Redirecting...

सिटिजन्स बैंकका सीइओ विवादमा, छोरा पनि विवादमा, अवार्डको फण्डा हो ? (भिडियो ब्रिफिङ) - arthasarokar.com

सिटिजन्स बैंकका सीइओ विवादमा, छोरा पनि विवादमा, अवार्डको फण्डा हो ? (भिडियो ब्रिफिङ) - arthasarokar.com
Source: aths

काठमाडौँ । हदैसम्मको बेथितिले गिजोलिएको सिटिजन्स बैंक कसरी बेष्ट भयो त ? के नेपालमा बेष्ट बैंक बन्न सीएसआरको पैसाले चकलेट बाँड्नै पर्ने हो त ? सिटिजन्सले गरेको काम त त्यहि हो । कि नेपालमा बेष्ट बैंक हुन खाताबाटै करोडौं रुपैयाँ हराउनुपर्छ । सिटिजन्स बैंकमा भएको त यहि हो । सिटिजन्स बैंक त्यहि बैंक हो, जो बढी ब्याज लिएको भन्दै राष्ट्र बैंकको कारवाहीमा केहि महिना अघि मात्र परेको थियो । कि बेष्ट बैंक हुन यसरी नै जनता ठग्ने र नियामकले कारवाही गरेको हुनुपर्छ ? नेपालमा मन्त्री फेरिए भन्दा बढी सिटिजन्स बैंकमा संचालक फेरिन्छन् । त्यो पनि गैरकानुनी नियुक्ति भयो भनेर राष्ट्र बैंकले निकालिदिन्छ । नयाँ संचालकको निर्वाचन गर्न नसकेर केस अदालतमा छ । के बेष्ट बैंक हुन यस्तै यस्तै मापदण्ड पूरा गरेको हुनुपर्छ हो ? होइन भने दुई दुई पटक बैंक अफ दी एयर हुनेगरी सिटिजन्स बैंकले के गर्यो ? यसको जवाफ सिटिजन्ससँग छैन । पोहोर साल सिटिजन्स बैंकले बैंक अफ दी एयर अवार्ड पाएपछि धेरै बैंकहरुले अव यो अवार्डका लागि अप्लाई नगर्ने आन्तरिक निर्णय गरे । सिटिजन्स बैंकले नै बैंक अफ दी एयरको अवार्ड पाएपछि अव कुन मुखले सोहि अवार्डका लागि आवेदन दिने भन्ने बहस चल्यो । सँगै बैंकको नाफा घटिरहेका बेला खर्चिलो अवार्डको पछि लाग्नु हुँदैन भनेर धेरैजसो बैंकले यो अवार्डका लागि दौडधुप नगर्ने निर्णय गरे । स्वयम् सिटिजन्स बैंकको संचालक समितिमा बैंकको हरिबिजोग स्थितिलाई सुधार्नुभन्दा सीइओ अवार्डकै पछि लागेको भनेर आलोचना भयो । ‘अवार्ड त ल्याउनु भो बेष्ट बैंक भनेर, तर रिकभरी कहिले सुधार्नुहुन्छ ? कम्प्लाइन्सको हरिबिजोग स्थिति कहिले राम्रो बनाउनुहुन्छ ? बैंकको ब्राण्ड इमेज कसरी सुधार्नुहुन्छ ? भनेर संचालकले पटक पटक सीइओलाई प्रश्न गरे । तर, अवार्ड पो अप्लाई गरिदियो, आयो, काम गर्न त गाह्रो छ नि भन्ने बुझेका सीइओ नाजवाफ भए । देशमा मन्त्री फेरिए भन्दा बढी सिटिजन्स बैंकमा संचालक फेरिने स्थिति छ, कराउने कराउँदै गर्छन्, अवार्ड त पाएसम्म लिने हो भनेर सीइओ लागिरहे । अझ यसपाली त अमेरिका बस्ने छोरो लण्डनमा जागिरे छ । छोरो भेट्न बिदामा जाउँ भने, लाखौँ सकिने भयो, अवार्ड