भृकुटीमण्डपमा भोट हाल्ने लाइनमै प्यानलका उम्मेदवारको नामावली फेरबदल - www.sutranews.com
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जारी मतदान तनावपूर्ण स्थिति देखियो। मतदानस्थलमा प्रतिनिधिहरू लाम लागेर भोट हालिरहेका बेला प्यानल–प्यानलबीचको प्रतिस्पर्धा चर्किँदै जाँदा एक जना व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार अछाम घर भएका शंकर सावद मतदान केन्द्र परिसरबाट नियन्त्रणमा लिइएका हुन्। एमाले कार्यकर्ताहरूले सावदमाथि प्यानलगत उम्मेदवारहरूको नामावली अदलबदल गरी प्रतिनिधिहरूलाई भ्रममा पार्दै प्रचार गरेको आरोप लगाएपछि अवस्था तनावग्रस्त बनेको थियो। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। मतदानस्थलमा केपी शर्मा ओली र ईश्वर पोखरेल समूह प्यानलै बनाएर आमनेसामने छन्। दुवै पक्षका नेता तथा समर्थकहरू लाइनमा बसेका प्रतिनिधिहरूसम्म पुगेर आफ्ना उम्मेदवारहरूको नामावली बाँड्दै खुलेआम भोट मागिरहेका छन्। प्रहरीले सावदलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।