प्रेस सचिवको ओठबारे ट्रम्पको भद्दा टिप्पणी भाइरल - nagariknews.nagariknetwork.com
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महिलासँग हुने विवाद कुनै नयाँ कुरा होइन। ट्रम्प उसै पनि कुनै व्यक्ति वा देशको बारेमा टिप्पणी गरेर चर्चा र विवादमा आउने गरेका छन्। ट्रम्पले विवादित टिप्पणीका कारण धेरै पटक आलोचना समेत खेप्नु परेको छ। यसबिच राष्ट्रपति ट्रम्पले एक महिलाको ओठलाई मेसिन गनको संज्ञा दिएर भद्दा टिप्पणी गरेका छन्। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटमाथि गरिएको उनको यो टिप्पणी अहिले चर्चामा छ। ट्रम्पले क्यारोलिन तारा (स्टार) जस्तै भएको भनेका छन्। अमेरिकी राष्ट्रपतिले भने, ‘उनी (क्यारोलिन) को अनुहार, उनको दिमाग र उनको ओठ। उनको ओठ मेसिन गन जस्तै चल्छ। उनी साँच्चै एक स्टार हुन्।’ अमेरिकी समाचार च्यानल न्यूजम्याक्सका प्रस्तोता रोब फिनर्टीलाई अन्तर्वार्ता दिइरहेका बेला उनले यस्तो टिप्पणी गरेका हुन्। अन्तर्वार्तामा जब रोबले ट्रम्पलाई क्यारोलिनको बारेमा प्रश्न सोधे जवाफमा ट्रम्पले यस्तो बताएका हुन्। उनका अनुसार क्यारोलिन अमेरिकी राष्ट्रपतिको लागि काम गर्ने अहिलेसम्मकै उत्कृष्ट सचिव हुन्। हालै उनले पत्रकार सम्मेलनमा ट्रम्पले धेरै देशहरूबिच युद्धविराम गराएको दाबी गर्दै अमेरिकी राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको बयान दिएकी थिइन्। ट्रम्पले महिलाबारे यस्तो बयान दिएको यो पहिलो पटक होइन। यसअघि पनि ट्रम्पमाथि आपत्तिजनक टिप्पणी दिएको आरोप लागेको छ। चुनावी अभियानको क्रममा ट्रम्पका धेरै पुराना भिडियो र अडियो क्लिपहरू बाहिर आएका थिए, जसमा उनले महिला विरुद्ध आपत्तिजनक बयान दिएका थिए। एजेन्सी