शहीदहरुको सम्झना गर्दै दिवस मनाइयो, शहीदलाई अपमान गर्ने गतिविधि बढेकोमा सरोकारवालाहरुको चिन्ता (खास खबर) - nepalinetwork.com
हुँदैन बिहान मिरमिरेमा तारा झरेर नगएबन्दैन मुलुक दुईचार सपूत मरेर नगएयो कवि भूपी शेरचनले कोरेको कविताको हरफ हो, जसले सिंगो देशभक्तिलाई समेटेको छ । प्रकृतिको नियम तारा झरेर गएन भने बिहान हुँदैन र सपूत मरेनन् भने मुलुक पनि बन्दैन । आजको नेपाल स्वतन्त्र देशको रुपमा चिनिन कैयौं शहीदहरुले आफ्नो ज्यान अहूति दिएका छन् । १०४ वर्षे जहाँनिया राणा शासनको विरुद्ध आवाज उठाउँदै नेपाली र नेपालको साझा अस्तित्वका लागि आफ्नो ज्यानको बाजी थाप्दै लखन थापा मगर, दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री यो देशको अस्तित्व जोगाउनका लागि शहीद बन्नुभयो । तर पछिल्लो समय शहीदहरुलाई गिज्याउने गरी सस्तो मूल्यमा शहीद बनाउनेको ताँती देखिन्छ । राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले भन्नुभएको छ ए शहीद मरेर ठिकै गरिस् । राणाहरुको १०४ वर्षको एक तन्त्रीय शासनबाट नेपाललाई मुक्त पार्न शहीदहरुले आफ्नो ज्यानको वास्तासम्म गरेनन् । उमेर नढल्किदै आफ्नो यौवनको आलो रगत राणाहरुको बन्दुकको गोलीबाट बगाइदिए, अहिलेको नेपाल बनाउन । हुकुमी राणा शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । यसअघि माघ १० गते शुक्रराज शास्त्रीलाई टेकु मचलीमा तथा १३ गते धर्मभक्त माथेमालाई सिफलमा मृत्युदण्ड दिइएको थियो । यतिबेला शहीदका परिवारहरु पनि राज्यप्रति दुखी छन् । वार्षिक रुपमा पाइरहेको सामान्य खर्च भन्दापनि शहीदको ओज घटेकोप्रति चिन्ता रहेको शहीद परिवारकी सदस्य प्रभा खड्काको भनाइ छ । राजनैतिक दलले संचालन गरेको आन्दोलन, माओवादीले २०५२ साल फागुन १ गतेदेखि थालेको जनयुद्ध, २०६२÷०६३ को आन्दोलन, त्यसपछिका मधेश आन्दोलनमा राज्यबाट मारिएकालाई सहिद घोषणा गर्ने क्रम जारी रहेको छ । थारु आन्दोलन आदीबासी जनजाती आन्दोलनमा शाहदत प्राप्त गरेकालाई सहिद घोषणा गरिएको छ । राजनीतिक विश्लेषक लोकराज बरालले लोकतन्त्रको पक्षमा ज्यानको आहूति दिने व्यक्तिहरु शहीद हुन्, यसको अर्थलाई गलत बनाउनु हुँदैन । यसरी घोषणा गर्दै जाँदा शहीदको अपमान गर्ने काम मात्र भएको छ । कस्तालाई शहीद मान्ने भन्ने मापदण्ड पनि सरकारपिच्छे फरक फरक बनाउने गरिएको छ । शहीदलाई सस्तो बनाउने र १० लाख रुपैयामा तुलना गर्ने गरिएको छ । यो गलत प्रावधानलाई हटाउन नसके शहीदहरुको अपमान भइरहने निश्चित रहेको छ ।