लोककथा : चिठी - ehimalayatimes.com
सुरेशकुमार भट्ट इष्ट इण्डिया कम्पनीको नाममा ब्रिटिशले शासन गर्नुपूर्व, भारतीय उपमहाद्वीपमा ५०० भन्दा बढी राज्यहरू थिए । ब्रिटिशले शासन हत्याएपछिको बेला न भारत थियो न पाकिस्तान न त बंगलादेश नै थियो । इण्डिया भन्थे ब्रिटिशहरू अरू छिमेकी नेपाल लगायतले भन्थे हिन्दुस्तान । बेलायत र अरू पश्चिमाहरू भन्थे ‘इष्ट इण्डिया कम्पनी’ जहाँ गभर्नरले गभर्न गर्थे । गाउँघरका मानिसहरू हिन्दुस्थान जाने, देश जाने, कलकत्ता जाने, हाम्रो पूर्वतिर त मुग्लान जाने पनि भन्थे अझै भन्छन् । कतै देशजाने र देश गएर आएको भनेको पनि सुनिन्थ्यो ।अनि लाहुर जाने भन्थे । हालको पाकिस्तानको अधिनस्थ एउटा पुरानो सहरलाई ‘लाहोर’ भनिन्थ्यो ऊ बेला ब्रिटिश कालमा किनकि त्यहाँ सैनिकहरूको परिवारका लागि बसोवास गर्ने छाउनीको व्यवस्था गरिएको थियो । त्यही भएर वा लाहुर बसेर आउने सबैलाई जुन बेला ब्रिटिश सैनिकमा जागिर खानेहरूलाई ‘लाहुरे’ भन्ने चलन थियो । लाहुरमा भर्ना हुनेहरू प्रायः सबै अविवाहित हुन्थे । कतिपय विवाहित छोराछोरीका बाबु पनि एकाध हुन्थे । तिनै छोराछोरीका बाबुहरू घर सम्झेर बेलाबेला पिरोलिने गर्थे, एकान्तमा एक्लै बस्थे झोक्राउँथे । अनि घरमा बाआमा हुनेले बाआमालाई बाआमा नहुनेले पत्नीलाई सम्बोधन गरेर चिठी लेख्थे । लाहुरेहरू त्यहाँ प्रशस्त बस्ने भएकोले त्यस स्थानलाई लाहोर/लाहुर भनिन थाल्यो । लाहुरबाट घर फर्कने सैनिकलाई लाहुरे र कलकत्ताबाट फर्कनेलाई कलकत्ते भन्थे । कतिपय गाउँलेहरू विदेश जाने सबैलाई लाहुरे भनेर बोलाउँथे । हुँदा हुँदा ब्रिटिश सेनामा जागिर खाने सबैलाई लाहुरे भनिन थाल्यो । बुढापाकाबाट सुने अनुसार त्यति बेला पड्के घारी मुक्ति खोला, लाम्बगर, पन्ध्रकोसे, कागुने, काउले, मसिल खोलातिर ‘ए लैनो हो कि बकेर्नो भनेर’ सोध्थे अरे । पाखाबाट बाटाका डाकाहरूले खोलावारि पारि पाखामा बसेर आपसमा भनेर हामीलाई ढाक्रेहरूले काठमाडौं जाने बाटो हिँड्दा भन्ने गर्थे । लाहुरे भए लैना अरू भए बकेर्ना डोके भए ढाक्रे भन्थे अरे । काउले भञ्ज्याङ कवेपानीमा उहिले नेपाली सैनिकहरू दशैँ बिदामा घर जान भनेर आएका पाल्पाली घर भएका सिपाहीहरू बास बसेको ठाउँमा तास खेलेर लुट्न आउनेलाई बेसरी चुटेर रातारात हिँडेको कुरा पनि सुनाउँथे । जसको कारण ‘जाने पाल्पा, नजाने खाल्पा, चिने पाल्पा, नचिने लोक्खा’ भन्दै पिटेर रातमै भागेकाले यस्तो उखानै बन्यो भनेर बुढापाका भन्थे । काउले भञ्ज्याङले गुरुप्रसाद मैनालीको कथामा समेत स्थान पाएको छ । त्यसरी नै कतै त्यतै सिमलटारले र त्यहाँ बसोबास गर्ने जातिले पनि उनका कथामा स्थान पाएका छन् । शायद उनी गोरखामा एक जमानामा बिचारी भएकाले हो कि ? लाहुरे बारे बरू उनका चुनिएका कथामा त्यतिसारो