धर्म-संस्कृतिलक्षित टिकटकमा भएको अभद्र टिप्पणीले मधेशमा तनाव - bishwokhabar.com
काठमाडौं- अभद्र टिप्पणीले मधेश प्रदेशमा तनाव सिर्जना गरेको छ । धर्म संस्कृतिलक्षित सामाजिक सञ्जाल टिकटकमा भएको एउटा अभद्र टिप्पणीको विषयलाई लिएर पछिल्लो समय मधेश प्रदेशका विभिन्न क्षेत्रमा प्रदर्शन भइरहेका छन् । जसले सुरक्षा संवेदनशीलतासमेत बढाएको छ । धनुषा र पर्सामा प्रदर्शन भएको छ । प्रहरीका अनुसार दुई जना युवाहरूले टिकटकमा हिन्दुस्तानको नाम लिँदै एक भिडियो पोस्ट गरेका थिए । त्यसपछि दुवैलाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीको जिम्मा लगाइदिए । यस विषयमा प्रहरी कार्यालयमा छलफल भइरहेका बेला एउटा मस्जिदमा आक्रमण भएको थियो । आक्रमणमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यस विषयलाई स्वार्थ समूहले गलत तरिकाले फैलाउन खोज्दा तनाव भएको हो । दिनहुँ प्रदर्शन हुन थालेपछि वीरगन्जमा कफ्र्यु नै लगाइएको छ । प्रहरीका अनुसार सम्भावित जोखिम ख्याल गर्दै धनुषा र पर्सासहित मधेशका आठैवटा जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । विभिन्न संवैधानिक आयोगहरूले पनि आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम राख्न संयुक्त अपिल गरेका छन् । मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगले संयुक्त विज्ञप्ति निकालेर नेपाली समाज ऐतिहासिक रूपमा विविध जाति, धर्म, भाषा र संस्कृतिबीच आपसी सम्मानका साथ सहअस्तित्वमा बस्दै आएको उल्लेख गरेका छन् । तर केही समययता स्वार्थ समूहको उक्साहटमा समाजमा भ्रम र अविश्वास सिर्जना हुने खालका गतिविधि बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपाली समाज विविधतामा एकताको उदाहरण हो । कुनै पनि किसिमका उत्तेजक गतिविधिले धार्मिक वा सामाजिक सद्भावमा आँच पुर्याउन नदिन सबै पक्ष सचेत र जिम्मेवार हुन आवश्यक छ ।’ मधेशी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह, थारु आयोगका कार्यवाहक अध्यक्ष सुवोधसिंह थारु, मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीलगायतले संयुक्त विज्ञप्ति निकालेर सबै धार्मिक सम्प्रदाय, समुदाय, राजनीतिक दल तथा नागरिक समाजलाई संयम अपनाउन र कानुनको परिधिभित्र रहेर अभिव्यक्ति तथा गतिविधि गर्न आग्रह गरेका हुन् । संयुक्त विज्ञप्तिमार्फत साथै, सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट सूचना र अफवाहप्रति सचेत रहनसमेत अनुरोध गरिएको छ । संयुक्त अपिलमा आयोगका पदाधिकारीहरूले आपसी संवाद, समझदारी र सहकार्यबाट मात्र सामाजिक एकता बलियो बन्ने उल्लेख गर्दै कुनै पनि प्रकारको विभाजनकारी सोच वा गतिविधिलाई प्रोत्साहन नदिन आग्रह गरेका छन् । स्थानीय प्रशासनलाई पनि नागरिकलाई शान्ति, सुव्यवस्था र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न तथा कुनै समस्या देखिए कानुनी निकायमार्फत समाधान खोज्न अनुरोध गरिएको छ । गृह मन्त्रालयले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन गरेको सन्दर्भमा नागरिकको धार्मिक सहिष्णुता र स्वतन्त्रताको हकप्रति गृह मन्त्रालय सदैव सचेत रहेको भन्दै विज्ञप्ति निकालेको छ । पछिल्लो समय तराई एवं मधेशका केही जिल्लामा धार्मिक सहिष्णुता तथा सद्भावमा गम्भीर असर पर्नेगरी केही व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरिएको भनेर त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस विषयमा सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा विभिन्न समुदायहरूसँग समन्वयात्मक बैठक, केन्द्रीय सुरक्षा समितिको बैठक भएको छ । तराई एवं मधेसका २१ जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारी, केन्द्रमा रहेका सम्बद्ध आयोगका पदाधिकारीहरूसँग शान्ति सुरक्षा एवं धार्मिक सहिष्णुतालगायतका समसामयिक विषयमा छलफल भएको छ र सबैलाई गरी संयमता, सजमता र सतर्कता अपनाउन आग्रह गरिएको छ । गृह मन्त्रालयका सह सचिव एवं प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर भनेका छन्, ‘पछिल्लो समय धनुषा जिल्लाका विभिन्न स्थानमा सामाजिक सञ्जाल दुरुपयोग गरी निश्चित समुदाय एवं धर्मलक्षित अवैधानिक गतिविधि गर्ने, आपसी सामाजिक सद्भावमा खलल पु¥याउने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने, धार्मिक स्थलमा तोडफोड, आगजनी, लुटपाटजस्ता हिंसात्मक एवं सामाजिक द्वेष फैलाउने व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याई कारबाहीको प्रक्रिया अगाडि बढाइएको बेहोरा जानकारी गराइन्छ ।’ विविध जातजाति, धर्म र सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्ने दुरुत्साहन गर्ने एवं सार्वजनिक शिष्टावार वा नैतिकताको प्रतिकूल हुनेजस्ता घृणाजन्य अभिव्यक्ति निरुत्साहित गर्ने नीति सरकारको छ । यस्ता अभिव्यक्ति र गतिविधिलाई दण्डनीय अपराधका रूपमा व्यवस्था गरेको उल्लेख गर्दै सरकारले जोकोही व्यक्ति तथा समूहले जहाँसुकै रहेर गराए पनि कानुनद्वारा वर्जित र दणनीय गतिविधिलाई कानुनी दायरामा ल्याउने सरकारको प्रतिबद्धता छ । विगतका पनि मधेशका केही जिल्लामा धार्मिक विषयलाई लिएर बेलाबेला विवाद, तनाव र दंगाका घटना भएका छन् । त्यस्ता घटना प्रायः अफवाह, सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट सूचना तथा उत्तेजक अभिव्यक्तिका कारण चर्किने गरेको सुरक्षा विश्लेषण छ । –पत्रपत्रिकाबाट