युज टेलिभिजनको प्रसारण आरम्भ गरेका थिए। यो २४ घण्टे न्युज च्यानल अहिले अमेरिकामा सर्वाधिक हेरिने टेलिभिजन हो। – सन् १९५९- धर्तिमा पहिलोपटक देखियो चन्द्रमाको डार्क साइड तत्कालीन सोभियत संघको अन्तरिक्ष यान लुना-३ ले पहिलोपटक चन्द्रमाको डार्क साइडका तस्बिरहरू पठाएको थियो। चन्द्रमाको उक्त पाटो पृथ्वीबाट देख्न सकिँदैन। त्यहीं पुगेका अन्तरिक्ष यानले पठाएका तस्बिर र भिडियो मात्र देख्न पाइन्छ। पृथ्वीबाट चन्द्रमाको ५९ प्रतिशत भाग मात्र देखिन्छ। बाँकी भाग देख्न सकिँदैन। त्यो भनेको एकैतर्फबाट मात्र चन्द्रमाले पृथ्वीको परिक्रमा गर्नुको परिणाम हो। – सन् १९४४- नाजीविरुद्ध विद्रोह अस्टविज-बिर्केनौ सोन्डरकोमान्डो विद्रोह नाजीहरूले कैद गरेका कैदीहरूले गरेका थिए। आफूहरूलाई जसरी पनि हत्या नै गर्ने भएपछि कैदीहरू विद्रोहमा उत्रिएका थिए। नाजीहरूले विद्रोह तत्काल दमन गरे। र, ४५० जनाभन्दा बढीको नृशंस हत्या गरे। – सन् १९१९- नेदरल्यान्ड्सको एयरलाइन्स स्थापना १०६ वर्षअघि आजकै दिन नेदरल्यान्ड्सको एयरलाइन्स केएलएमको स्थापना भएको थियो। उक्त एयरलाइन्सले १७ मे १९२० मा आम्स्टर्डम र लन्डनबीच पहिलो उडान भरेको थियो। यो हवाई सेवा प्रदायक कम्पनी विश्वको पुरानो एयरलाइन्समध्ये एक हो। – सन् २०२३- अफगान भूकम्पमा मारिए २४ सय अफगानिस्तानमा आजकै दिन आएको शक्तिशाली भूकम्पमा परी २ हजार ४०० जनाको ज्यान गएको थियो। ६.८ रेक्टर स्केलको भूकम्पले खासगरी हेरात प्रान्तमा बढी क्षति पुर्याएको थियो। – सन् २०२३- इजरायलमाथि हमासको आक्रमण सन् २०२३ मा आजकै दिन प्यालेस्टिनतर्फबाट हमासले इजरायलमा आक्रमण गरेको थियो। त्यसयता दुवै मुलुकबीच युद्ध जारी छ। गाजा क्षेत्रबाट गरिएको आक्रमणमा परी १ हजारभन्दा बढी मारिएका थिए। त्यसलगत्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो मुलुक युद्धमा होमिएको घोषणा गरेका थिए।