भेटिँदैन । लाहुरमा भर्ना हुनेहरू प्रायः सबै अविवाहित हुन्थे । कतिपय विवाहित छोराछोरीका बाबु पनि एकाध हुन्थे । तिनै छोराछोरीका बाबुहरू घर सम्झेर बेलाबेला पिरोलिने गर्थे, एकान्तमा एक्लै बस्थे झोक्राउँथे । अनि घरमा बाआमा हुनेले बाआमालाई बाआमा नहुनेले पत्नीलाई सम्बोधन गरेर चिठी लेख्थे । १-बा आमालाई पठाएको चिठीको व्यहोरा यस्तो हुन्थ्यो-स्वस्ति श्री ६ श्री तहाँ राजगरी बस्नुभएका बाआमाको मालम होस् कि इदम् म आफूका छोरा परदेशीको तरफबाट नित्य गङ्गाजलले स्नान गरी पाउमा शिर राखी सामसुबेर सेवा ढोग दण्डवत छ । तपाईंहरूको सुकोमल जिय शरीरमा भगवानले सधैँ निका आराम राखी दिऊन् भनी म यहाँ नित्य प्रार्थना गरिरहेको छु । यतातिर म पनि हजुरहरूको आशिर्वाद र उनै भगवानका कृपाले आजका मितिसम्म निका आराम छु । दाइभाउजूलाई प्रणाम छोराछोरीहरूलाई शुभआशिर्वाद छ । मैले चिठीपत्र पठाइराको छु तर त्यताबाट चिठीपत्र नआउँदा दुःखी छु । हुलाक टाढा भएकोले पठाउन नसकेको हो कि ? यताको पत्र पनि पाउनुभएन र हो कि ? यो पत्र पाउनासाथ फरनपत्र लेखी पठाउनु होला । यो चिठी लैजा चरी हवा सरी, मेरा बाआमाले पाउने गरी । जोवाफ आवोस् भेटभा झैँ गरी । इति ।हजुरहरूको परदेशी दुःखी छोराबलराम २-श्रीमतीलाई परदेशी पतिको चिठी-स्वस्ती श्री छ श्री तहाँ राज गरी बसेकी मेरी प्यारी श्रीमतीको सुकोमल जियमा आराम रहोस् भनी उनै भगुवानको रातदिन प्रार्थना गरिराको छु । म परदेशी पनि आजसम्म तिनै भगवान्ले क्षमा छहारी गरेकाले निको आराम बसेको छु । म यता आएको पनि दुई वर्ष हुन लाग्यो । छोरी गाउँघर डुल्ने खेल्ने गर्छे होला ? अब त सानो छोरा पनि आँगनमा तातेतुते गरी खेल्ने हिँड्ने भयो होला । बाबा ! आमा ! भन्नथाल्यो होला । नानीहरू आमाको काख छोडेर आँगन पिँडीमा खेल्न थालेपछि आमालाई पनि यसोउसो मनमा कुरो लाग्दो हो । अरूको घरमा बुढाबुढी लोग्नेस्वास्नीसँगै काममा गएको मेलापात गरेको देख्दा मनमा कताकता के के लाग्दो हो ? तर हेर आफ्नो मन आफैँले बाँध्न बुझाउन सक्नुपर्छ । यसो गरेन भने मन छाडा लागेर स्वर्ग जस्तो घर नर्क जस्तो हुन्छ । बेलैमा नानीहरू हेरेर होस् गरेर मन चित्त बाँधेर बुझाएर बस्नुपर्छ । यति कुरा मैले बेलैमा भनेको छु आफ्नो मनमा लिइराख्नु । मो अर्को कुराको पनि जनाउ दिन्छु सुन-कुखुराका चल्लाहरू आफैँ चारा टिप्न थालेसि माऊ पोथीको सिउर बिस्तार बिस्तार रातो रातो हुन्छ । अलि दिनपछि चल्लाले माउ पनि छोडिदिन्छन् । अनि पोथी कोरकोराउन थाल्छे । पोथी कोरकोराएको सुनेर गाउँका वरिपरिका भाले भ्याट्भ्याट् गर्दै आउँन थाल्छन् । त्यति कुरा आफूले विचार राख्न सकेन भने जतिसुकै राम्रो घरगृहस्थी भए नि ढल्छ । होस् पुर्याएर विचार आफैँले राख्नुपर्छ । तिमीले यति कुरा मनमा हेक्का राख्नु । म टाढा