Redirecting...

पैँतालीस दिने योजना बनाएर तयार गरिँदै छ नयाँ सांसदका लागि नयाँ बैठक स्थल - www.bbc.com

पैँतालीस दिने योजना बनाएर तयार गरिँदै छ नयाँ सांसदका लागि नयाँ बैठक स्थल - www.bbc.com
Source: bbcn

Ministry of Urban Development गत भदौ २४ को आन्दोलनमा सङ्घीय संसद्को बैठक बस्ने गरेको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आगजनीमा परेपछि फागुनको चुनावबाट आउने सांसदहरूका लागि सरकारले सिंहदरबारभित्रै नयाँ हल तयार गर्ने तयारी तीव्र बनाएको छ।संसद् बैठकका लागि नयाँ ठाउँ खोजिरहेको संसद् सचिवालयलाई सरकारले अबको एक महिनालगत्तै नयाँ हल तयार गर्ने वाचा गरेको अधिकारीहरूले बताएका छन्।फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट चुनिएर आउने सांसदहरूका लागि बैठक बस्ने ठाउँ नभएपछि गत साता संसद् सचिवालयले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यालयलाई बैठक हलको व्यवस्थापन गरिदिन पत्र नै लेखेको विवरण सार्वजनिक भएका थिए। चुनावमा सवा १९ अर्ब रुपैयाँ सरकारी खर्च हुने अनुमान, उम्मेदवार र दाताले कति गर्लान् भावी प्रधानमन्त्री भनेर अघि सारिएका उम्मेदवारबीच के साँच्चै 'सार्वजनिक बहस' हुनुपर्छ ‍संसद् सचिवालयले पत्र नै पठाएर संसद् बैठक बस्ने ठाउँको व्यवस्थापन गरिदिन भनेपछि सहरी विकासमन्त्री कुमार इङ्नाम र मुख्य सचिव सुमनराज अर्यालसहितका अधिकारीहरू बैठक हलको प्रबन्ध गर्ने छलफलमा जुटेका थिए।"हामीले सिंहदरबारभित्र बन्दै गरेको नयाँ संसद् भवनको निरीक्षण पनि गर्‍यौँ र निर्माणमा संलग्न कम्पनीसँग पनि कुरा गर्‍यौँ," प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराम अर्याल भन्छन्।"ठेकेदार कम्पनी र सहरी विकास मन्त्रालयले पनि बैठक बस्ने हल चाहिँ तयार हुन्छ भनेपछि हामीले अरू विकल्प खोजेका छैनौँ।"प्रधानमन्त्री कार्यालय र सहरी विकास मन्त्रालय दुवैले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट चुनिएर आउने संसद्को बैठक बस्ने समयसम्म हल तयार गर्ने बताएपछि आफूहरू निश्चिन्त भएर बसेको संसद् सचिवालयले बताएको छ।दुई शिफ्टमा काम BBC सहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मरासिनीले अबको एक महिनाभित्रै प्रतिनिधिसभाको हल तयार गर्ने लक्ष्यसहित दुई शिफ्टमा काम भइरहेको बताए।मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको भवन महाशाखाका उपमहानिर्देशक रोशन श्रेष्ठले फागुन मसान्तसम्मको ४५ दिने समयसीमा राखेर हल तयार भइरहेको बताए।"कम्तीमा प्रतिनिधिसभा सञ्चालनका लागि ४५ दिनको कार्य योजना बनाएर काम अघि बढाएका छौँ," श्रेष्ठले बीबीसी न्यूज नेपालीसँग भने।"संरचनाको काम सकिइसकेको छ। भित्री सजावट र विद्युतीय प्रणालीसँगै वातानुकूलित उपकरणका लागि कामहरू भइरहेका छन्। फर्निचर पनि धमाधम बनिरहेका छन्। अब सञ्चारका उपकरण जोड्ने काम मात्रै बाँकी छ। ती उपकरण पनि कन्टेनरबाट निकालेर अन्तिममा जडान गर्ने हो।"अहिले प्रतिनिधिसभाको हललाई प्राथमिकता दिएर काम भइरहे पनि राष्ट्रिय सभाको हल पनि सँगसँगै तयार भइरहेको अधिकारीहरूले बताएका छन्।"