निपा भाइरस भित्रिन र फैलिन नदिने प्रयासमा नेपाल - www.bbc.com
Universal Images Group/Getty Images छिमेकी देश भारतको पश्चिम बङ्गाल राज्यमा मानिसमा निपा भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको अधिकारीहरूले बताएका छन्। कोभिड महामारीको समयमा नेपाल-भारत स्थलसीमाका प्रवेशबिन्दु र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएका स्वास्थ्य जाँच एकाइबाट अहिले निगरानी भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताए।भारतीय अधिकारीहरूका अनुसार गत महिना पश्चिम बङ्गालमा सङ्क्रमण पुष्टि भएका दुई स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेका झन्डै २०० जनाको निगरानी गरिएको थियो। तर उनीहरूमा उक्त भाइरस सरेको देखिएन। नदेखिने चिनी: तपाईँले कति खाइरहनुभएको छ? ढाड दुख्न नदिन र दुखेमा कम गर्न थाहा पाउनुपर्ने पाँच कुरा भारतीय पक्षले नेपाललाई निपा भाइरस सङ्क्रमणको अवस्थाबारे ताजा जानकारी उपलब्ध गराउँदै आएको र नेपालले भारतलाई सीमानाकामा सतकर्ता कायम गर्न सहयोग गर्न अनुरोध गरेको अधिकारीहरूले बताएका छन्।नेपाली अधिकारीहरूले सर्वसाधारण मानिसलाई सतर्कता अपनाउन अनुरोध गरेका छन्। उनीहरूका अनुसार नेपालमा अहिलेसम्म उक्त भाइरसबाट सङ्क्रमित भएका वा शङ्कास्पद लक्षण भएका व्यक्ति फेला परेका छैनन्।भारतले के जानकारी दिएको छ?स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जनस्वास्य सम्बन्धी अन्तर्राष्ट्रिय सूचना आदानप्रदान प्रणालीमा भारतले दुई स्वास्थकर्मीमा निपा भाइरसको सङ्क्रमण देखिएको उल्लेख गरेको र त्यसलगत्तै नेपालले आफ्नो तर्फबाट निगरानी अघि बढाएको बताए।"अन्तर्राष्ट्रिय स्वास्थ्य नियमानुसार यसबारे रिपोर्टिङ गर्नुपर्छ। भारतले पश्चिम बङ्गालमा दुई स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको र त्यसपछि त्यसलाई अन्य ठाउँ र व्यक्तिमा फैलिन नदिने अवस्था छ भन्ने उल्लेख गरेको छ। सङ्क्रमण भएका ती दुई जनासँग सम्पर्कमा आएका व्यक्तिहरूलाई उहाँहरूले क्वारन्टीनमा राखेर परीक्षण गरिरहनुभएको छ। उहाँहरूमा सङ्क्रमण पुष्टि भएको छैन।"भारतको प्रेस ब्यूरो अफ इन्फर्मेशनले सङ्क्रमण पुष्टि भएका घटनासँग जोडिएका १९६ जनाको पहिचान भएको र उनीहरूलाई निगरानीमा राखेर स्वास्थ्य परीक्षण गरिएको जनाएको छ। तीमध्ये कसैमा पनि निपा भाइरस सङ्क्रमणको लक्षण नदेखिएको पीआईबीले बताएको छ। Getty Images चमेरोका कारण निपाह सङ्क्रमण देखिने विज्ञहरू बताउँछन् नेपालसँग सीमा जोडिएको पश्चिम बङ्गाल राज्यमा निपा भाइरस देखिएको सार्वजनिक भएपछि विमान र स्थलमार्गबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूलाई स्क्रीनिङ गर्न र निगरानीमा राख्न निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी भन्छन्, "स्थलनाका र हवाईनाकामा भएका हाम्रा हेल्थडेस्कलाई आवतजावत गर्ने यात्रुहरूलाई निगरानीमा राख्न भनेका छौँ। कुनै शङ्कास्पद लक्षण र प्रभावित क्षेत्रबाट आएका व्यक्तिहरूलाई आवश्यक पर्दा क्वारन्टीनमा राख्न उनीहरूलाई काउन्सिलिङ गर्ने र स्वास्थ्य संस्थामा पठाउनुपर्ने भए त्यहाँ पनि समन्वय गर्न हामीले भनिसकेका छौँ।"