हिमालयन गार्डियन नेपालद्वारा विदेशी पर्यटकहरूका लागि जीपीएस ट्र्याकिङसहितको सुरक्षा प्याकेज दिने - www.technologykhabar.com
हिमालयन गार्डियन नेपालले आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको सहकार्यमा नेपाल बीमा प्राधिकरण तथा नेपाल दूरसञ्चार प्राधिकरणको औपचारिक स्वीकृति प्राप्त गरी नेपालमा पहिलो पटक डिभाइस-इनेबल्ड पूर्ण रूपमा पारदर्शी बीमा सहितको सीटीजी-कम्प्रिहेन्सिभ ट्रेकिङ गार्ड प्याकेज सेवा सुरु गरेको छ। यो प्रणालीले जीपीएस तथा स्याटेलाइटमा आधारित यन्त्रको प्रयोगबाट हेलिकप्टर उद्धार खर्चमा ठगी असम्भव बनाउने, अनावश्यक मेडिकल परीक्षण तथा बिल बढाउने काम नियन्त्रण गर्ने, बीमा दावी यथार्थ डाटा (रियल टाइम ट्र्याकिङ) मा आधारित हुने र झूटा दाबीहरू स्वतः रोक्ने कम्पनीको दावी छ। कम्पनीका अनुसार हाल विदेशी पर्यटकहरूका लागि मात्र उपलब्ध रहेको सीटीजी प्याकेजहरू यस प्रकार छन्: टूर प्याकेज (३,५०० मिटरसम्म) चिकित्सकीय तथा दुर्घटना बीमा, उपकरण – समर्थित उद्धार, अस्पताल सेवा। ट्रेकिङ प्याकेज (५,५०० मिटरसम्म ) उच्च उचाइ सम्बन्धी उपचार, हेलिकप्टर उद्धार, रियल-टाइम ट्र्याकिङ सहित चिकित्सकीय तथा दुर्घटना बीमा। क्लाइम्बिङ प्याकेज (६,००० मिटरसम्म) उच्च उचाइ जोखिम बीमा, अल्टिच्युड माउन्टेन सिकनेस उपचार आपतकालीन उद्धार, अस्पताल सेवा तथा उचाइ डाटा आधारित निगरानी। कम्पनीले दावी गरे अनुसार यो प्रणालीले नेपालमा वर्षौंदेखि कायम रहेको उद्धार- बीमा अव्यवस्थालाई अन्त्य गर्दै पर्यटकहरूको हराउँदै गएको विश्वास पुनःस्थापित गर्नेछ। साथै बीमालाई किफायती, पारदर्शी र विश्वसनीय बनाई नेपालको पर्यटन उद्योगलाई नवीन, सुरक्षित तथा नैतिक दिशामा अघि बढाउनेछ। आगामी दिनहरूमा थप नयाँ प्याकेजहरू पनि उपलब्ध हुने र यी प्याकेजहरू नेपाल सरकारको नियमअनुसार दर्ता भएका ट्रेकिङ तथा टुर एजेन्सीहरू मार्फत मात्र खरिद गर्न सकिने बताइएको छ। The post हिमालयन गार्डियन नेपालद्वारा विदेशी पर्यटकहरूका लागि जीपीएस ट्र्याकिङसहितको सुरक्षा प्याकेज दिने appeared first on Technology Khabar.