लिने नाममा गईयो भने त देश पनि हेरिने, स्वाद पनि फेरिने, छोरो पनि भेटिने, अवार्ड प्यास पनि मेटिने सोचे सायद सीइओले, र त फेरि अप्लाई गरिदिए सीइओले बैंक अफ दी एयर अवार्डका लागि, र तिरिदिए पैसा सो अवार्डका लागि सहभागी हुनै पर्ने ग्लोबल बैंकिङ समिटमा लाग्ने सहभागी खर्च । अझ यति गर्दा पनि के पुगेन के पुगेन लागेछ क्यार सीइओलाई बैंकका प्रतिनिधि मात्र जाने चलन भएको कार्यक्रममा आफ्नै छोरालाई पनि सहभागी गराईदिए । त्यसपछि विवाद यसरी पनि सुरु भयो कि, बैंकका संचालकले खुलेरै सीइओको मनपरी हद भएको भन्न थाले । बैंक अफ्ट्यारो अवस्थामा छ, यसलाई उतार्ने कुनै योजना छैन । न ऋण दिने स्थिति छ, न निक्षेप असेप्ट गर्ने स्थिति छ । न बिग्रेको ऋण उठाउने स्थिति छ, न कम्प्लाइन्स सुधार्ने योजना छ । संचालकको निर्वाचन रोकिएको छ, ऋणीले ऋणको ब्याज समयमा नतिर्दा एनपीएलको आन्तरिक स्थिति बिजोग छ । यस्तो हुँदा सीइओलिई बेष्ट भनेर अवार्ड लिन जाने ? सिटिजन्स बैंकले यो बीच एक बर्षमा एक त्यस्तो विशेष गर्यो र बेष्ट बैंकको अवार्ड पाउने ? के सिटिजन्स बैंक नबिल बैंकभन्दा राम्रो हो ? एभरेष्ट भन्दा राम्रो हो ? स्ट्याण्डर्ड चार्टर्ड, वा नेपाल एसबि आई बैंक भन्दा राम्रो हो ? अहँ हुँदै होइन ? सिटिजन्सको अवस्था त अहिले धेरै झुर छ । र पनि अवार्ड भने बेष्ट बैंक भनेर लिँदा के जाति गर्नेलाई भन्दा देख्नेलाई लाज भएन ? भनेर संचालकहरु नै मुर्मुरिएका छन् । र भनिरहेका छन् – कार्यकाल सकिन ८३ साल चैत्र कुर्नुपर्छ, त्यो बेलासम्म सीइओले अवार्ड बटुल्ने नाममा बैंकको पैसा खर्च गरेर छोरो भेट्न लण्डन जाने बाहेक केहि नगर्ने भए । यति भनिसकेपछि धेरैको मनमा लाग्न सक्छ, बैंक अफ दी एयर त राम्रै अवार्ड होइन र ? विदेशी अवार्ड होइन र ?हो, जरुर यो अवार्ड बिदेशी अवार्ड हो । कुनै बेला यसको ओझ पनि गज्जबको थियो । तर सिटिजन्सले बेष्ट बैंकको अवार्ड पाएपछि अरु राम्रा बैंकले सिटिजन्स बैंक हालत हेरेर, अवार्ड सम्झेर हाँसेका थिए पोहोर नै । यसपाली त अलिअलि बाँकी अवार्डको इमेज पनि सकिएछ भनेर राम राम भनिरहेका छन् । सिटिजन्स बैंकले आफुले दोश्रो पटक बैंक अफ दी एयर अवार्ड पाएको भन्दै ‘ठुलै उपलब्धि’ जसरी प्रचार गरिरहेको छ । कतिपयले दुई पटक सो अवार्ड पाउने सिटिजन्स बैंक नेपालका बैंकहरुमध्ये उत्कृष्ट हो त ? भन्ने प्रश्न गरिरहेका छन् । हामीले यहि विषय यसअघि अवार्ड प्राप्त गरिसकेका र बैंक अफ दी एयर अवार्डबारे जानकार बैंकरहरुलाई सोधेर केहि तीतो यथार्थका तथ्य संकलन गरेका छौँ । आउनुहोस्, बुँदागत रुपमा बुझौँ यो अवार्डको यथार्थ । १. के बैंक अफ एयर अवार्ड नेपालमा रहेका बैंकहरुमध्ये उत्कृष्ट बैंकले पाउने हो ?