Redirecting...

अमेरिकाको आलोचनासँगै चीनले भन्यो– वासिङ्टनसँग सैन्य सम्बन्ध सुधार्न इच्छुक छौं - www.pardafas.com

अमेरिकाको आलोचनासँगै चीनले भन्यो– वासिङ्टनसँग सैन्य सम्बन्ध सुधार्न इच्छुक छौं - www.pardafas.com
Source: pfds

चीनले संयुक्त राज्य अमेरिकासँग सैन्य सम्बन्ध पुनः विकास गर्न इच्छुक रहेको संकेत दिएको छ । तर यही सन्देशसँगै चीन र रुसका उच्च सैन्य अधिकारीहरूले पश्चिमी मुलुकहरू, विशेषगरी अमेरिकाप्रति कडा आलोचना पनि गरेका छन् । सोमबार बेइजिङमा सुरु भएको सियाङ्सान सुरक्षा फोरमको उद्घाटन समारोहमा चीनको केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष जनरल झाङ युसियाले “पारस्परिक विश्वास, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्व”को आधारमा अमेरिकासँग सैन्य सम्बन्ध विकास गर्न चीन तयार रहेको बताए । साथै उनले चीन–रुसबीचको रणनीतिक सैन्य सहकार्यलाई अझ सुदृढ बनाइने पनि स्पष्ट पारे । तर झाङले नाम नलिई “केही देशहरूले विश्वभर अशान्ति फैलाइरहेका छन्” भन्दै क्षेत्रीय मामिलामा हस्तक्षेप र ‘कलर रिभोलुसन’ उक्साउने काम भइरहेको आरोप लगाए । विश्लेषकहरूका अनुसार उनको यो टिप्पणी अमेरिका र उसका सहयोगी राष्ट्रतर्फ लक्षित थियो । झाङपछि सम्बोधन गरेका रुसका रक्षा मन्त्री सेर्गेई शोइगुले चीन–रुस सैन्य सम्बन्धलाई “उदाहरणीय” भन्दै पश्चिमी मुलुकहरूकै कारण रुससँगको द्वन्द्व खतरनाक स्तरमा पुगेको दाबी गरे । पश्चिमी नीतिले आणविक शक्तिहरूबीच प्रत्यक्ष सैन्य टकरावको जोखिम बढाएको उनको चेतावनी थियो । फोरमको साइडलाइनमा झाङ र शोइगुबीच छुट्टै भेटवार्ता पनि भएको चीनको रक्षा मन्त्रालयले जनाएको छ । यसैबीच, अमेरिका–चीनबीच कूटनीतिक सम्पर्क बढिरहेका बेला यो फोरम सम्पन्न भएको हो । हालै चीनका शीर्ष कूटनीतिज्ञ वाङ यीले वासिङ्टन भ्रमण गरी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका थिए । उक्त भेटलाई दुवै पक्षबीच संवादको ढोका खुला राख्ने प्रयासका रूपमा हेरिएको छ । तर वाङ यीले सम्भावित बाइडेन–सी जिनपिङ शिखर वार्ता सहज नहुने संकेत दिँदै सम्बन्ध सुधार ‘अटो पाइलट’मा चल्न नसक्ने बताएका छन् । यस वर्षको फोरममा चीनका रक्षा मन्त्री ली साङफु अनुपस्थित थिए । फोरमअघि नै उनलाई कुनै कारण नखुलाइ पदबाट हटाइएको थियो । पछिल्ला महिनाहरूमा विदेश मन्त्रीदेखि परमाणु कार्यक्रम हेर्ने शीर्ष अधिकारीसम्म हटाइएकाले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व तहमा आन्तरिक अस्थिरता बढेको अनुमान गरिएको छ । तीनदिने फोरममा रुस, भियतनाम र उत्तर कोरियासहित २३ देशका प्रतिनिधि सहभागी छन् । अमेरिकाले भने न्यूनस्तरीय प्रतिनिधिमण्डल मात्र पठाएको छ ।