Redirecting...

अर्पिल एसियाली बक्सिङको कांस्यमै सीमित - nagariknews.nagariknetwork.com

अर्पिल एसियाली बक्सिङको कांस्यमै सीमित - nagariknews.nagariknetwork.com
Source: ngrk

एसियाली बक्सिङ च्याम्पियनसिपको पुरुष यु–२२ उमेरसमूहमा नेपालका अर्पिल राना शनिबार कांस्य पदकमा सीमित भएका छन्।एसियन बक्सिङको आयोजनामा थाइल्यान्डको बैंककमा जारी च्याम्पियनसिपमा पुरुष ५० केजी तौलसमूहको सेमिफाइनलमा पराजित भएपछि अर्पिल कांस्य पदकमै सीमित भएका हुन्। उनी बुधबार भएको सेमिफाइनलमा जापानका बक्सर सोदाई कोटोसँग ५–० ले पराजित हुन पुगे।यसअघि अर्पिलले प्रिक्वार्टरफाइनलमा साउदी अरबका इब्राहिमलाई ५–० तथा भुटानका किन्ले फुन्चोलाई ४–१ ले हराउँदै सेमिफाइनलमा पुगेका थिए। नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले स्वर्णकै प्रबल दाबेदार जापानका खेलाडीसँग अर्पिलले राम्रो प्रदर्शन गरेको बताए।‘जापानका खेलाडी आफ्नो तौलसमूहका स्वर्णका दाबेदार हुन्। बलियो प्रतिद्वन्द्वीसँग अर्पिलले राम्रो खेलेका हुन्,’ महासचिव भण्डारीले भने, ‘अर्पिल राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन–२०२० को विशेष प्रशिक्षणमा रहेका खेलाडी हुन्। यो प्रशिक्षणले अर्पिल मात्र होइन, धेरै खेलाडीको प्रदर्शनमा उल्लेख्य सुधार ल्याएको छ।’ नेपाली टोलीको प्रशिक्षकमा दीपक महर्जन छन्। आगामी सन् २०२६ मा जापानमा हुने २०औं एसियाली खेलकुदका लागि लक्षित नेपालले तयारी गरिरहेको छ। त्यसका लागि मिसन–२६ मा रहेर पनि अर्पिलले प्रशिक्षण गरिरहेका छन्। उनीबाहेक दुई बक्सरले पनि यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए। अर्का नेपाली बक्सर सेरफ ग्याल्जेन शेर्पा र इन्द्रबहादुर सुनार पदकविहीन भए। यु–१९ उमेरसमूहको ६० केजी तौलसमूहमा नेपालका सेरफको यात्रा पहिलो चरणमा नै समाप्त भएको थियो। उनी फिलिपिन्सका मुक्केबाजसँग आरएससीका आधारमा पराजित भए। ६० केजी तौलसमूहमा इन्द्रबहादुर उज्बेकिस्तानका बक्सर सोरु अब्दुमालिकोभसँग पराजित हुन पुगे। उनले तीन राउन्डसम्म प्रतिस्पर्धा गरेका थिए।आइबिए थ्री स्टार प्रशिक्षक दीपक महर्जनको प्रशिक्षण चार युवा बक्सरले तयारी गरेका थिए। यस प्रतियोगितामा २५ राष्ट्रका पाँच सयभन्दा बढी बक्सरले प्रतिस्पर्धा गरिरहेको अवालेले जानकारी दिए।अन्तर्राष्ट्रिय बक्सिङमा नेपालले जितेको यो दोस्रो ठूलो पदकमध्येको एक हो। १९८६ मा दक्षिण कोरियामा सम्पन्न सोल एसियाली खेलकुदमा नेपालले सिनियरतर्फ नै चार कांस्य पदक जितेको थियो। यसअघि सुष्मा तामाङले एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपको यु–२० स्पर्धामा दुई वर्षअघि रजत पदक जितेकी थिइन्। थाइल्यान्डमै सम्पन्न उक्त प्रतियोगितामा हेमा राई र विजय बाटाले कांस्य पदक जितेका थिए। सुष्माले जितेको पदक नेपाली बक्सिङ इतिहासको सबभन्दा ठूलो पदक हो।