Redirecting...

भारतका खानी क्षेत्रमा सौर्य बत्तीले महिलामा आशा र आत्मनिर्भरता - www.nepaliheadline.com

भारतका खानी क्षेत्रमा सौर्य बत्तीले महिलामा आशा र आत्मनिर्भरता - www.nepaliheadline.com
Source: nplh

लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौतीजस्तै छन् । यही कठोर वातावरणबीच सन्तोष देवीजस्ता महिलाहरूले सौर्य इन्जिनियरिङ सिकेर आफ्नो घर–परिवारमा उज्यालो र आशा फिर्ता ल्याउन सफल भएका छन् । खानीमा दशकौँसम्म काम गर्दा श्वासप्रश्वास बिग्रिने पुरानो रोग सिलिकोसिस बाट उहाँका पति ओछ्यानमै परेपछि, परिवारको भविष्य बचाउन सन्तोषले हातमा नयाँ सीप लिन बाध्य हुनुभयो । राजस्थानका करिब ३३ हजार खानीमा अत्यधिक मात्रामा पाइने सिलिका धुलोको दीर्घसम्पर्कले उत्पन्न हुने यो रोग त्यहाँका हजारौँ परिवारको दैनन्दिन त्रास हो । आफ्ना चार सन्तानसहित बस्तै आउनुभएकी ३६ वर्षीया सन्तोष बेयरफुट कलेज, तिलोनिया, ब्यावरभन्दा दुई घण्टा टाढा, तीन महिनाको सौर्य इन्जिनियरिङ तालिममा सहभागी भएपछि पहिलोपटक आर्थिक आत्मनिर्भरता बटुल्न सफल हुनुभएको छ । प्यानल जडानदेखि तारजोड, बत्ती जडानदेखि मर्मतसम्म सिकेपछि उहाँले गाउँमै विद्युत् नपुगेका घरहरू उज्यालो बनाउन योगदान गरिरहनुभएको छ । उहाँका पति सिलिकोसिसका कारण अब मुश्किलले हिँडडुल गर्नसक्नुहुन्छ । चिकित्सकीय खर्च निकै महँगो छ र राज्यले दिने न्यून भत्ता मात्र नै नियमित आयको स्रोत बनेको छ । यसैबीच बेयरफुट कलेजले स्थापित गरेको कार्यक्रमले सन्तोषजस्ता महिलालाई रोजगारी, आत्मविश्वास र घरसम्भारको विकल्प प्रदान गरेको छ । संस्थानका प्राविधिक प्रबन्धक कमलेश बिष्टका अनुसार सन् १९७२ मा स्थापना भएदेखि हालसम्म ९६ देशका तीन हजारभन्दा बढी महिलालाई तालिम दिने कलेजको मुख्य लक्ष्य ग्रामीण महिलालाई स्वावलम्बी बनाउनु हो । निरक्षर सन्तोषको सपनासमेत साधारण छैन । उहाँ आफ्ना पाँचदेखि २० वर्ष उमेरका छोराछोरीलाई ‘राम्रो शिक्षा र उज्यालो भविष्य’ दिन चाहनुहुन्छ । अहिले थोरै भए पनि सौर्य प्यानल जडानबाट आम्दानी गर्न थाल्नुभएकी उहाँ भविष्यमा महिनामा करिब ७० अमेरिकी डलर बराबर कमाउने आशा राख्निुहुन्छ । परिवारबाट टाढा बसेर प्रशिक्षण लिनु कठिन भएको स्वीकार्दै पनि उहाँले यो सबै ‘लायकको यात्रा’ भएको बताउनुभयो । सन्तोषले गर्वका साथ तीन घरमा आफूले जडान गरेका फोटोभोल्टिक प्यानल देखाउनुभयो, जसले बत्ती, फ्यान र चार्जर चलाउने आवश्यक विद्युत् उत्पादन गरिरहेका छन् । – मरुभूमिमा फैलिएको ‘स्लो