Redirecting...

विद्युतकर्मी साहित्यिक समाजद्वारा पुष्कर लोहनीको साहित्यिक योगदान स्मरण - sahityapost.com

विद्युतकर्मी साहित्यिक समाजद्वारा पुष्कर लोहनीको साहित्यिक योगदान स्मरण - sahityapost.com
Source: shpt

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणअन्तर्गतको विद्युतकर्मी साहित्यिक समाजले साहित्यकार पुष्कर लोहनीको साहित्यिक योगदानको स्मरण गर्दै सम्मान कार्यक्रम आयोजना गरेको छ । ‘त्वदीयं वस्तु गोविन्द, तुभ्यमेव समर्पये’ शीर्षकको उक्त साहित्यिक कार्यक्रम विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष विष्णु आचार्य ‘अतृप्त’को अध्यक्षता तथा अग्रज साहित्यकार पुष्कर लोहनीको प्रमुख आतिथ्यमा काठमाडौँको घट्टेकुलोस्थित महापुष्कर सभाकक्षमा सम्पन्न भएको थियाे । कार्यक्रममा नइ एकेडेमीकी कुलपति इन्दिरा प्रसाईं विशेष अतिथि रहनुभएको थियो भने साहित्यकार तथा शारदा मासिकका सम्पादक विमल भौकाजी, निबन्धकार श्रीबाबु कार्की, भाषा आयोगका सदस्य मातृका पोखरेललगायत साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । साथै विद्युतकर्मी साहित्यिक समाजका पूर्व अध्यक्षहरू, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता थियो । सो अवसरमा साहित्यकार पुष्कर लोहनीलाई माला, दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । ‘त्वदीयं वस्तु गोविन्द, तुभ्यमेव समर्पये’ अर्थात् स्रष्टाको सिर्जना स्रष्टालाई नै समर्पण गर्ने अवधारणाअनुसार उपस्थित स्रष्टाहरूले लोहनीद्वारा विभिन्न कालखण्डमा सिर्जित कथा, कविता, मुक्तक, हाइकु, चोका र कटौता लगायतका रचनाहरू उहाँलाई नै वाचन गरेर सुनाएकाे थियाे । सम्मानित व्यक्तित्व लोहनीले मन्तव्य राख्दै ८८ वर्षको उमेरमा पनि साहित्य सिक्ने र सिकाउने ऊर्जा आफूमा कायम रहेको उल्लेख गर्नुभयो । उहाँले सत्यको पक्षमा निडर भएर लेख्दै आएको तर कुनै उपलब्धिको लोभमा कलम नचलाएको धारणा व्यक्त गर्नुभयो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै समाजका अध्यक्ष विष्णु आचार्य ‘अतृप्त’ले ‘त्वदीयं वस्तु गोविन्द, तुभ्यमेव समर्पये’ नामक साहित्यिक अभियानअन्तर्गत यसअघि भानुभक्त आचार्य, बी.पी. कोइराला, विष्णुबहादुर सिंह तथा युवा कविहरूको समूह ‘पी–सेभेन’को साहित्यिक योगदान स्मरण गरिसकिएको जानकारी दिनुभयो । उहाँले सोही अभियानको पाँचौँ संस्करणका रूपमा पुष्कर लोहनीको साहित्यिक योगदानलाई सम्मान गरिएको बताउनुभयो । कार्यक्रममा इन्दिरा प्रसाईं, विमल भौकाजी र श्रीबाबु कार्कीले विद्युतकर्मी साहित्यिक समाजको सिर्जनात्मक गतिविधि र पुष्कर लोहनीको साहित्यिक देनमाथि संक्षिप्त टिप्पणी गर्नुभएकाे थियाे । करिब दुई घन्टासम्म चलेको कार्यक्रमको सहजीकरण समाजका सचिव युवराज शर्माले गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा अतिथि साहित्यकारहरूलाई मायाको चिनो प्रदान गर्नुका साथै पुष्कर लोहनीकी धर्मपत्नी महालक्ष्मी लोहनीद्वारा तयार गरिएको खाजाको व्यवस्था गरिएको थियो । The post विद्युतकर्मी साहित्यिक समाजद्वारा पुष्कर लोहनीको साहित्यिक योगदान स्मरण appeared first on साहित्यपोस्ट.