नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आज उद्घाटन हुँदै, पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने - janatatimes.com
काठमाडौं, मंसिर २७ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आज उद्घाटन हुँदै छ । महाधिवेशनको उद्घाटनसत्र भक्तपुरको तीनकुने स्थित नेपाल ट्रष्टको मैदानमा हुँदै छ । आकर्षक र कलात्मक मञ्चमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनको उद्घाटनसत्रमा ३ लाख बढीको उपस्थिति रहने एमालेको अनुमान छ । उद्घाटन कार्यक्रममा नेपालको सांस्कृतिक विविधता झल्काउन २ सय भन्दा बढी जातजातिको कला–संस्कृति प्रस्तुत गर्ने झाँकी प्रदर्शन गरिने तयारी छ । नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी लगायत १६ राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको नेकपा एमालेले जनाएको छ । कार्यक्रमलाई व्यवस्थित बनाउन ५ सय बढी स्वयंसेवक ड्रेसकोडसहित खटिने छन् । जनसेवा व्यवस्थापनका लागि १० हजार तालिमप्राप्त स्वयंसेवक परिचालन गरिने भएको छ । लिच्छविकालीन चाँगुनारायण मन्दिरलाई मुख्य स्वरूपमा राखेर उपत्यकाका महत्त्वपूर्ण मन्दिरहरूको संरचना समेटिएको एमालेको उद्घाटनसत्रको मञ्च नेपालकै इतिहासमा नै पहिलो ठुलो तथा कलात्मक मञ्च बनेको छ । मञ्चको दायाँबायाँ ३०÷३० फिट अग्ला दुईवटा एलइडी स्क्रिन जडान गरिएको छ । तीन किलोमिटर परसम्म स्पष्ट सुनिने गरी १ सय १५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम राखिएको छ । देशभरबाट आएका नेता, मन्त्री, सांसद तथा कूटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सीको व्यवस्था गरिएको छ । कार्यक्रममा राष्ट्रिय एकताको प्रतीक झल्काउने साङ्गीतिक प्रस्तुति कलाकारहरूले मञ्चमै प्रस्तुत गर्ने तयारी रहेको छ । महाधिवेशन उद्घाटनमा मञ्चमा निर्माण गरिएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटद्वारा पाला बालेर उद्घाटन गर्ने व्यवस्था मिलाइएको छ । ११ औँ महाधिवेशन उद्घाटन स्थलमा ११ वटा पार्टी झण्डा राखिने छन् । तीमध्ये १० वटा झण्डा सुरुमा नै फहराइने छन् भने एउटा झण्डा पार्टी अध्यक्ष ओलीले रिमोटबाट फहराउने तयारी गरिएको छ । महाधिवेशनको आज उद्घाटनसत्र सकिएपछि भोलि र पर्सी काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुँदै छ । बन्दसत्रले नयाँ नेतृत्व चुन्दै छ ।