Redirecting...

२० दिनको जेल बसाइँपछि फ्रान्सका पूर्वराष्ट्रपति रिहा - nagariknews.nagariknetwork.com

२० दिनको जेल बसाइँपछि फ्रान्सका पूर्वराष्ट्रपति रिहा - nagariknews.nagariknetwork.com
Source: ngrk

फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजी सोमबार जेलबाट रिहा भएका छन्। उनले २० दिनको जेल बसाइलाई ‘दुःस्वप्न’ भनेका थिए। सार्कोजी स्थानीय समयअनुसार सोमबार अपराह्न ३ बजे पेरिसको ला सान्टे कारागारबाट रिहा गरिएको एक स्रोतले एएफपीलाई बताएको छ। ७० वर्षीय पूर्व राष्ट्रपतिले आफूमाथि लागेका आरोपमा कुनै सत्यता नभएको र यसबारे आफू अनभिज्ञ नै रहेको सुनुवाइका क्रममा बताएका थिए। उनी जेलबाट छुटेपछि उनलाई रङ्गीन झ्याल भएको कारमा निवासतर्फ लगिएको थियो भने प्रहरीले मोटरसाइकलमार्फत सुरक्षा दिएको थियो। पत्नी कार्ला ब्रुनीसँगै उनी पश्चिमी पेरिसस्थित घर फर्किएका थिए। सन् २००७ देखि २०१२ सम्म राष्ट्रप्रमुख रहेका दक्षिणपन्थी राजनीतिज्ञलाई गत सेप्टेम्बरमा तल्लो अदालतले मोअम्मर गद्दाफीको लिबियाबाट चुनावी अभियानका लागि रकम प्राप्त गर्न खोजेको आरोपमा दोषी ठहर गरेको थियो। यसमा पाँच वर्षको कैद र प्रतिबन्ध समेत तोकिएको थियो। उनी अक्टोबर २१ मा जेल परेका थिए। उनका वकिलहरूले द्रुत रिहाइको माग गर्दै निवेदन दिएका थिए। पुनरावेदन मुद्दाको प्रक्रियाले सार्कोजी अब फेरि निर्दोष साबित हुने अनुमान गरिएको छ। सोमबार अदालतमा सार्कोजीको अनुरोधको जाँचका क्रममा अभियोजनकर्ताहरूले मार्चमा हुने पुनरावेदन सुनुवाइअघि सार्कोजीलाई रिहा गर्न माग गरेका थिए। अदालतले उनलाई न्यायिक नियन्त्रणमा राख्दै फ्रान्स छोड्न निषेध गरेको छ र मुद्दासँग जोडिएका व्यक्तिहरूसँग सम्पर्क गर्न नदिने निर्णय गरेको छ। सार्कोजीको प्रतिरक्षा टोलीका एक सदस्य क्रिस्टोफ इन्ग्रेनले आफ्नो सेवाग्राहीको रिहाइलाई ‘एक कदम प्रगति’ भनेर स्वागत गरेका छन्। सोमबार अदालतको सुनुवाइका क्रममा पूर्व नेताले जेलबाट भिडियो कलमार्फत आफ्नो कारावासको बारेमा बोलेका थिए। उनले भने, ‘यो कुनै पनि कैदीको लागि गाह्रो छ। धेरै गाह्रो छ। यो धेरै कठिन छ।’ उनले रिहाइपछि जेलका कर्मचारीहरूलाई धन्यवाद दिए। उनले भने, मलाई उनीहरूले असाधारण मानवता देखाए र यो दुःस्वप्नलाई सामान्य बनाउन मद्दत गरे। एएफपी