महाधिवेशन : युवा नेताहरू जो एमालेको केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् - bishwokhabar.com
काठमाडौं– नेकपा एमालेको जारी ११ औँ महाधिवेशनमा केही चर्चित नयाँ अनुहार केन्द्रीय सदस्यमा इन्ट्री गर्दैछन् । केन्द्रीय कमिटीमा इन्ट्री हुन लागेका एमालेका चर्चित युवा नेतामध्ये एक सुनिता डङ्गोल हुन् । काठमाडौँ महानगरकी उपमेयर डङ्गोल स्पष्ट वक्ता तथा मोटिभेसन स्पिकर पनि हुन् । हिजो महाधिवेशन प्रतिनिधि मनोनयनमा परेपछि केन्द्रीय सदस्य हुने उनको बाटो खुलेको छ । यसैगरी ललितपुर उपमहानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य पनि केन्द्रीय सदस्यको सूचीमा चढ्दै छिन् । उनलाई पनि मनोनयनमा परेपछि केन्द्रीय सदस्यको बाटो खुलेको हो । यसपटक केन्द्रीय सदस्यमा इन्ट्री गर्ने अर्का चर्चित व्यक्तित्व हुन् सुहाङ नेम्वाङ । १० औँ महाधिवेशनबाट उपाध्यक्ष भएका सुवासका छोरा सुहाङ २०८० मा बाबुको निधन भएपछि इलाम २ बाट निर्वाचन जितेर सांसद भएका थिए । यस्तै अर्का चर्चित व्यक्तित्व अब्दुस मियाँ पनि केन्द्रीय सदस्यमा इन्ट्री गर्दैछन् । पार्टी भित्रका सेलिब्रेटीको रूपमा रहेका मियाँ २०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग चुनाव लडेका थिए । त्यसबाहेक बागलुङ एमालेका अध्यक्ष हिराबहादुर केसी पनि यो पटक केन्द्रीय सदस्यमा इन्ट्री हुदैछन् । त्यसैगरी एमालेमा नौ वटा जिल्लाका अध्यक्षहरू दोहोरिएका छन् । ती सबैले केन्द्रीय सदस्य बन्ने चाहाना राखेका छन् ।