कार्यसम्पादन सुधार्न टेलिकमलाई निर्देशन - www.pardafas.com
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले टेलिकमका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै कार्यसम्पादन सुधार्न निर्देशन दिएका छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को २२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको हिसाबले काम गर्दा स्थायित्व नहुने भन्दै धेरै भन्दा धेरै राजश्व संकलन गर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिए । उनकाअनुसार अहिले टेलिकमले उठाइरहेको राजस्व खर्चको तुलनामा निकै कमजोर छ । त्यसलाई सुधारेर लैजानुपर्छ । ‘दीर्घकालिन योजना बनाएर टेलिकमले काम गर्न जरुरी छ । अहिले जसरी कामहरु भएको छ यसले लामोसमय दीगो हुन सक्दैन । अहिले ब्यान्डविथसहित धेरै क्षेत्रमा ठूलो खर्च भइरहेको देखियो । यो घटाउन सकिन्छ । रेभिन्यु कमाउन सक्दैनौँ भने अब टेलिकमले खर्च कम गर्नुपर्छ । खर्च कसरी कम गर्न सकिन्छ भन्ने सन्दर्भमा प्राधिकरणले सल्लाह दिनुपर्छ भने दिन तयार छौँ’ उनले भने । उनले दूरसञ्चार प्राधिकरण ऐन ल्याउनका लागि सञ्चार मन्त्रालयलाई आग्रह गरिएको बताउँदै छिट्टै नयाँ सांसद्बाट जारी हुनसक्ने बताए । भण्डारीले नेपाल टेलिकमलाई फाइभजी परिक्षण गर्न सहुलियत दिएको र परिक्षणपछि थप काम गर्न नसकेको भन्दै असन्तुष्टी जनाए ।