डा. योगीको निबन्धसङ्ग्रह ‘चेतना यात्रा’ लोकार्पण - sahityapost.com
काठमाडौँ । डा. चिन्तामणिनाथ योगीको आध्यात्मिक निबन्धसङ्ग्रह ‘चेतना यात्रा’ राजधानीमा एक कार्यक्रमबीच लोकार्पण गरिएको छ। नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा प्रा.डा. प्रेमनारायण अर्याल, प्रा.डा. भागवत ढकाल, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, अम्बिका केसी तथा कृतिकार डा. योगीले संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभएकाे थियाे । कृतिमाथि परिचर्चा गर्दै प्रा.डा. ढकालले ‘चेतना यात्रा’ गीता-दर्शनको आदर्शलाई आत्मसात् गर्दै लेखिएको कृति भएको बताउनुभयाे । ज्ञान, विज्ञान र चेतनालाई समेट्दै जीवन, जगत् र समाजका उपयोगी पक्षलाई जोडेर प्रस्तुत गरिएको यस कृतिले पाठकको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयाे । पोखरा विश्वविद्यालयका प्रा.डा. अर्यालले डा. योगीसँगको दीर्घ शैक्षिक–बौद्धिक सम्बन्ध स्मरण गर्दै विश्वविद्यालयका विभिन्न क्याम्पसहरूमा उहाँले दिएका प्रवचनहरूको चर्चा गर्नुभयाे । कृतिकार डा. योगीले अध्यात्म र दर्शनप्रतिको आफ्नो साधना र अनुभूतिबाट कृति जन्मिएको बताउँदै आफू ‘स्वान्तःसुखाय’ लेखनमा संलग्न रहेको धारणा राख्नुभयाे । “म ॐकारको साधनामा छु, लेखक भएँ–भइन भन्ने अनुभूति भन्दा साधनाको यात्रामा छु,” उहाँले भन्नुभयाे । कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार पवन आलोक, पूर्वप्रशासक अम्बिका केसी र भुँडीपुराण प्रकाशनका प्रबन्ध निर्देशक केशव पराजुलीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयाे । श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण शान्तिमाया गिरीले गर्नुभएकाे थियाे भने शंकर भारतीले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । The post डा. योगीको निबन्धसङ्ग्रह ‘चेतना यात्रा’ लोकार्पण appeared first on साहित्यपोस्ट.