Redirecting...

निर्वाचनपछि प्रतिनिधि सभा बैठक निर्माणाधीन संसद भवनमै सञ्चालन हुने - taksarnews.com

निर्वाचनपछि प्रतिनिधि सभा बैठक निर्माणाधीन संसद भवनमै सञ्चालन हुने - taksarnews.com
Source: tsar

काठमाडाैँ । आगामी २१ फागुनमा सम्पन्न हुने निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद भवनमै सञ्चालन हुने भएको छ । निर्वाचनपछिको संसद सञ्चालनका लागि निर्माणाधीन संसद भवन उपलब्ध गराउने विषयमा नेपाल सरकारले जानकारी गराइसकेको संसद सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीले बताए । आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता गिरीले निर्माणाधीन संसद भवन परिसरमा रहेका १२ वटा भवनमध्ये तत्कालका लागि ६ वटा भवन संसद सचिवालयलाई उपलब्ध गराउने जानकारी सरकारले दिएको स्पष्ट पारे। उनका अनुसार प्रतिनिधि सभा गठन भइसकेपछि राष्ट्रिय सभाको बैठकसमेत सोही निर्माणाधीन संसद भवनबाट सञ्चालन हुनेछ । प्रवक्ता गिरीले संसद भवनको करिब ९० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको जानकारी दिँदै बाँकी काम चैतसम्म पूरा गर्ने विषयमा सरकारसँग निरन्तर छलफल भइरहेको बताए । निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाको बैठक सञ्चालनका लागि सचिवालयले अन्य कुनै वैकल्पिक व्यवस्था नहेरेको उनको भनाइ छ । उहाँले निर्वाचनपछिको संसद सञ्चालन अत्याधुनिक प्रविधिसहित गर्न आवश्यक तयारी भइरहेको पनि जानकारी दिए । प्रवक्ता गिरीका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक कहाँ सञ्चालन हुन्छ भन्ने विषयमा बारम्बार चासो व्यक्त हुँदै आएको छ । यही सन्दर्भमा सचिवालयले सरकारसँग निरन्तर छलफल गरिरहेको र पछिल्लो छलफलअनुसार निर्माणाधीन संसद भवनमै बैठक सञ्चालन गर्ने सहमति बनेको उनले बताए । निर्माणाधीन संसद भवनमा हाल ९० प्रतिशत भौतिक संरचना तयार भइसकेको र बाँकी काम आगामी एक महिनाभित्र सम्पन्न गरी चैतको पहिलो हप्तासम्म सचिवालयलाई उपलब्ध गराउने गरी छलफल भएको प्रवक्ता गिरीले जानकारी दिए ।त्यसकारण संसद सचिवालयले वैकल्पिक स्थलको खोजी नगरेको र सोहीअनुसार तयारी अघि बढाइएको उनको भनाइ छ । यसअघि संसद बैठक बस्दै आएको काठमाडौंको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले आगजनी गरेपछि पूर्ण रूपमा क्षति पुगेको थियो । उक्त भवनको पुनर्निर्माण कार्य अझै सुरू हुन सकेको छैन । हाल राष्ट्रिय सभाको १९औँ अधिवेशन भने सिंहदरबारस्थित कृषि समितिको सभाहलबाट सञ्चालन भइरहेको छ ।