किलर’ – उहाँका पतिले वर्षौंसम्म बलौटे ढुङ्गा काट्दै पेभर निर्माणका लागि लगिने ढुङ्गा निकाल्ने कठिन काम गर्नुभयो । अहिले १६ डलरको मासिक भत्ता बाहेक आयको कुनै स्रोत छैन, औषधि महँगो छ र स्वास्थ्य झनै ओरालो । आँसु पुछ्दै सन्तोषले गहना बेचेको, आफन्तसँग पैसा उधारो लिएको र आफ्नो मङ्गलसूत्र समेत राखेको बताउनुभयो । राजस्थानभर हजारौँ मानिस यस्तै अवस्थाबाट गुज्रिरहेका छन् । अजमेर जिल्लामात्रै पाँच हजारदेखि छ हजार बिरामी रहेको पल्मोनोलोजिस्ट लोकेश कुमार गुप्ता बताउनुहुन्छ । केही गाउँमा त सयभन्दा बढीको अवस्था दयनीय छ । सन्तोष बस्ने ४०० घरको गाउँमा मात्रै ७० जना सिलिकोसिसबाट पीडित छन् । बिस्तारै शरीर निष्क्रिय बनाउने यो रोगको उपचार प्रायः हुँदैन । खानी मजदुरहरू मध्ये धेरैले छ डलरभन्दा कममा दिनभरि ढुङ्गा काट्छन् । झनै जोखिमपूर्ण ज्याकह्यामर चलाउनेहरूले दोब्बर कमाए पनि विषाक्त धुलोको सामना गर्नैपर्छ । ३४ वर्षीय विनोद राम पनि १५ वर्षदेखि खानीमा काम गर्दै आएकोमा अहिले ४५ किलो मात्रै तौल रहेको र औषधिले केही मिनेट मात्र राहत दिने बताउनुहुन्छ । – कामको विकल्प नभएका परिवारहरू – विनोदकी श्रीमती चम्पा देवीले पनि बेयरफुट कलेजबाट तालिम लिएर घर फर्केपछि चार घरमा प्यानल जडान गर्नुभएको छ, तर हालसम्म भुक्तानी पाइसक्नुभएको छैन । अहिले उहाँ इँटाभट्टा तथा निर्माणस्थलमा दिनभर काम गरी करिब तीन डलर आम्दानी गर्नुहुन्छ, तर पतिको औषधि खर्च मात्र मासिक ८० डलरसम्म पुग्छ । यो जोडी एक अँध्यारो एककोठे घरमा, भुइँमा बिछ्याइएको पातलो कम्बलमा बस्छ, वरपरका खानीबाट हुने विस्फोटका आवाज सुनिन्छन् । “सिलिकोसिसको कुनै उपचार छैन”, चिकित्सक गुप्ता भन्नुहुन्छ । धेरै बिरामी ढिलो—पाँचदेखि सात वर्षपछि—मात्र उपचारका लागि पुग्छन्, जसले समस्या जटिल बनाउँछ । राज्यको राहत योजनाअन्तर्गत बिरामीलाई प्रारम्भिक ३१० डलर र मृत्युको अवस्थामा परिवारलाई तीन हजार ४६५ डलर सहयोग गरिन्छ । तर धेरैजसो बिरामी अझै पनि परिवार धान्नका लागि बाध्य भएर, स्वास्थ्य जोखिमका बाबजुद बलौटे ढुङ्गा काट्नै जारी राखिरहेका छन् । ५५ वर्षीय मजदुर सोहन लाल भन्नुहुन्छ, “यदि मलाई अस्पतालले रोग पुष्टि गरिदियो भने के फरक पर्छ ? काम गरिनँ भने परिवार भोकै बस्छ ।” यसैबीच, बेयरफुट कलेजबाट सिकेका सौर्य सीपहरूले सन्तोषजस्ता महिलामा आत्मविश्वास मात्र नभई, विषम परिस्थितिमाथि टिक्ने शक्ति पनि जगाइदिएको छ—जहाँ रोग, गरिबी र सङ्घर्षबीच पनि उज्यालो छर्ने आशाकिरण बल्दै गएको छ ।