शाखा समायोजन गर्दा सेवा बन्द गर्ने ग्राहकसँग शुल्क लिन नपाइने - www.onlinepana.com
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले एउटै महानगरभित्र रहेका एकभन्दा बढी शाखा समायोजन गर्दा सेवा बन्द गर्न चाहने ग्राहकसँग कुनै पनि शुल्क लिन नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै महानगरभित्रका बहुशाखा समायोजनको क्रममा सेवा बन्द गर्न वा कर्जा चुक्ता गर्न चाहने ग्राहकबाट शुल्क लिन नपाइने व्यवस्था गरेको हो। केन्द्रीय बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको पूर्वस्वीकृतिविना कुनै पनि शाखा वा कार्यालय बन्द, स्थानान्तरण वा गाभ्न पाउने छैनन्। तर, विद्युतीय भुक्तानी कारोबारको बढ्दो प्रयोग तथा महानगर क्षेत्रमा शाखा संख्या उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाले स्वयं निर्णय गरेर महानगरभित्रका शाखा समायोजन वा एकीकरण गर्न सक्नेछन्। सरकारी निकाय वा सार्वजनिक संस्था लक्षित गरी स्थापना गरिएका शाखाको हकमा भने सम्बन्धित संस्थाको लिखित सहमति प्राप्त भएपछि मात्र शाखा समायोजन गर्न सकिने व्यवस्था गरिएको छ। त्यसैगरी, शाखा समायोजन गर्नुअघि सरोकारवालाको जानकारीका लागि कम्तीमा ९० दिनअघि राष्ट्रियस्तरको दैनिक पत्रिका, सम्बन्धित संस्थाको वेबसाइट तथा समायोजन हुने शाखाको सूचनापाटीमा सूचना प्रकाशित गर्नुपर्नेछ। दुई वा त्यसभन्दा बढी शाखा समायोजन हुने अवस्थामा समायोजनमा पर्ने शाखाका ग्राहकले आफ्नो कर्जा चुक्ता गर्न वा अन्य सेवा बन्द गर्न चाहेमा कुनै पनि प्रकारका शुल्क नलिई कर्जा चुक्ता वा सेवा स्थगित गर्न पाउने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ। शाखा समायोजन गरिसकेपछि बैंक तथा वित्तीय संस्थाले तीन कार्यदिनभित्र उक्त विवरण नेपाल राष्ट्र बैंकमा पेस गर्नुपर्नेछ। The post शाखा समायोजन गर्दा सेवा बन्द गर्ने ग्राहकसँग शुल्क लिन नपाइने appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).