Redirecting...

दाहाल-डाेभाल भेट दिल्लीमा: नेपालमा स्थिर लोकतन्त्रका पक्षमा भारत - nagariknews.nagariknetwork.com

दाहाल-डाेभाल भेट दिल्लीमा: नेपालमा स्थिर लोकतन्त्रका पक्षमा भारत - nagariknews.nagariknetwork.com
Source: ngrk

नयाँदिल्लीमा आयोजित ‘एकता सन्देशसभा तथा साक्षात्कार कार्यक्रम’ मा सहभागी हुन पुगेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सोमबार स्वदेश फर्किएसँगै नेपाली राजनीति तरंगित हुन पुग्यो। कारण थियो - आइतबार राती भारत सरकारको सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभलसँग दाहालको वान टु वान ‘डिनर मिटिङ’।पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाल दिल्ली पुगेका बेला उनी बसेकै होटलमा पुगेर डिनर मिटिङ गरेको भारतीय सञ्चारमाध्यमले खुलाएको छ। भेटका क्रममा नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे प्रचण्डले डोभाललाई बेलिविस्तार लगाएका थिए। फागुन २१ मा निर्धारित प्रतिनिधिसभा निर्वाचनका विषयमा समेत उनले जानकारी गराएका थिए।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग समेत आगामी निर्वाचनमा सहकार्यका लागि आफ्नो कुराकानी भइरहेको भेटका क्रममा उनले बताएको स्रोतको भनाइ छ।दाहालले यति भनिसकेपछि डोभालले नेपालमा लोकतन्त्र मजबुत होस् भन्ने आफ्नो चाहना रहेको बताएका थिए। उनले लोकतन्त्रको अभिन्न अंग निर्वाचन भएकाले निर्वाचनमा सहभागी हुनुपर्ने विचार राखेका थिए। उनले नेपालमा लोकतन्त्र रक्षाका लागि सबै दल निर्वाचनमा सहभागी हुनुपर्ने धारणा दाहालसमक्ष राखेका थिए।निर्वाचनमार्फत नेपालमा लोकतन्त्रलाई सुरक्षित गर्न र मजबुती दिने विषयले बैठकमा प्रमुखता पाएको स्रोतको भनाइ छ।डोभालले विद्यमान राजनीतिक जटिलता समाधानका लागि निर्वाचन नै उत्तम विकल्प भएकाले दलहरू निर्वाचनमा जानुपर्ने सुझाएका थिए।स्रोतका अनुसार डोभालमार्फत भारतले नेपालमा निर्वाचनमाबाटै लोकतन्त्रलाई मजबुती दिनुपर्ने मूल सन्देश दिएको स्रोतले बतायो। जनताका मतबाट प्राप्त जनादेश नै लोकतन्त्रलाई मजबुती दिने उपयुक्त विकल्प भएको डोभालले दाहालसँग विचार साझा गरेको स्रोतले बतायो। नेपालमा मजबुत र स्थायी लोकतान्त्रिक सरकारप्रति भारतको दृढ प्रतिबद्धता डोभालमार्फत व्यक्त भएको स्रोतले बतायो।स्रोतका अनुसार डोभालले दाहाललाई निर्वाचन नै राजनीतिक प्रणाली जोगाउने एक मात्र उपाय भएको बताएका थिए र भारतीय पक्षले पनि आफूहरूले छिमेकी मुलुकमा राजनीतिक स्थायित्व चाहेको बताएको थियो।निर्वाचनलक्षित भारतीय पक्षको धारणाप्रति प्रतिक्रिया जनाउँदै दाहालले नेपालमा राजनीतिक दलहरू निर्वाचनको विपक्षमा नरहेको सन्देश डोभालमार्फत भारतीय पक्षलाई दिएका छन्।दिल्ली भ्रमणमा जानुअघि दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। डोभालसँगको भेटमा दाहालपुत्री गंगासमेत सहभागी थिइन्।दिल्लीमा आयोजित एकता सन्देशसभा तथा साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दाहालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा जेनजी आन्दोलनपछि अन्तरिम सरकार बनेको दाबी दोहोर्‍याएका थिए।यस्तै फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन मिति नजिकिएसँगै प्रमुख दलका शीर्षनेताहरूको ‘दिल्ली दौडधुप’ बढेको छ।विभिन्न कार्यक्रम एवं उपचार बहाना बनाउँदै नयाँदिल्ली पुगिरहेका उनीहरू भारतीय संस्थापन पक्ष भारतीय जनता पार्टी (विजेपी) का शीर्ष नेतासँग भेटघाट गर्दै फर्किरहेका छन्। दुईदिने नयाँदिल्ली भ्रमण सकेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल सोमबार काठमाडौं फर्किएकै दिन नेपाली कांग्रेस नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार नयाँदिल्ली पुगेकी छन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी आरजु नयाँदिल्लीमा विशेष भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतको भनाइ छ।दिल्ली पुग्ने नेताहरूलाई निर्वाचनमा सहभागी हुन सल्लाह सुझाव दिँदै फर्काइरहेको स्रोतको दाबी छ। ‘निर्वाचनमा तपाईंहरू मिलेर सहभागी हुनुस्। निर्वाचित भएर सरकार बनाउनुस्, हाम्रो साथ सहयोग सधैं रहने छ भन्दै नेपाली नेताहरूलाई दिल्लीले सन्देश दिने गरेको स्रोतको भनाइ छ।दिल्लीका नेताहरूलाई सन्देश एउटै छ - यो अस्थिरता चाँडै अन्त्य होस्। नेपालमा बंगलादेशजस्तो परिस्थिति निर्माण नहोस् भन्ने दिल्लीको चाहना रहेको स्रोतले बतायो। नेपालका नेतालाई भारतीय पक्षले दिएको सुझावको निष्कर्ष सुनाउँदै स्रोतले भन्यो, ‘दाहालमार्फत नेपाली राजनीतिक दललाई दिल्लीले दिएको सन्देश भनेको निर्वाचनमार्फत नेपालमा लोकतान्त्रिक सरकार निर्माण नै हो।’भारतको संयोजनमा भएको बाह्रबुँदे सहमति र त्यसको जगमा भएको २०६२/६३ को आन्दोलनले नेपालमा राजतन्त्र अन्त्यलाई भारतले आफ्नो उपलब्धिका रूपमा लिँदै आएको अवस्थामा आसन्न निर्वाचनका बेला पारेर त्यही पक्षधर दलका नेता पालैपालो नयाँदिल्ली जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।यसअघि अघिल्लो साता पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराई चारदिने भ्रमण सकेर काठमाडौं फर्किएका छन्। भ्रमणमा डा. भट्टराईले मुम्बईको प्रतिष्ठित प्राविधिक संस्था भारतीय प्रौद्योगिकी संस्थानले आयोजना गरेको महोत्सवमा भाग लिएका थिए।जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि नेपालमा राजनीतिक संक्रमणकाल चलिरहेको छ। यही अस्थिरता चिर्न नेपालमा आगामी फागुन २१ मा आमनिर्वाचन घोषणा गरिएको छ। नेपाललाई अहिले अस्थिरताबाट स्थिरतातर्फ लग्न निर्वाचन नै एक मात्र विकल्प हो। भारतको प्रमुख चासो नै नेपालमा जति सक्दो चाँडो स्थिर र लोकतान्त्रिक सरकारले बागडोर सम्हालोस् भन्ने हो।