परदेशमा भए नि । भन्न त हजुरले दुःख नगर निमेक लगाउनु, खेतला लाउनु भन्नुभा छ । मैले निमेक दिन परे पनि दिएकै छु । खेताला लाउन मिल्ने पनि लाएकै छु तर निमेक दिन नि नमिल्ने खेताला लाउन पनि नमिल्ने काममा के गरौँला ? चिठी पढी कुरा बुझी त्यहाँ खाई यहाँ चुठ्न आउनुहोला । आफूले गर्न नसक्ने काम खेताला लाउनु । म यताबाट पैसा पठाइदिम्ला । धेरै दुःख नगर । साँझबिहान खानपानमा नानीबाबुको ख्याल राख्ने गरेस् । अरू कुरा म के भनम् लेखम् र घरको माऊ तिमी आफैँ छौ जान्ने सुन्ने । आजलाई यत्ति नै भने मैले तिम्ले मनमा लिनु । चिठीको जवाफ ताततातै दिनु । लैजा चरी हवासरि मेरी मयाले पाउने गरी । उनको मनमा बस्ने गरी ।तिम्रो मया गर्ने शिरको स्वामीबलराम ३- श्रीमतीको चिट्टीमा जवाफ परदेशी श्रीमानलाई-स्वस्ति श्री छ श्री मेरा शिरका स्वामीमा बिहानै गङ्गाजल स्नान गरी पाउमा शिर राखी रातदिनको ढोग छ । भगुवानले निका आराम राखुन् । हामी यता सबै निका आराम छम् । सधैँ हुलाकीले ल्याइदिएको र हाते चिठी दुवै पाइराछु । त्यही चिठी सिरानीमा राखेर सुत्ने गरेको छु । झल्को र न्यास्रो लाग्दा त्यही चिठी त छ मैले हजुर नआउन्जेल मेरा लागि चित्त बुझाउने बाटो । बरू परदेशको ठाउँ हजुरले आफ्नो जिउको राम्रो ख्याल राख्नु होला । अस्ति माघे संक्रान्तिका दिन छोरीले उसका साथीका बा परदेशबाट घर आएको देखिछ । घरमा आएर मलाई सोधी आमा ! आमा ! हाम्रा बा हाम्लाई नाना र मिश्री लिएर कहिले आउँछन् ? म नबोली बसेँ । आँसु लुकाएँ । बोल्न सकिनँ । केटाकेटीको ढिपी मेरो कपालको जुल्ठो खेलाउँदैदै फेरि सोधी भनन आमा कहिले आउँछन् ? अचकाली गरेपछि दशैँमा भन्दिएर चित्त बुझाएँ । उसलाई त चित्त बुझाएँ तर मेरो चित्त कसले बुझाइदिने ? उसले यसरी बारम्बार सोध्दा मलाई झन् पीर थपिदिए जस्तो भा’छ । सानो बाबु पनि ब्वा ! ब्वा ! भन्न थालिरा’छ । उसले ब्वा ! भन्दा पनि कता-कता मुटु चसक्क घोचे जस्तो लाग्छ । तैपनि घर गृहस्थी खेतीपाती चलाएकै छु । पर बसेर पिर नगर्नुहोला । मनमा पिर जति भा’नि मनमै भित्र लुकाको छु, मैले शिर झुकाको छैन । तपाईं पनि पर्देशमा शिर नझुकाउनु होला । भन्न त हजुरले दुःख नगर निमेक लगाउनू, खेतला लाउनू भन्नुभा छ । मैले निमेक दिन परे पनि दिएकै छु । खेताला लाउन मिल्ने पनि लाएकै छु तर निमेक दिन नि नमिल्ने खेताला लाउन पनि नमिल्ने काममा के गरौँला ? चिठी पढी कुरा बुझी त्यहाँ खाई यहाँ चुठ्न आउनुहोला । तपाईंको सम्पत्ति र झिटी झाम्टोमा कसैको आँखा पर्न दिनेछैन, जुन दिन आउनुहुन्छ त्यही दिन सपुर्त बुझाउँला । कति दुःखसास्तीसँग जोगाइराखेको छु । मलाई मात्र था छ प्यारा इति कुरा भित्री मनमा राख्नू । फेरि पनि भन्छु स्वामी तपाईं त्यहाँ खाई यहाँ चुठ्न आउनू ।हजुरको प्यारी चरणकी दासीमखमली