ओडिशामा दुई समुदायबीच तनाव भएपछि कटकमा ३६ घण्टा कर्फ्यू, इन्टरनेट बन्द - nagariknews.nagariknetwork.com
भारतको ओडिशाको कटकमा दुई समुदायबीच तनाव र हिंसात्मक घटनापछि इन्टरनेट र सामाजिक सञ्जाल अस्थायी रूपमा बन्द गरिएको छ। शहरका अधिकांश भागहरूमा ३६ घण्टाको कर्फ्यू लगाइएको छ।विश्व हिन्दू परिषद्ले सोमबार कटकमा १२ घण्टा बन्दको आह्वान गरेको छ।दुई दिनअघि दुर्गा पूजा विसर्जनका क्रममा भएको झडपपछि शहरमा तनावको वातावरण कायमै छ।प्रहरी आयुक्त एस. देबदत्त सिंहले परिस्थिति नियन्त्रणमा आएको बताए। उनले भने, 'विश्व हिन्दू परिषद्का कार्यकर्ताहरूले अनुमति नदिँदा पनि आइतबार बाइक र्याली आयोजना गरेका थिए। उनीहरूले साम्प्रदायिक रूपमा संवेदनशील क्षेत्रहरूमा पुग्ने प्रयास गरेका थिए।'उनले भने, 'प्रहरीले उनीहरूलाई रोक्यो। विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि ढुङ्गा प्रहार गरियो, जसमा आठ प्रहरी घाइते भए। स्थिति नियन्त्रणमा ल्याउन प्रहरीले लाठीचार्ज गर्नुपर्यो। कुल २५ जना घाइते भए। शान्ति भंग गर्ने कुनै पनि प्रयासलाई सह्य गरिने छैन।'ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले घटनाप्रति दुःख व्यक्त गर्दै भने, 'कटक हजार वर्ष पुरानो सहर हो जुन आफ्नो भ्रातृत्वका लागि परिचित छ। केही दुष्कर्मीहरूको कार्यका कारण पछिल्ला दिनहरूमा शहरको शान्ति खलबलिएको छ। सरकारले दुष्कर्मीहरूमाथि कडा निगरानी गरिरहेको छ र उनीहरू विरुद्ध कानुन अनुसार कडा कारबाही गरिनेछ।'विपक्षी दल बिजु जनता दलका नेता नवीन पटनायकले कटकको अवस्थालाई लिएर सरकारको आलोचना गरेका छन्।उनले एक्समा पोस्ट गरे, 'शान्त ओडिशामा यस प्रकारको अशान्ति अस्वीकार्य छ। प्रहरी असहाय देखिन्छ। भाजपा सरकारको नेतृत्वमा प्रहरीमाथिको दबाबका कारण राज्यमा कानुन व्यवस्था बिग्रँदै गएको छ।'