आईपीओ अनुमति माग्ने कम्पनीको विवरण अब बाह्य लेखापरीक्षकले जाँच्ने, कार्यविधि बनाउँदै सेबोन - www.nepalclicks.com
काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि अनुमति दिनु अघि कम्पनीहरूले पेस गर्ने वित्तीय विवरण आवश्यक परेको अवस्थामा बाह्य लेखापरीक्षकमार्फत परीक्षण गराउने तयारी थालेको छ। आईपीओ अनुमति माग्दै आवेदन दिएका कम्पनीहरूको वित्तीय विवरणको विश्वसनीयतामाथि शंका लागेमा स्वतन्त्र तथा विज्ञ लेखापरीक्षकबाट जाँच गराउने सम्बन्धमा स्पष्ट कानुनी र प्रक्रियागत व्यवस्था गर्न सेबोनले कार्यविधि बनाउन लागेको हो। बोर्ड स्रोतका अनुसार यससम्बन्धी कार्यविधिको मस्यौदा तयार पार्न सेबोनका सञ्चालक आन्दराज शर्मा वाग्लेको अध्यक्षतामा समिति गठन गरिएको छ। सेबोनको सञ्चालक समिति बैठकले वाग्लेको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको प्रतिनिधिका रूपमा सेबोनको सञ्चालक रहेका वाग्ले नेतृत्वको समितिमा सेबोनका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, एक जना डेपुटी कार्यकारी निर्देशक तथा चार्टर्ड एकाउन्टेन्ट सदस्य रहेका छन्। समितिलाई कुन अवस्थामा, कस्ता कम्पनीको र कुन आधारमा वित्तीय विवरण बाह्य लेखापरीक्षकबाट परीक्षण गराउने भन्ने विषयमा आवश्यक मापदण्ड तय गर्दै कार्यविधिको मस्यौदा तयार पार्ने जिम्मेवारी दिइएको छ। स्रोतका अनुसार यो नीति कुनै एक कम्पनीलाई मात्र लक्षित नभई आईपीओ, हकप्रद सेयर र (एफपीओ) का लागि अनुमति माग्ने सबै कम्पनीमा लागू हुने गरी बनाइँदैछ। सेबोनका एक अधिकारीका अनुसार अनुमति माग गर्दै आवेदन पेस गर्ने कम्पनीको वित्तीय विवरणमा अस्वाभाविक अंक, पुराना विवरण प्रयोग गरिएको शंका, लेखापरीक्षणमा कमजोरी देखिएको अवस्था वा अन्य कुनै कारणले शंका लागेमा विज्ञ बाह्य लेखापरीक्षकबाट परीक्षण गराइने व्यवस्था गर्न लागिएको हो। ‘यसका लागि स्पष्ट मापदण्डसहितको कार्यविधि आवश्यक भएकाले समिति गठन गरिएको हो,’ ती अधिकारीले नेपाल क्लिक्ससँग भने, ‘समितिले मस्यौदा तयार पारेर सञ्चालक समितिबाट स्वीकृत भएपछि शंका लागेका कम्पनीको वित्तीय विवरण बाह्य परीक्षण गराइनेछ।’ धितोपत्रसम्बन्धी ऐनमा आवश्यक परे आईपीओ निष्कासन गर्ने संगठित संस्था तथा धितोपत्र व्यवसायीले पेस गरेको वित्तीय विवरण लेखा विशेषज्ञबाट जाँचबुझ गराउन सकिने व्यवस्था पहिले नै रहेको छ। यही कानुनी व्यवस्थाको आधारमा सेबोनले अब बाह्य लेखापरीक्षण गराउने स्पष्ट मापदण्ड र प्रक्रिया तय गर्न लागेको हो। पछिल्लो समय सेबोनले दुई वर्षअघिकै वित्तीय विवरणका आधारमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई तय मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति दिएको विषयमा बजारका जानकारहरूले प्रश्न उठाएका थिए। यस्ता विवादित विषय दोहोरिन नदिन र सेयर बजारप्रति लगानीकर्ताको विश्वास मजबुत बनाउन बाह्य परीक्षणको व्यवस्था आवश्यक भएको बताइन्छ। यसअघि पनि सेबोनसँग धितोपत्र दर्ता गराएका संगठित संस्थाले समयमै लेखापरीक्षण नगराएमा वा लेखापरीक्षक नियुक्त गर्न नसकेको अवस्थामा बोर्ड आफैंले लेखापरीक्षक नियुक्त गरी हिसाबकिताबको जाँचबुझ गराउन सक्ने व्यवस्था छ। नयाँ कार्यविधिले यस्तो व्यवस्थालाई अझ स्पष्ट, व्यवस्थित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ। वाग्ले नेतृत्वको समितिले आईपीओ निष्कासन गर्ने कम्पनीहरूको क्षेत्रगत अवस्थासमेत विश्लेषण गरी आवश्यक सूचक र मापदण्ड सिफारिस गर्नेछ। सेबोनले कार्यविधि लागू भएपछि आईपीओ अनुमति प्रक्रिया थप विश्वसनीय, पारदर्शी र विवादरहित हुने विश्वास लिएको छ।