महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायरः कुन देशसँग खेल्नेछ नेपाल? - nagariknews.nagariknetwork.com
काठमाडौंमा यही पुस ३० गते महिला टी-२० विश्वकप ग्लोबल छनोट सुरु हुँदैछ। कूल १० टोलीले सहभागीता जनाउने छनोट प्रतियोगितामा टोलीहरु दुई समूहमा विभाजन गरिएको छ। समूह 'ए' मा बंगालदेश, पपुवा न्यूगिनी, आयरल्यान्ड, नामिबिया र अमेरिका छन्। त्यस्तै, समूह 'बी' मा आयोजक राष्ट्र नेपाल, थाइल्यान्ड, स्कटल्यान्ड, जिम्बाबे र नेदरल्यान्ड्स रहेका छन्। समूह चरणको खेलपछि शीर्ष ३-३ टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। त्यसपछि शीर्ष चारमा पर्ने टोलीले इंग्ल्याण्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्ने महिला टी-२० विश्वकपमा स्थान बनाउनेछ। कस्ता छन् आयोजक राष्ट्र नेपालसँग रहेको टोली? स्कटल्यान्डनेपाल रहेको समूह बीमा रहेको स्कटल्यान्डलाई सबैभन्दा बलियो टोली मानिएको छ। स्कटल्यान्ड आईसिसी महिला टी( २० आई वरीयाताको ११औँ स्थानमा रहेको छ। टी( २० महिला विश्वकपमा स्कटल्यान्ड एक पटक सहभागी भइसकेको छ । सन् २०२४ मा बंगालदेशले आयोजना गरेको विश्वकपमा स्कटल्यान्डले विश्वकप खेलेको थियो। स्कटल्यान्डले यसअघि पाँच पटक विश्वकप ग्लोबल छनोट खेलेको छ। जसमा स्कटल्यान्डले एकपटकमात्र ग्लोबल छनोट पार गर्दै विश्वकपको यात्रा तय गरेको थियो । समूहकै बलियो रुपमा देखा परेको स्कटल्यान्ड शीर्ष चारमा पर्ने दाबेदारी देखाएको छ। थाइल्यान्डपछिल्लो समय थाइल्यान्ड महिला राष्ट्रिय क्रिकेट टोलीले राम्रो उपलब्धि हासिल गरिरहेको छ । समूह बी मा स्कटल्यान्डपछि थाइल्यान्डलाई पनि दाबेदारको रुपमा हेरिएको छ । आईसिसी वरियातामा थाइल्यान्ड टी-२० महिलाको १२औं स्थानमा छ। थाइल्यान्डले एक पटक विश्वकप खेलेको छ। थाइल्यान्डले सन् २०२० मा पहिलो पटक विश्वकप खेलेको थियो। ५ पटक विश्वकप ग्लोबल छनोट खेलेको थाइल्यान्ड पनि एक पटक मात्र विश्वकपमा पुग्न सफल भएको टोली हो । यस पटक पनि थाइल्यान्ड बलियो दाबेदारी प्रस्तुत गर्ने योजनामा हुनेछ। नेदरल्यान्ड्सनेपालसँग समूह 'बी'मा रहेर विश्वकप खेल्ने योजना बनाएको अर्को टोली हो, नेदरल्यान्ड्स। आईसिसी वरियातामा १४ औँ स्थानमा रहेको नेदरल्यान्ड्सले टी-२० महिला विश्वकप खेल्न भने पाएको छैन । तर डच टोली यो पटक सबैलाई उछिन्दै विश्वकपमा स्थान बनाउने योजनामा हुनेछ । तीन पटक विश्वकप ग्लोबल छनोट खेलेको नेदरल्यान्ड्सले युरोपमा क्वालिफार्यस पनि खेलेको छ। विश्वकप खेल्न नेदरल्यान्ड्स चौथो प्रयास गर्दैछ । जिम्बाबेआईसिसी वरियाताको १५ औं स्थानमा रहेको जिम्बाबे पनि अकल्पनीय नतिजा निकाल्ने योजनामा देखिन्छ । महिला टी-२० विश्वकप खेल्न नपाएको उसले एक पटक ग्लोबल छनोट र दुई पटक अफ्रिका छनोटमा प्रतिस्पर्धा गरेको थियो। तर विश्वकपमै भने पुग्न सकेको छैन । सन् २०१३ र सन् २०१५ मा अफ्रिकी छनोटमा सहभागीता जनाएको जिम्बाबेले सन् २०२४ मा विश्वकप ग्लोबल छनोट खेलेको थियो।