काठमाडौं उपत्यकामा लागुऔषध विरुद्धको घर अभियान सुरु - www.pardafas.com
नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले काठमाडौं उपत्यकामा लागुऔषध विरुद्धको घर अभियान सुरु भएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले केही समय पहिला शुरु गरेको लागुऔषधविरुद्धको महाअभियान महत्वपूर्ण सावित भइरहेको बताए । उनले काठमाडौं उपत्यकामा ललितपुर महानगरपालिकाबाट लागुऔषधविरुद्धको घर अभियान शुरु भएको जानकारी दिए । यसले घर, समाज र देशलाई नै सुरक्षित बनाउने जिकिर गर्नुभयो । यसको प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहकार्य जरुरी रहेको बताए । महानिरीक्षक थापाले भने, ‘हामीले अहिले लागुऔषधविरुद्धको महाअभियान भनेर जुन चलायौँ । यसले एकदमै राम्रो भएको छ । काठमाडौं उपत्यकाले लागुऔषध विरुद्धको घर अभियान भनेर दुई महिनाअघिबाट शुरु गरेको छ । ललितपुर महानगरपालिकाबाट शुरु भएको छ । घरघरमा गएर परिवारलाई र समाजलाई सुरक्षित बनाउन अभियान चलेको छ । अब संघ, संस्था, समुदाय, प्रदेश, स्थानीय सरकारसँग लागुऔषधविरुद्धका अभियानमा लाग्नुपर्नेछ । पार्टनरसिप एक्टिभिटिज गरिरहेका छौँ ।’ महानिरीक्षक थापाले लागुऔषधविरुद्धको महाअभियान लागुऔषध नियन्त्रणका लागि महत्वपूर्ण सावित भएको बताए । यसलाई अझै प्रभावकारी बनाउन थप योजना र रणनीति बनाउन जरुरी रहेको बताए ।