राष्ट्र बैंकद्वारा सार्वजनिक एफआईआई सूचकाङ्क के हो ? यसमा कुन–कुन पक्ष समेटिएका छन् ? - bankingsamachar.com
काठमाडौं – वित्तीय साक्षरताको प्रवर्द्धनका लागि नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय समावेशीकरण सूचकाङ्क (एफआईआई) सार्वजनिक गरेको छ। यो सूचकाङ्कले वित्तीय समावेशीकरणको स्तरलाई तीन मुख्य पक्षहरू पहुँच, प्रयोग र गुणस्तरको आधारमा मापन गर्ने गर्दछ। सूचकाङ्कमा बैंकिङ्ग सेवा, डिजिटल भुक्तानी, बीमा, लघुवित्त, पुँजी बजारमा लगानी तथा सामाजिक सुरक्षा जस्ता सेवा क्षेत्रहरू समेटिएका छन्। राष्ट्र बैंकद्वारा प्रस्तुत तथ्यांकअनुसार, आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्म वित्तीय समावेशीकरणको सूचकाङ्कमा उल्लेखनीय सुधार देखिएको छ। पहुँच सूचकाङ्क २०७८/७९ मा ०.३८ बाट बढेर २०८०/८१ मा ०.४७ पुगेको छ। प्रयोग सूचकाङ्क ०.३७ बाट ०.४१ मा पुगेको छ। गुणस्तर सूचकाङ्क ०.४० बाट ०.४९ मा पुगेको छ। सूचकाङ्कले देखाएको यो प्रगतिले वित्तीय सेवा प्रवाहमा समावेशीता र गुणस्तरमा सुधार भएको संकेत गर्छ। राष्ट्र बैंकका अनुसार, यो सूचकाङ्कले वित्तीय पहुँचको मूल्याङ्कन गर्न र नीति निर्माणमा टेवा दिन मद्दत पुर्याउनेछ।