मन्त्रीज्यू समेत भएर छलफल हुँदा ९० प्रतिशत काम सकिइसकेको छ। बाँकी १० प्रतिशतमध्ये पनि अहिलेलाई चाहिने हल र संरचना तयार हुन्छ भनेपछि हामी आश्वस्त भएर अरू तयारीमा लागेका छौँ," संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने। चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दा विगतमा पार्टीहरूले बेहोरेको नाफाघाटा निर्वाचन प्रहरी बन्न 'जेन जी'देखि प्रौढसम्म : कहाँ खटाइन्छन्, कस्ता सुविधा पाउँछन् सहरी विकास मन्त्रालयका अनुसार प्रतिनिधिसभाका २७५ जना सांसद र राष्ट्रिय सभाका ५९ जनासहित कर्मचारी, पत्रकार र आगन्तुक समेत अटाउने गरी तयार गरिएको हल पहिले तयार गरेर बाँकी काम अघि बढाउन निर्माणकर्ता कम्पनीलाई भनिएको छ।प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्न मिल्ने गरी उक्त हल पूर्ण क्षमतामा सञ्चालन हुने उनले बताएका छन्।अहिले राष्ट्रिय सभाको बैठक सिंहदरबारमै रहेको एउटा हलमा बस्दै आएको छ। जम्मा ५९ सदस्यीय मात्रै सदन भएका कारण पछिल्लो समय संसदीय समितिको बैठक बस्ने गरेको पुरानो राष्ट्रिय सभाकै हललाई मर्मत गरेर गत महिना तयार गरिएको थियो। कहिलेसम्म चाहिन्छ संसद् भवन BBC संविधानको धारा ९३ मा प्रतिनिधिसभाको निर्वाचन भएको एक महिनाभित्र संसद्को अधिवेशन आह्वान हुनुपर्ने व्यवस्था छ।"राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्‌को अधिवेशन आह्वान गर्ने छ," संविधानमा भनिएको छ।फागुन २१ को निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवैको अन्तिम परिणाम आउन केही दिन लाग्ने र त्यसको एक महिना आसपास मात्रै संसद् बैठक बस्ने आकलन संसद् र सहरी विकास मन्त्रालयका अधिकारीहरूको छ।संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले चैत मसान्त अगावै प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्ने आकलन गरिएको छ।नयाँ भवन भएका कारण संसद् बैठकका लागि पूर्वतयारी र पूर्वाभ्यास गर्न भ्याउने गरी हल तयार गरिदिन सहरी विकास मन्त्रालयलाई भनिएको प्रवक्ता गिरीले बताए।यस कारण खोजिएन विकल्प BBC/Ashok Dahal विसं २०६४ सालको संविधानसभा निर्वाचनमा सांसदको पनि काम गर्ने संविधानसभाका सदस्यहरूको सङ्ख्या ६०१ पुर्‍याइएपछि लामो समयदेखि संसद् बैठक बस्दै आएको सिंहदरबारको ग्यालरी बैठक हल साँघुरो भएको थियो।संविधानसभा बैठकका लागि नयाँ बानेश्वरमा सहरी विकास मन्त्रालय मातहत रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिने निर्णय गरियो। नयाँ संविधानले प्रतिनिधिसभाका सांसदहरूको सङ्ख्या २७५ मा सीमित गर्नु अघि नै सिंहदरबारको राणाकालीन पुरानो संसद् भवन २०७२ साल वैशाखको भूकम्पका कारण प्रयोगमा आउन नसक्ने गरी चर्कियो।सरकारले २०७९ साल मङ्सिरमा हुने नियमित संसदीय चुनावअघि नै बनाइसक्ने गरी ठेक्का लगाएको नयाँ संसद् भवन आगामी असारभित्र मात्रै पूर्ण रूपमा बनिसक्ने ठानिएको सहरी विकास मन्त्रालयले बताएको छ। प्रदेशसभा र स्थानीय तह छाडेर चुनाव लड्न गएपछि अढाइ दर्जन पद रिक्त, सार्वजनिक सेवामा कस्तो पर्ला असर अघिल्लो चुनावमा दलहरूले गरेका मुख्य वाचा जुन पूरा भएनन् सांसदहरूको सुरक्षाका दृष्टिले उपयुक्त हुने, सांसद, कर्मचारी, पत्रकार र अवलोकनकर्तालाई पनि अटाउन पुग्ने र संसद्का लागि उपयुक्त माइक तथा ध्वनि उपकरणहरू जडित हलहरू काठमाण्डूमा नभएका कारण अर्को हल भाडामा लिँदा पनि अतिरिक्त खर्च गरेर त्यसलाई तयार गर्नुपर्ने अवस्था देखिएको गिरी बताउँछन्।"संसद् बैठकका लागि सबै सर्त पूरा भएका सभा हल पाउन गाह्रो पनि छ। प्राविधिक पक्षका कारण त्यहाँ गएर थप लगानी गर्नुपर्ने अवस्था नरहला भन्ने अवस्था पनि रहेन। सुरक्षा चुनौती त्यस्तै पर्न सक्छन्। त्यो भएर प्राथमिकता नयाँ बन्ने संसद् भवन नै हो," उनले भने।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।