‘मधुपर्क’को नयाँ सम्पादकमा तुलसीहरि कोइराला नियुक्त - sahityapost.com
काठमाडौँ । गोरखापत्र संस्थानअन्तर्गत प्रकाशित देशकै जेठो साहित्यिक मासिक पत्रिका ‘मधुपर्क’को सम्पादकमा तुलसीहरि कोइराला नियुक्त हुनुभएको छ। गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारी र महाप्रबन्धक लालबहादुर ऐरीले माघ ६ गते आयोजित कार्यक्रममा कोइरालालाई पदस्थापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो। सो अवसरमा अध्यक्ष भण्डारीले ‘मधुपर्क’को सम्पादकका रूपमा कोइरालाको नियुक्तिले पत्रिकामा नयाँ आयाम थपिने अपेक्षा व्यक्त गर्नुभयो। यस्तै, महाप्रबन्धक ऐरीले अध्ययनशील पाठकले रुचाउने ‘मधुपर्क’लाई अझ परिमार्जित र समृद्ध बनाउँदै अघि बढाउन शुभकामना दिनुभयो। पदस्थापन कार्यक्रममा गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेत र दी राइजिङ नेपालका प्रधान सम्पादक विष्णुप्रसाद गौतमलगायतले पनि कोइरालालाई सफल कार्यकालको कामना गर्नुभएको थियो। हाल गोरखापत्र दैनिकको दिवा डेस्कका सम्पादक तथा प्रमुखका रूपमा कार्यरत कोइरालासँग पत्रकारिता पेशाको प्रारम्भदेखि नै ‘मधुपर्क’मा दीर्घकालीन कार्यानुभव रहेको छ। यसअघिका सम्पादक त्रिभुवनचन्द्र वाग्ले भने गत माघ ६ गतेबाट अवकाशमा जानुभएको हो।