एमालेले फरक मतलाई विधान महाधिवेशनमा प्रवेश नदिने - ehimalayatimes.com
काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्किन नदिने गरी संगठित सदस्यता खारेज गर्ने निर्णयविरुद्धको फरक मतलाई पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रवेश नदिने भएको छ । एमालेका महासचिव शंकर पोखरेलले यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा फरक मतलाई पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रवेश नदिने संकेत गर्नुभएको छ । महासचिव पोखरेलले पार्टीभित्र अहिले विचार वा दस्तावेजमाथि कुनै फरक मत नरहेको दाबी गर्दै भन्नुभयो, ‘तर निर्णयमाथि दुई उपाध्यक्षको असहमति आएको छ । उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्किन नदिने र सदस्यता नवीकरण नगर्ने केन्द्रीय कमिटीको निर्णयप्रति फरक मत राख्नुभएको छ । यसबारे छलफल विधान महाधिवेशनमा नहुन सक्छ ।’ दस्तावेजमाथि नभएर निर्णयमाथिको फरक मत आएकाले यो विधान महाधिवेशनको एजेण्डा नबन्ने स्पष्ट पार्दै महासचिव पोखरेलले अगाडि भन्नुभयो, ‘साउन ५-६ को नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने र राजनीतिमा आउन नदिने निर्णयमा उपाध्यक्ष ज्ञवाली र पाण्डेले फरक मत राख्नुभएको हो । यो दस्तावेज र विचारमाथिको फरक मत होइन । केन्द्रीय कमिटीको निर्णयमाथिको फरक मतबारे यो विधान महाधिवेशनमा छलफल नहुन सक्छ । दस्तावेजमाथि फरक मत नआएकाले यसबारे विधान महाधिवेशनमा छलफल नहुन सक्छ ।’ पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किनु हुँदैन भनेर गरिएको निर्णय र सदस्यता रोक्ने केन्द्रीय कमिटीको निर्णयलाई उपाध्यक्षद्वय पाण्डे र ज्ञवालीले अस्वीकार गर्नुपर्छ भनेर फरक मत राखेको उहाँले जानकारी दिनुभयो । त्यस्तै, स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी जीवनमा लोकतान्त्रीकरणबारे कुरा उठाएको पनि पोखरेलको भनाइ छ । विधान महाधिवेशनको सबै तयारी पूरानेकपा एमालेले भाद्र २० गतेदेखि सुरु हुने पार्टी विधान महाधिवेशनको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले ललितपुरको गोदावरीस्थित सनराइज हलमा भाद्र २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । विधान महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कुल दुई हजार ३४१ जनाको सहभागिता रहने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभएको छ । निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य भन्ने मूल नाराका साथ आयोजना गरिएको विधान महाधिवेशनको भाद्र २० गते ११ बजे एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विभिन्न आयोगका संयोजकहरूले आफ्नो प्रतिवेदन पेस गर्ने र प्रतिवेदनमाथि समूहगत छलफल गरिने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभएको छ । उपाध्यक्षद्वयको असहमति सचिवालय बैठकले टुंग्याउनेनेकपा एमालेले पार्टी उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले राखेको असहमति आज (बिहीबार) बस्ने पार्टी सचिवालय बैठकबाट टुंगो लगाउने भएको छ । महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउन नहुने र उहाँको सदस्यता कायम नहुने पार्टी निर्णयमाथि नेताहरूले राखेको फरक मतबारे सचिवालय बैठकमा छलफल हुने जानकारी दिँदै भन्नुभयो, ‘नेताहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा फर्कनु हुँदैन र सदस्यता नवीकरण भएको छैन भन्ने निर्णयमा फरक मत राख्नुभएको छ । यसबारे सचिवालय बैठकमा छलफल हुन्छ ।’ स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मतबारे पनि सचिवालयले निर्णय गर्ने जानकारी दिँदै पोखरेलले भन्नुभयो, ‘स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी जीवनको लोकतान्त्रीकरणबारे कुरा उठाउनुभएको छ । उहाँले विधान महाधिवेशनमा कुरा उठाउन पाउनुहुन्छ । उहाँको फरक मतबारे पनि सचिवालय बैठकले निरूपण गर्छ ।’ पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता खोसिएको नभई परित्याग गरेको विषय भएको उहाँको जिकिर छ । उहाँले भन्नुभयो, ‘सदस्यता परित्याग गरेको विषयलाई पुनः कायम गर्ने कि नगर्ने भन्ने पार्टीको फैसला छ । पूर्वराष्ट्रपति र उपराष्ट्रपतिबारे पार्टीले फैसला गरिसकेको छ । त्यसमा पार्टी कायमै छ ।’ प्रतिनिधिबाट शुल्क नउठाउनेनेकपा एमालेले आगामी शुक्रबारदेखि सुरु हुने पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रतिनिधिहरूबाट शुल्क नउठाउने निर्णय गरेको छ । यसपटकदेखि प्रतिनिधिहरूबाट शुल्क नउठाउने र सम्पूर्ण खर्च पार्टी केन्द्रले नै बेहोर्ने निर्णय भइसकेको महासचिव पोखरेलले जानकारी दिनुभएको छ । खर्चको हिसाब–किताब महाधिवेशनपछि सार्वजनिक गरिने उल्लेख गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘विधान महाधिवेशनका लागि हामीले प्रतिनिधिहरूबाट यसपटकदेखि शुल्क उठाउने परम्परा हटाएका छौँ । पार्टी केन्द्रले नै सबै खर्च व्यवस्थापन गर्ने निर्णय भइसकेको छ । विधान महाधिवेशन भइसकेपछि हामी हिसाबकिताब सार्वजनिक गर्छौं । खर्चलाई वैधानिक र पारदर्शी रूपमा राख्ने कुरामा एमाले अगाडि छ ।’ अध्यक्ष, उपाध्यक्ष र महासचिवले प्रस्तुत गर्ने प्रतिवेदनमा के छ ?नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा तीनवटा मुख्य प्रतिवेदन पेस हुने भएको छ । महाधिवेशनमा पार्टीका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने तय भएको छ । त्यसैगरी, केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा.पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा.विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले पनि आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ । प्रतिवेदनउपर महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबीच समूहगत छलफल गर्ने व्यवस्था मिलाइएको छ । अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनले विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै आजका मुख्य चुनौती, पार्टीको कार्यदिशा र कार्यभार स्पष्ट गरिएको छ । यस्तै, राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्न र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विशेष राजनीतिक प्रस्ताव तथा समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पार्टीको गन्तव्यको रूपमा अगाडि बढाउने रोडम्याप प्रस्तुत गरिएको छ । यस्तै, निर्णायक राष्ट्रिय शक्तिका रूपमा एमालेलाई उभ्याउन योजना पनि प्रस्ताव गरिएको छ । त्यसैगरी, उपाध्यक्ष पौडेलले प्रस्तुत गर्ने विधान संशोधनसम्बन्धी प्रस्तावमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विषय थप गरिएको छ । साथै, पार्टीमा दुईखाले पार्टी सदस्यहरूको व्यवस्था, ७० वर्षे उमेरहद नरहने, पार्टीका जिल्ला कमिटीलाई कार्यकारी रूपमा कायम गर्ने, २५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एकतिहाइ पोलिटब्युरो र १५ जना केन्द्रीय पदाधिकारीको स्थायी कमिटी रहने लगायतको नयाँ व्यवस्था प्रस्ताव गरिएको छ । पदाधिकारीमा एकजना महिला अनिवार्य गरिएको छ । यस्तै, महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने संगठनात्मक प्रस्तावमा पार्टी निर्माणका क्षेत्रमा देखापरेका समस्या र समाधानका उपायहरू, पार्टी निर्माणका क्षेत्रमा आजसम्मका विकसित सर्वस्वीकार्य मान्यताका आधारमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको मार्गचित्र प्रस्तुत गरिएको छ । पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न समाजका हरक्षेत्रले हाम्रो पार्टीको देशभक्तिपूर्ण भावना, विकास र समृद्धिको योजना र सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य व्यवस्थाप्रति विश्वास र भरोसा गर्ने स्थिति सिर्जना गर्ने नीति स्पष्ट गरिएको छ । मुलुकमा राजनीतिक स्थायित्व, राष्ट्रिय हित र स्वाभिमानको रक्षा तथा समृद्धि र सुशासनलाई निर्वाध अगाडि बढाउन राष्ट्रिय शक्तिको निर्माण अपरिहार्य रहेको कुरामा जोड दिइएको छ ।