पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी ५६ जनाविरुद्ध भयो मुद्दा दर्ता - arthasanjal.com
Source: sanj
काठमाडौं। पोखरा क्षेत्रीय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५५ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले एक निर्माण कम्पनीविरुद्ध समेत मुद्दा दायर गरेको छ । आयोगले मुद्दा चलाएकामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरू स्व पोष्ट बहादुर बोगटी, राम कुमार श्रेष्ठ, भीम प्रसाद आचार्य, दीपक चन्द्र अमात्य छन् । यस्तै तत्कालीन अर्थ मन्त्री राम शरण महत, तत्कालीन सचिवहरू तथा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू त्रिरत्न महर्जन, रतीशचन्द्र लाल सुमन, प्रदीप अधिकारीलगायतलाई समेत प्रतिवादी बनाइएको छ । विमानस्थल निर्माणका क्रममा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँ भन्दा बढी भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष छ ।