– होइन । त्यसो हुँदै होइन । त्यसो भएको भए सिटिजन्स बैंकले सो अवार्ड पाउने थिएन । नेपालमा स्याण्डर्ड चार्टर्ड, एभरेष्ट, नेपाल एसबिआई लगायतका बैंकभन्दा सिटिजन्स उत्कृष्ट भनेर कसैले पत्याउँछ त ? पत्याउन्न, र होईन पनि । २. त्यसो भए सिटिजन्सले कसरी यो अवार्ड पायो त ?– कुरा सिम्पल छ । दी बैंकरले यो अवार्डका लागि आवेदन माग्छ । पोहोर र यसपाली सिटिजन्स बैंकले मात्र सो अवार्डका लागि आवेदन दिएको थियो । प्रतिष्पर्धामा एक्लै भएपछि जित उसको स्वत: हुने भयो । यो एक जनामात्र विद्यार्थी भएको कक्षामा सो विद्यार्थी फर्ष्ट भयो भनेजस्तै हो । ३. सिटिजन्स बैंकबारे दी बैंकरले के के हेर्छ ?– सिटिजन्स बैंकले उपलब्ध गराएको विवरण अवार्ड दिनेले पक्कै हेर्छ । तर, एक्लै आवेदक भएकाले यस्तो केसमा अवार्डदाताले बैंकभित्रको आन्तरिक किचलो, बैंकको बिग्रेको स्थिति, बैंकभित्र हुने गरेका थुप्रै नन कम्प्लाइन्स, र बैंकका विषयमा आएका विवाद पत्रिकाले हेर्दैन । आवेदक एक भन्दा बढी भएको केसमा भने अवार्डदाताले ती विषय पनि हेर्छ, तर एक मात्र आवेदक हुँदा हेर्दैन । अघिल्लोपटक र यसपाली सिटिजन्सले अवार्ड पाएको कारण यहि हो । ४. नभनेको, यो अवार्ड गर्व गर्न लायक होइन ? कि के हो ?– कक्षामा एक जना छोरो पढ्छ, सधैं फर्ष्ट हुन्छ भन्ने विषयमा गर्व गर्ने कि नगर्ने यो ‘आफ्नो च्वाइस’को विषय हो । ५. बैंक अफ दी एयर अवार्ड लिन पैसा पर्छ ?– घुमाउरो पारमा पर्छ । दी बैंकरले ग्लोबल बैंकिङ समिट गर्छ । त्यसमा सहभागी हुन पैसा लाग्छ । अवार्ड पाउने व्यक्तिहरु सो कार्यक्रममा सहभागी हुनैपर्छ । विशेषगरी बैंकका अध्यक्ष र सीइओ त्यस्तो कार्यक्रममा जाने चलन छ । सोको सबै खर्च बैंकले नै बेहोर्छ । ६. बैंक अफ दी एयर अवार्ड प्राप्त गरेको बैंक खराब पनि हुन सक्छ ?– किन नसक्नु ? यहि अवार्ड प्राप्त गरेका बैंकमा थुप्रै नन कम्प्लाइन्स भएको रिपोर्ट स्वयम् नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । ७. राष्ट्र बैंकले समस्या देखाउने, अनि बेलायती पत्रिकाले उत्कृष्ट बैंक भनेर अवार्ड दिने पनि हुन्छ त ?– हुन्छ । नेपालमा यस्तै भईरहेको छ । ८. अनि, आफु उत्कृष्ट छैन भन्ने जान्दाजान्दै पनि बैंकहरुले किन सो अवार्ड दाबी गर्छन् ।