उनका अनुसार आवश्यक पर्दा नमुनाहरू सङ्कलन गर्न र त्यही अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई पनि तयार अवस्थामा राखिएको छ। तर हालसम्म नेपालमा कसैमा पनि सङ्क्रमणको कुनै लक्षण नदेखिएको उनको भनाइ छ। भारतमा फैलिरहेको निपा भाइरस के हो? भारतमा घातक निपा भाइरसका कारण मृत्यु नाकादेखी प्रयोगशालासम्म निगरानी Getty Images नेपालमा अहिलेसम्म निपा भाइरस सङ्क्रमण देखा नपरेको स्वास्थ्य मन्त्रालयले बताएको छ झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले स्वास्थ्य मन्त्रालयले पश्चिम बङ्गालमा देखा परेको निपा भाइरसबारे चासो भएका कारण नेपालको पूर्वी सीमामा अवस्थित काकडभिट्टा र भद्रपुर नाकाहरूमा स्वास्थ्य डेस्क राखिएको बताए।"कसैलाई उच्च ज्वरो आएको देखिएको छ भने स्वास्थ्यसंस्थाहरूमा सिफारिस गरेर पठाउने गरेका छौँ। अहिलेसम्म त्यस्तो केही देखिएको छैन। हाम्रो सशस्त्र प्रहरी बलमार्फत् उनीहरू(भारत)लाई हामीले त्यताबाट आउने व्यक्तिहरूको अलिअलि निगरानी तपाईँहरूले पनि गरिदिनुपर्छ भनेका छौँ। उनीहरूबाट हामी पनि त्यसमा गम्भीर छौँ भन्ने कुरा भएको छ।"त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको तापक्रम परीक्षण गर्ने क्रमलाई निरन्तरता दिइएको त्यहाँका अधिकारीहरूले जनाएका छन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले बीबीसीसँग भने, "कोभिडको बेलामा नै यात्रुहरूको तापक्रम नाप्ने उपकरण राखिएको थियो। त्यसबाट पार हुँदा कसैको शरीरको तापक्रम १०० डिग्रीभन्दा बढी देखिएको खण्डमा त्यहाँ रहेको स्वास्थ्यकर्मीको टोलीले अलग्गै राखेर सम्बन्धित व्यक्तिहरूसँग परामर्श गर्ने गर्छ।"स्वास्थ्य मन्त्रालयका प्रवक्ताले शङ्कास्पद कोही पनि नदेखिएका र हालसम्म कसैलाई पनि "क्वारन्टीन, ट्रयाकिङ वा परीक्षण गर्नुनपरेको" बताए।"इन्फ्लुएन्जा वा रुघाखोकीको लक्षण भएका १५ वटा नमुना हामीले प्रत्येक साता विदेशमा पठाउने नियम कायम राखेकै छौँ। ल्याबबाट पनि हामीले नियमित निगरानी गरिरहेका छौँ। अनि हेल्थडेस्कबाट पनि निगरानी गरिरहेका छौँ। तर त्यस्तो शङ्कास्पद केही देखिएको छैन।" उच्च मृत्युदर भएको निपा भाइरस सङ्क्रमण के हो, कसरी जोगिने के चमेरोले कोरोनाभाइरस फैलाएको हो निपा भाइरस के होअहिले भारतमा देखा परेको यो भाइरसको सङ्क्रमण सन् २००१ यता त्यहाँ अभिलेख गरिएको सातौँ प्रकोप भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)लाई उद्धृत गर्दै विवरणहरू आएका छन्।पश्चिम बङ्गालको अन्तर्राष्ट्रिय सीमा नेपाल, भुटान र बाङ्ग्लादेशसँग जोडिएको छ। तर निपा भाइरस स्थानीय तहमै सीमित रहेको हुन सक्ने स्वास्थ्य अधिकारी तथा विज्ञहरूको अनुमान छ।विज्ञहरूका अनुसार निपा भाइरस पशुबाट मानिसमा सर्छ। उक्त भाइरसबाट सङ्क्रमित भएका चमेरा वा सुँगुरजस्ता जनावर र कीटाणुयुक्त खानेकुरा र कहिलेकाहीँ एक सङ्क्रमित व्यक्तिबाट अर्कोमा सर्ने गर्छ। एउटा मानवबाट अर्को मानवमा निपा भाइरस सर्नु दुर्लभ भएको तर असम्भव नभएको डब्ल्यूएचओले जनाएको छ।