Redirecting...

बर्दघाटमा ‘प्रथम बर्दघाट एक्सपो–२०८२’ माघ १३ देखि सञ्चालन हुने - ehimalayatimes.com

बर्दघाटमा ‘प्रथम बर्दघाट एक्सपो–२०८२’ माघ १३ देखि सञ्चालन हुने - ehimalayatimes.com
Source: hmlt

नवलपरासी । “स्थानीय उद्योग र व्यापारः दिगो विकासको आधार” मूल नाराका साथ पश्चिम नवलपरासीको बर्दघाटमा प्रथम बर्दघाट एक्सपो–२०८२ सञ्चालन हुने भएको छ। उद्योग व्यापार संघ बर्दघाटको आयोजनामा बर्दघाट मण्डप, हरियाली नगर–४ मा माघ १३ देखि २५ गतेसम्म १३ दिनका लागि सञ्चालन हुने एक्सपोले व्यापार, पर्यटन र सांस्कृतिक प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेको छ। अध्यक्ष राजु न्यौपानेका अनुसार, एक्सपो अवधिभर १ लाख ५० हजार दर्शकको उपस्थिती र करिब ७ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। ३० लाख रुपैयाँ खर्च गरेर आयोजना गर्न लागिने एक्सपोबाट ४२ लाख रुपैयाँ आम्दानी हुने र करिब १२ लाख रुपैयाँ बचत बर्दघाट नगरक्षेत्रको व्यावसायिक हित र सामाजिक कार्यमा प्रयोग गरिनेछ। सह–संयोजक दिनेश न्यौपानेले एक्सपोमा कृषिजन्य वस्तु, स्थानीय धार्मिक र पर्यटकीय स्थलको प्रवर्द्धन, जानकारीमूलक भिडियो, राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति हुने जानकारी दिनुभयो। महासचिव नारायण भण्डारीका अनुसार, एक्सपो प्रवर्द्धनसम्बन्धी भिडियो निर्माण प्रतियोगिता आयोजना गरिनेछ, जहाँ उत्कृष्ट कन्टेन्ट क्रिएटरलाई १० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ। मुख्य आकर्षणमा विविध जातजाति र संस्कृति झल्काउने घर, खाना–पदार्थ, विद्यार्थी विज्ञान प्रदर्शनी, कृषि यन्त्र र दुग्ध उत्पादन, बाली–बस्तु प्रदर्शनी, विद्यालयस्तरीय प्रतियोगिता, लण्डन ब्रिज आकृतिको प्रवेशद्वार र बर्दघाट नगरका १६ वडाका विशेष स्टल समावेश छन्। कुल २५० स्टल रहने एक्सपोमा स्थानीय कृषि उपज, महिला उद्यमी उत्पादन, राष्ट्रिय र अन्तर्राष्ट्रिय सामग्री, बालबालिकाका लागि मनोरञ्जनात्मक बाल उद्यान, सञ्चार केन्द्र र पत्रकारहरूको लागि छुट्टै समाचार डेस्क पनि रहने आयोजकले जानकारी दिएको छ।