गुल्मी -१ः सागर ढकालको इन्ट्रीले भण्डारी र ज्ञवालीलाई विरासत जोगाउन हम्मे - kendrabindu.com
काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनले गुल्मी निर्वाचन क्षेत्र १ मा चुनावी मैदान तातिएकाे छ । २१ जनाको उम्मेदवारी परेकाे यस क्षेत्रमा पुराना ‘हेभिवेट’ नेताहरू र नयाँ उदीयमान शक्तिहरूबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यस क्षेत्रबाट २०७९ को निर्वाचनमा विजयी भएका नेपाली काँग्रेसका डा. चन्द्र भण्डारी आफ्नो विरासत जोगाउने दाउमा छन् । एमालेका उपमहासचिव प्रदिप ज्ञवाली यसअघि भण्डारीसँग झिनो मतान्तरले पराजित भएका थिए, यसपालि उनी बदला लिने तयारीमा छन् । नेपाली कम्युनिस्ट पार्टीबाट लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बराल पनि यस क्षेत्रमा प्रभावशाली उम्मेदवारका रूपमा देखिएका छन्। उनीहरुसँगै भिड्दैछन्, रास्वपाका सागर ढकाल पनि । पछिल्लो दुई चुनावको अंक गणित भण्डारी र ज्ञवालीबीच २०६४ सालदेखि नै निरन्तर प्रतिस्पर्धा हुँदै आएको छ। दुवैले अहिलेसम्म २–२ पटक चुनाव जितेका छन्। २०७९ को चुनावमा भण्डारीले ज्ञवालीलाई हराएर विजय भएका थिए भने २०७४ को चुनावमा ज्ञवालीले भण्डारीलाई हराएका थिए । २०७४ मा ज्ञवालीको ३७ हजार ७१८ मत आउँदा भण्डारीको ३० हजार २५६ आएको थियो । २०७९ मा भने भण्डारीले विजय हुँदा ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार १५२ मत ल्याए । २०७४ को चुनावमा गयल भएको राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ को चुनावमा तेस्रो दल भएको थियो । तेस्रो दल बन्दाको मत भने धेरै कम थियो, १ हजार ८८२ मत मात्रै । २०७४ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा ज्ञवाली परराष्ट्रमन्त्री समेत बनिसकेका छन् । सागर ढकालको इन्ट्री र रास्वपाको लहर अघिल्लो निर्वाचनमा डडेलधुराबाट चर्चामा आएका सागर ढकालले यसपटक गुल्मी-१ मा ‘इन्ट्री’ गरेका छन्, जसले गर्दा युवा र नयाँ मतदाताको ध्यान तानिएको छ । पहिले कांग्रेस र एमालेबीच मात्रै कडा टक्कर हुने गरेकोमा यस पटक रास्वपाका ढकालको उपस्थितिले चुनावी समीकरण रोचक बनाएको छ। जेनजी आन्दाेलनपछि रास्वपाको लहर निकै सशक्त रूपमा देखा परेको छ, जसले परम्परागत राजनीतिक शक्तिहरूलाई ठूलो दबाबमा पारेको छ। विशेष गरी ढकालको उम्मेदवारीले यस क्षेत्रका युवा र वैदेशिक रोजगारीबाट फर्किएका मतदाताहरूमा नयाँ आशा जगाएको देखिन्छ। रास्वपाले ‘डिजिटल गुल्मी’, ‘बौद्धिक पावर हाउस’ र भ्रष्टाचारमुक्त सुशासनको एजेन्डालाई मुख्य हतियार बनाएको छ, जसले गर्दा पुराना दलहरूप्रति असन्तुष्ट रहेका तटस्थ मतदाताहरू यसतर्फ आकर्षित भइरहेका छन्। गाउँ-गाउँमा पुगेर गरिएका साना सभा र सामाजिक सञ्जालको प्रभावकारी प्रयोगले गर्दा रास्वपाको पक्षमा एउटा ‘साइलेन्ट वेभ’ सिर्जना भएको विश्लेषण गरिएको छ। तर, यो लहरलाई वास्तविक मतमा बदल्न रास्वपाका लागि बलियो संगठनको अभाव र पुराना दलहरूको गाडिएको ‘भोट बैंक’ तोड्नु मुख्य चुनौतीका रूपमा रहेको छ। यसपटकको निर्वाचनमा रास्वपाले प्राप्त गर्ने मतले गुल्मीको दशकौँदेखिको राजनीतिक समीकरणलाई नै फेरबदल गरिदिने सम्भावना बढेको छ । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा यसपटक नयाँ अनुहार, विशेष गरी सागर ढकाल जस्ता उम्मेदवारलाई मत दिने आधार मुख्यतया “परिवर्तनको चाहना” र “पुराना दलहरूप्रतिको वितृष्णा”मा टिकेको देखिन्छ। मतदाताहरूले दशकौँदेखि एउटै अनुहार र शक्तिलाई पालैपालो जिताउँदा पनि आधारभूत पूर्वाधार, रोजगारी र शिक्षाको अवस्थामा तात्विक सुधार नभएको महसुस गरेका छन्। नयाँ उम्मेदवारहरूले अघि सारेका ‘बौद्धिक नेतृत्व’, ‘प्रविधिको प्रयोग’ र ‘युवा स्वरोजगार’ का एजेन्डाहरूले विदेश पलायन हुन बाध्य युवा पुस्ता र सुशासनको पर्खाइमा रहेका नागरिकहरूलाई आकर्षित गरेको छ। साथै, पुराना दलहरूले गर्ने ‘गठबन्धनको राजनीति’ र ‘आन्तरिक खिचातानी’ बाट दिक्क भएका मतदाताहरूका लागि नयाँ अनुहार एउटा बलियो विकल्पका रूपमा उदाएका छन्। विशेषगरी डडेल्धुरामा शेरबहादुर देउवाविरुद्ध लडेर चर्चामा आएका सागर ढकालको साहसिक छविले गुल्मेली जनतामा “यसपालि नयाँलाई हेरौँ” भन्ने मनोवैज्ञानिक आधार तयार पारेको पनि पाइन्छ। उम्मेदवारहरूका सामु चुनौतीका पहाड गुल्मी निर्वाचन क्षेत्र १ मा विगतको विकासलाई लिएर स्थानीय मतदाताहरूमा ठूलो आक्रोश र असन्तुष्टि देखिएको छ। विशेषगरी कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग जस्ता ‘गौरवका आयोजना’ भनिएका सडकहरूको सुस्त गति, धुलाम्मे अवस्था र बर्खायाममा हुने अवरोधले सर्वसाधारणको दैनिकी कष्टकर बनाएको छ। दशकौँदेखि एउटै अनुहारलाई जिताएर पठाए पनि गाउँको पूर्वाधारमा उल्लेख्य सुधार नभएको, खानेपानीको चरम अभाव र बाँदर आतंक जस्ता आधारभूत समस्या जस्ताको तस्तै रहेको भन्दै स्थानीयले नेताहरूप्रति प्रश्न उठाउन थालेका छन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तर नहुनु र रोजगारीको अभावमा युवाहरू पलायन हुने क्रम नरोकिँदा पुरानो नेतृत्वले केवल सत्ताको राजनीति मात्र गरेको र वास्तविक विकासमा ध्यान नदिएको गुनासो गाउँ-गाउँमा सुनिन्छ।