– यसका विभिन्न कारण हुन सक्छन् । मिडियामा जाने एउटा कारण पाइन्छ । एक दुई दिन हो हल्ला गर्न पाइन्छ । बेलायतमै आफ्ना छोराछोरी बस्छन् भने भेट्न पाइन्छ । छोराछोरी भेट्न पनि बैंककै खर्चमा जान पाइन्छ । ठाउँ पनि हेरिने, मुख पनि फेरिने हुन्छ । ९. बैंक अफ दी एयर अवार्डको ओझ पछिल्लो समय घटेको हो ?– जरुर हो । कुनै बेला यो अवार्ड सम्मानको प्रतिक मानिन्थ्यो । अहिले सिटिजन्स बैंकजस्ता कमजोर बैंकले पाउन थालेपछि यो अवार्डलाई बैंकको बिजोग स्थिति लुकाउने कम्मलको रुपमा धेरैले हेर्छन् नेपालमा । प्रभु बैंकले पनि सो अवार्ड केहि समय अघि पाएको थियो । अहिले सोहि बेलाको प्रकरणमा सीआईबीले अनुसन्धान गर्न बैंकका हाकिमहरु हिरासतमा लिएको छ । यो अवार्डको ओझ घटेकै कारण, पछिल्लो समय बैंकहरुले यो अवार्ड लिन खासै बल गर्दैनन् । १०. यो अवार्ड कसले पाउँछ भन्ने पहिला नै थाहा हुन्छ ?– नेपालका बाणिज्य बैंकहरु मात्र यो अवार्डका लागि आवेदन दिन योग्य मानिन्छन् । नत्र, अघिल्लो पटक सिटिजन्स बैंकले अवार्ड पाउँदा सो अवार्डका लागि कर्णाली डेभलपमेन्ट बैंकले प्रयास गरेको थियो । बाँकी रहेका थोरै बाणिज्य बैंकमध्ये खासै प्रतिष्पर्धा गर्न कोहि चाहान्न । त्यसमाथि पैसा खर्च गरेर अवार्ड ल्याउनु भन्दा काम राम्रोसँग गर भनेर संचालक समितिमा प्रेसर आउँछ । त्यसैले पनि अरुले सो आवेदन नै दिएनन् । सिटिजन्सले दुवै पटक एक्लै आवेदन दियो, र अवार्ड पनि पायो । ११. यो अवार्डले बैंकको ब्राण्डमा राम्रो केहि इनपुट दिन्छ ?– यो आ-आफ्नो व्याख्याको कुरा हो । सिटिजन्स बैंकको हकमा भने दुई पटक अवार्ड पाएको बाहेक प्रचार गर्न केहि नभएपछि उसले अहिले देखिने प्रचार नै गर्न छोडेको छ । अझ जग हँसाउने र संचालक रिसाउनेगरी सीइओले त्यतिबेला काम गरे, अव उनले आफ्न लन्डनमा रहेको छोरालाई बैंकको प्रतिनिधिझैं बनाएर अवार्ड कार्यक्रममा रक्सी खान लगे । बर्षौं अघि अमेरिकामै सेटल भएका पोखरेलका छोराको जागिरको पोष्टिङ हाल लण्डनमा छ । बेलायतमा रहेका आफ्ना छोरालाई भेट्नु अन्यथा नभए पनि बैंककै प्रतिनिधिजसरी दी बैंकरले गरेको कार्यक्रममा लैजानु भने गलत भएको भन्दै बैंकका संचालकहरुले आपत्ति जनाएका छन् । बैंकको अवार्ड लिने कार्यक्रममा सीइओ र अध्यक्ष मात्र जाने हो । बैंकको स्वीकृति पनि त्यहि हो । छोरा सहभागी हुने कुरा हामीलाई बताइएको नै थिएन भन्छन् संचालक । बैंकका सीइओले कतै बेलायतमै रहेका आफ्ना छोरालाई भेट्न टिकट महँगो भएपछि बैंकको खर्चमा बेलायत जानकै लागि बैंक अफ दी एयरका