नोबेल विजेताको सहभागितामा अमेरिकामा नेपाली भौतिकशास्त्री सम्मेलन सम्पन्न - www.nepalclicks.com
काठमाडौँ- अमेरिकामा रहेका नेपाली भौतिकशास्त्रीहरूको संस्था ‘असोसिएसन अफ नेपाली फिजिसिस्ट्स इन अमेरिका (एएनपीए)’को साधारणसभा सम्पन्न भएको छ। अगस्ट २ मा सम्पन्न साधारणसभामा संस्थाका भावी योजना र कार्यक्रमबारे छलफल गरिएको डा पशुपति ढकालले जानकारी दिए। एएनपीएले यसअघि वैज्ञानिक सम्मेलन सम्पन्न गरेको थियो। जुलाई १७ देखि २० सम्म आयोजना गरिएको तीनदिने वैज्ञानिक सम्मेलनमा नेपाल, अमेरिकालगायत विश्वका विभिन्न कुनामा छरिएर रहेका भौतिकशास्त्री, अनुसन्धानकर्ता र विद्यार्थीहरूले एउटै मञ्चमा विभिन्न विषयमा छलफल गरेका थिए। संयुक्त राज्य अमेरिकाको फेयरमोन्ट स्टेट युनिभर्सिटी (एफएसयू), नेपालस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भौतिकशास्त्र विभाग (सीडीपी) तथा वेबएक्स भर्चुअल प्लेटफर्ममार्फत हाइब्रिड ढाँचामा आयोजना गरिएको थियो, जसले भौतिक दूरीलाई मेटाउँदै ज्ञानको आदानप्रदानलाई सहज बनाएको सम्मेलनका संयोजक डा टीकाराम न्यौपानेले बताए। सम्मेलनको प्रमुख आकर्षणको रूपमा सन् २००१ का नोबेल पुरस्कार विजेता भौतिकशास्त्री डा. कार्ल वीम्यानले विशेष सम्बोधन गरेका थिए। उनले भौतिकविज्ञान शिक्षामा वैज्ञानिक विधि अवलम्बन (Taking a Scientific Approach to Physics Education) शीर्षकमा प्रस्तुति दिएका थिए। परम्परागत शिक्षण पद्धतिका सीमाहरू र वैज्ञानिक विधिमा आधारित नवीन शिक्षण शैलीले विद्यार्थीको सिकाइमा ल्याउने सकारात्मक परिवर्तनबारे उदाहरणसहित उनले प्रवचन दिएका थिए। मिसिसिपी स्टेट विश्वविद्यालयका प्राध्यापक डा. दिपाङ्कर दत्तले ‘आणविक भौतिकविज्ञानमा नेपाली भौतिकशास्त्रीहरूको भूमिका’ शीर्षकमा प्रस्तुति दिए। उनले उच्च ऊर्जाको न्यूक्लियर फिजिक्स जस्तो जटिल अनुसन्धानमा नेपाली वैज्ञानिकहरूको बढ्दो योगदान र अन्तर्राष्ट्रिय परियोजनाहरूमा उनीहरूको संलग्नताले नेपालको वैज्ञानिक प्रतिष्ठा बढाएको बताए। सम्मेलनमा नेपाल, अमेरिका, जापान, बेलायत, क्यानडा, भारत, दक्षिण कोरिया, र ताइवानजस्ता देशका ३०० भन्दा बढी वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीहरूको प्रत्यक्ष तथा भर्चुअल उपस्थिति थियो। तीन दिनको अवधिमा ‘कन्डेन्स्ड म्याटर फिजिक्स’, ‘एस्ट्रोफिजिक्स’, ‘न्यूक्लियर फिजिक्स’, ‘क्वान्टम इन्फर्मेसन’ र ‘फिजिक्स एजुकेसन’जस्ता विषयमा १४ वटा गहन वैज्ञानिक सत्रहरू सञ्चालन गरिएका थिए। सम्मेलनमा त्रिभुवन विश्वविद्यालयमा आयोजित पोस्टर तथा मौखिक प्रस्तुतिसत्र र फेयरमोन्ट स्टेट युनिभर्सिटी तथा वेबएक्सबाट विभिन्न सत्रहरू सञ्चालन भएका थिए। एएनपीएले यस पटक पनि युवा तथा विद्यार्थी अनुसन्धानकर्ताहरूलाई विशेष प्रोत्साहन गरेको छ। उत्कृष्ट विद्यार्थी प्रस्तुति र पोस्टर प्रस्तुति दिने अनुसन्धानकर्ताहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, काठमाडौं बाहिरबाट त्रिभुवन विश्वविद्यालयमा र अमेरिकाको फेयरमोन्ट स्टेट युनिभर्सिटीमा प्रत्यक्ष रूपमा सहभागी हुन आउने विद्यार्थी तथा अनुसन्धानकर्तालाई यात्रा अनुदानसमेत उपलब्ध गराइएको थियो, जसले उनीहरूको सहभागितालाई थप सहज बनाएको थियो। सम्मेलनमा प्रस्तुत गरिएका उत्कृष्ट अनुसन्धानपत्रहरूलाई सहकर्मी समीक्षापछि नेपाल भौतिक विज्ञान समाजको जर्नलको विशेष अंकमा प्रकाशित गरिनेछ, जसले नेपाली अनुसन्धानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।