विपद् व्यवस्थापनमा सरकारले पाएकाे सफलता र सन्देश - www.sutranews.com
प्राकृतिक प्रकोपको बेला राज्यको तर्फबाट जनधनको सुरक्षाको निमित्त गरिने विविध सुरक्षात्मक कार्य नै विपद् व्यवस्थापन हो। विपद्को जोखिम न्यूनीकरण, र पुनर्स्थापनासम्बन्धी सम्पूर्ण व्यवस्थित प्रक्रियालाई नै विपद् व्यवस्थापन भनेर बुझिन्छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण छ। यसले विपद् व्यवस्थापनसम्बन्धी सम्पुर्ण कामहरू प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्रीको अध्यक्षतामा रहेर आवश्यकताअनुसार राष्ट्रिय कार्यकारी समिति बनाइ नीतिगत निर्णय, समन्वय, र राष्ट्रिय स्तरमा निर्देशन दिने र तत् तत् अनुसार कामहरू तत्काल आवश्यकता सुरु गरिन्छ । प्रदेशमा समेत विपद् व्यवस्थापन समिति हुन्छ। उनीहरू आफ्नो प्रदेश मातहतका विपद् समितीहरुलाई निर्देशन दिन्छन्। त्यसैगरी, जिल्ला र स्थानीय निकायमा पनि विपद् व्यवस्थापन समिति हुन्छ । यो पालि अन्तरिम सरकारले विपद् व्यवस्थनमा अपनाएको नीति सर्वत्र प्रशंसायोग्य देखिएको छ। राज्यले अपनाएकाे पूर्वतयारीको कारण पनि धेरै जनधनको क्षति हुन पाएन। सरकारले विपद् आउनुभन्दा पहिले गरिने सबै कार्यहरू समेटेको पाइयो । सरकारबाट जोखिमको विश्लेषण, सामुदायिक सचेतना, पूर्वचेतना प्रणालीको स्थापना, प्रहरी परिचालन संचार जगतमा विपद् र सावधानीसम्बन्धी खबर निरन्तर जन समुदायमा फैलाउने काम भएको देखियो, यसले गर्दा ठूलो आपतकालीन अवस्था टरेर गयो। मौसमविदहरुले दशैँको टीकाको भोलिपल्टबाट भारी बर्षाको सम्भावना र चेतनाको सूचना प्रवाह गरिरहेका थिए । साेही सूचनालाई आधार मानेर सरकारले जोखिम हुन सक्ने राजमार्गहरुमा राति सवारीसाधन चलाउन बन्द गर्याे। यो सतर्कताले भारी वर्षा सुरु भएपछि रित्ता भएका राजमार्गमा पहिरो जाने क्रम सुरु भए पनि जनधनको क्षति भएन । प्रधानमन्त्री कार्यालयले बाढीपहिरोको जोखिम छ, उच्च सतर्कता अपनाउनु भन्दै सूचना जारी गर्याे । नागढुंगा भएर उपत्यका बाहिर जाने सवारीसाधनलाई ट्राफिक प्रहरीले यात्रामा सावधानी अपनाउन मात्रै भनेनन्, बरु सयौँ सवारीसाधनहरु नागढुङ्गा नाकाबाटै फिर्ता पठायो। भारी वर्षा भएका सबै जिल्ला जिल्लामा यातायातलाई रोकियो । विपद् घटेपछि तत्काल गरिने खोजी, उद्धार, राहत र स्वास्थ्य सेवा जस्ता कार्यहरूप्रति पनि सचेत रहेको पाइयो। सरकारले मानवीय क्षती न्यूनीकरणका लागि नदी किनारमा रहेका वासिन्दाहरुलाई स्कुल स्कुलमा तत्काल आवसको व्यवस्था मिलायो। घाइतेहरूको उपचार गर्न र मानिसलाई सुरक्षित स्थानमा सार्ने कार्यमा जनताले पनि सरकारलाई साथ दिइएको पाइयो। राजमार्गमा रहेका होटेलहरूले बिपत्तिमा परेर अलपत्र परेका यात्रुलाई भारी छुटका साथ खानपिन र बसाइको व्यवस्थापन गरिदिए । सरकार खराब छ, जनताले साथ दिँदैनन् र सरकार असल छ भने जनतालाई असल बन्न प्रेरणा मिल्दोरहेछ भन्ने कुरा स्पष्ट भएको छ। सरकारले जनधनको क्षति नहोस् भनेर दशैँ बिदा सकिकाे भाेलिपल्टबाटै लागु हुने गरी थप दुई दिन सार्वजनिक बिदा दियाे । यसले गर्दा पनि कर्मचारीहरु हतारले उपत्यका प्रवेशमा रोक लगायो र यो सबैभन्दा महत्वपूर्ण सावधानी सावित भयो। जिल्लाका सिडिओ कार्यालयले आवश्यक नभई यात्रा नगर्न जनतालाइ सावधान गराए । अरु सर्वसाधारणलाई पनि अत्यावश्यक नपरी घर बाहिर ननिस्कनु भन्ने सुचित गर्याे। भारी वर्षा भइरहेपछि उपत्यकावासीको सबैभन्दा चिन्ताको विषय चोभार गल्छी हुन्छ, जहाँ उपत्यकाका सबै नदीहरु बाहिरिने प्रमुख यही गल्छी हो। चोभार निरीक्षणमा सरकारको सामेल निरन्तर देखियो । विभिन्न ठाउँमा पहिरो र बाढीको जोखिम हुन सक्ने भन्दै प्रहरीले हट्नको लागि माइकिङ गरिरहे । गृह मन्त्रालय तयारी अवस्थामा रहिरह्यो । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई पनि सामाग्रीसहित उद्धारका लागि तयारी अवस्थामा राख्याे। मोबाइलमा फोन गर्दा पनि बाढी/पहिरोको सूचना बजिरहेको थियो । यो देख्दा लाग्यो- सरकारले बल्ल जनताको लागि काम गरिरहेको छ । अघिल्लो वर्ष बाढीपहिरोमा २०० जना भन्दा धेरैले ज्यान गुमाएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका अन्यमन्त्रीकाे अभिव्यक्ति विवादमा परेकाे थियाे । प्राकृतिक विपत्ति कसैगरी पनि रोक्न सकिँदैन, तर क्षति न्यूनीकरण भने गर्न सकिन्छ भन्ने सन्देश वर्तमान सरकारले दिएकाे छ । समग्रमा सम्भावित विपद्को पूर्वसूचना र जानकारी स्थानीय स्तरसम्म पुर्याउने र सचेतना बढाउने हो भने जस्तोसुकै प्राकृतिक प्रकोपमा पनि जनधनको क्षति कम हुँदोरहेछ भन्ने कुरा जनताले बुझ्न पाए। र समुदायमा आधारित तयारी यदि होसियारपूर्वक गर्न सकियो भने र जनतालाई नै मोबिलाइज गर्न सकियो भने विपद्मा क्षति न्यूनीकरणमा सफलता मिल्ने सबैले अनुभूति गरे । अहिले सरकारलाई चाैतर्फी बधाई आइरहेकाे छ ।