Redirecting...

जुम्लामा भालुको आक्रमण : तीन गम्भीर घाइते - nagariknews.nagariknetwork.com

जुम्लामा भालुको आक्रमण : तीन गम्भीर घाइते - nagariknews.nagariknetwork.com
Source: ngrk

जुम्लाका विभिन्न स्थानमा भालुको आक्रमणबाट एकै दिन तीन जना गम्भीर घाइते भएका छन्। सोमबार बिहानदेखि दिउँसोसम्म भएका फरक–फरक घटनामा घाइते भएकाहरूको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। जुम्लाको तातोपानी गाउँपालिका–४, गिडीरिखोलामा सोमबार बिहान करिब ८ बजे आफ्नै स्याउ फार्ममा काम गरिरहेका १८ वर्षीय दीपेन्द्र न्यौपानेमाथि भालुले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका छन्। वडाध्यक्ष अमर बहादुर रोकायाका अनुसार आक्रमणमा परेका न्यौपानेको टाउको, बायाँ खुट्टा र शरीरका अन्य भागमा चोट लागेको छ। उनलाई तत्कालै उनका दाइ दिनेश न्यौपानेले उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको प्रहरीले जनाएको छ। त्यसैगरी, सोमबार दिउँसो करिब १:३० बजेतिर गुठिचौर गाउँपालिका–५, धिता गाउँकी ५५ वर्षीया झापु धिताल पनि भालुको आक्रमणमा परेकी छन्। घाँस काट्ने क्रममा जंगलमा आक्रमणमा परेकी धितालको टाउको र ढाडमा चोट लागेको छ। उनलाई पनि छोरा महेश धितालले तत्काल उपचारका लागि प्रतिष्ठान पुर्‍याएका थिए। यसअघि आइतबार बिहान गुठिचौर गाउँपालिका–३, नानीपातल जंगलमा घाँस काट्न गएका बेला भालुको आक्रमणबाट ४५ वर्षीया बुङ्ची कामी र उनकी कान्छी छोरी १६ वर्षीया तिर्सना कामी घाइते भएकी थिइन्। प्रहरीले दुवैको अवस्था सामान्य रहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविनबाबु रेग्मीका अनुसार सबै घाइतेको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भइरहेको छ। उनले जुम्ला आसपासका क्षेत्रमा जंगली जनावरको सक्रियता बढेकाले स्थानीयलाई सचेत रहन आग्रह गरेका छन्। स्थानीय बासिन्दाका अनुसार जुम्ला क्षेत्रमा वन्यजन्तुको चलखेल पछिल्लो समय बढ्दो छ, जसका कारण दैनिक गाउँघरका बासिन्दा त्रसित छन्। जंगली जनावरसँगको द्वन्द्व न्यूनीकरणका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने स्थानीयको माग छ।