सन् १९९८ यता बाङ्ग्लादेश, भारत, मलेशिया, फिलिपिन्स र सिङ्गापुरमा निपा भाइरसबाट सङ्क्रमित मानिसहरू फेला परेका छन्। डब्ल्यूएचओले निपा भाइरसको सङ्क्रमणलाई घातक रोगको सूचीमा राखेको छ। यसबाट हुने मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुन सक्छ। यो सङ्क्रमणको उपचारका लागि हालसम्म कुनै खोप वा औषधि उपलब्ध छैन। इबोला, जीका र कोभिड-१९ जस्तै विश्वव्यापी महामारी निम्त्याउन सक्ने रोगको सूचीमा यसलाई राखिएको छ। कोरोनाभाइरसमा देखिएको परिवर्तनले पार्ने प्रभावबारे वैज्ञानिकहरू रनभुल्ल चमेरोबाट मानिसमा कोरोनाभाइरस सर्यो, तर सार्ने जीव 'पत्ता नलाग्न सक्छ' विज्ञ के भन्छन्शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको चिकित्सकीय अनुसन्धान एकाइका प्रमुख डा शेरबहादुर पुन भारतमा निपा सङ्क्रमण देखिँदा नेपालमा उच्च सावधानी अपनाइनुपर्ने बताउँछन्।"यो हाम्रो लागि पनि चिन्ताको विषय हो। भारतसँग हाम्रो खुला सिमाना छ। यो हाम्रो लागि गम्भीर विषय पनि हो र बेवास्ता गर्नै नसकिने विषय हो। मानिसबाट मानिसमा पनि सर्ने र चमेरो अनि सुँगुरबाट मानिसमा सर्ने भएकाले सावधानी अपनाउनुपर्छ।"उनका अनुसार निपा भाइरसको सङ्क्रमण हुँदा सुरुमा रुघाखोकीसँग मिल्दोजुल्दो लक्षण देखिन्छ। पछि टाउको दुख्ने, बान्ता हुने र अन्ततः स्नायुप्रणालीमा नै असर पुग्न सक्ने अनि बिरामी अचेत हुन सक्ने उनले बताए। Getty Images डब्ल्यूएचओले निपाको जोखिम नियन्त्रणका लागि चमेरोबाट मानवमा हुने सङ्क्रमणको जोखिम कम गर्नेसहितका उपाय अवलम्बन गरिनुपर्ने सुझाव दिएको छ।चमेरो बस्ने भएकाले खजुरका बोटबाट निकालिने ताडी र चमेरोले टोकेका फलफूलहरू सेवन नगर्न सुझाव दिएको छ।त्यसबाहेक निपा भाइरसबाट सङ्क्रमित भएका व्यक्तिहरूसँग असुरक्षित शारीरिक सम्पर्क नराख्न र बिरामीहरूलाई भेट्नुपर्दा सरसफाइमा विशेष ध्यान दिन पनि डब्ल्यूएचओले भनेको छ।हावाबाट पनि जीवाणु सर्न सक्ने भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा हुने सङ्क्रमण नियन्त्रणका लागि विशेष सावधानी अपनाइनुपर्ने भन्दै डब्ल्यूएचओले निपा सङ्क्रमणको आशङ्कामा सङ्कलन गरिएका नमुनाहरूलाई तालिमप्राप्त जनशक्तिले विशेष खालका प्रयोगशालाहरूमा जाँच गराउनुपर्ने उल्लेख गरेको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बुढाथोकी निपा सङ्क्रमण रोक्न नागरिकहरू स्तरमा पनि सचेतना आवश्यक रहेको बताउँछन्।"सीमानाका र अन्यत्रबाट भरसक नभित्रियोस् भनेर सरकारले प्रयास गर्ने हो। सर्वसाधारण नागरिकहरूले पनि चमेरोले जुठो हाल्न सक्ने र टोकेर झार्न सक्ने फलफूल र सागसब्जीलाई लिएर सावधानी अपनाउनुपर्छ। मास्क लगाएर मात्रै हिँड्नुपर्छ र शङ्कास्पद खालका बिरामीहरू छन् भने उनीहरूको नजिक जानु हुँदैन।" ‘विश्वव्यापी महामारी बन्न सक्ने' नयाँ भाइरस फेला पर्यो यी खानेकुरा खाँदा शरीरबाट निस्किन्छ 'आकर्षक गन्ध' बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।