लागि अप्लाई गरेता त होइनन भन्ने आशंका अहिले बैंककै संचालकको छ । हामीले अघिल्लो बर्ष पनि यो विषय उठाएका थियौँ । तर यसपाली बैंकमा के गरिस् भन्दा लण्डन पुगेर छोरो मात्र भेटिन एक थान अवार्ड पनि ल्याएँ भन्नका लागि जसरी सीइओ अवार्ड मोहबाट पछि हटेनन् । यस विषयमा बुझ्न हामीले बैंकका सीइओलाई सम्पर्कको प्रयास गर्यौँ, तर उनी सम्पर्कमा नै आएनन् । यता बैंकले भने सीइओले छोरा लैजाने कार्यक्रम आफुलाई थाहा नभएको बताएको छ । बिगत केहि समय यता बैंक आन्तरिक किचलोमा छ । बैंक सबैभन्दा बढी संचालक फेरिने बैंकका रुपमा चर्चित छ । बैंकको संचालक समिति संचालकले सबैभन्दा बढी नोट अफ डिसेन्ट लेख्ने कुरा पनि चर्चित छ । आन्तरिक किचलोकै कारण बैंकले संचालकहरुको निर्वाचन गर्न सकेको छैन । संचालक समितिको निर्वाचनको विषयलाई लिएर अदालतमा मुद्धासमेत परेको छ । र त फेरी पनि सोध्दैछौँ, सोच्दैछौँ, हदैसम्मको बेथितिले गिजोलिएको सिटिजन्स बैंक कसरी बेष्ट भयो त ? के नेपालमा बेष्ट बैंक बन्न सीएसआरको पैसाले चकलेट बाँड्नै पर्ने हो त ? सिटिजन्सले गरेको काम त त्यहि हो । कि नेपालमा बेष्ट बैंक हुन खाताबाटै करोडौं रुपैयाँ हराउनुपर्छ । सिटिजन्स बैंकमा भएको त यहि हो । सिटिजन्स बैंक त्यहि बैंक हो, जो बढी ब्याज लिएको भन्दै राष्ट्र बैंकको कारवाहीमा केहि महिना अघि मात्र परेको थियो । कि बेष्ट बैंक हुन यसरी नै जनता ठग्ने र नियामकले कारवाही गरेको हुनुपर्छ ? नेपालमा मन्त्री फेरिए भन्दा बढी सिटिजन्स बैंकमा संचालक फेरिन्छन् । त्यो पनि गैरकानुनी नियुक्ति भयो भनेर राष्ट्र बैंकले निकालिदिन्छ । नयाँ संचालकको निर्वाचन गर्न नसकेर केस अदालतमा छ । के बेष्ट बैंक हुन यस्तै यस्तै मापदण्ड पूरा गरेको हुनुपर्छ हो ? होइन भने दुई दुई पटक बैंक अफ दी एयर हुनेगरी सिटिजन्स बैंकले के गर्यो ? यसको जवाफ सिटिजन्ससँग छैन । छ त मात्र अवार्ड मोह, अनि जनताको पैसामा छोरासहितको रक्सीको चियर्स ! यो देशलाई त्यतिकै सतिले सरापेको भनेको कहाँ हो र ? र त, यहाँ कलौटे दाजु कलाकार दर्ज हुन्छन्, भ्रष्ट नेता नैतिकताको अर्ति दिन्छन्, सिटिजन्स बैंकले बैंक अफ दी एयर अवार्ड पाउँछ । आखिर पैसाले के मात्र गर्दो रहेनछ है । अनि राष्ट्र बैंक झट्ट हेर्दा सीइओले केहि लाख खर्च गरेर एउटा अवार्डको टोकन लिए त के भयो भन्ने लागिरहेको होला होइन । सीआईबीले बैंकर थुन्नेगरी हात पसारेको छाडातन्त्रलाई दिएको यस्तै प्रशयका कारण त होइन ? अव गम्भीर बन्ने कि । (भिडियो)