भाउन्नेमा पोलेको मकैको व्यापार बढ्दै - kendrabindu.com
बेलबारी। बेलबारी–८ राधानगरकी प्रमिला राई विगत सात वर्षदेखि भाउन्ने चोक नजिकै मकै पोलेर बिक्री गर्दै आएकी छन् । उनको श्रीमान् र छोरीको साथमा यो व्यवसाय चलिरहेको छ। उनले भनिन्, रु २५ प्रतिघोगा किनेको हरिया मकै पोलेपछि रु ५० प्रतिघोगा बिक्री भइरहेको छ। कानेपोखरी–५ की दुर्गामाया तामाङका अनुसार, औसतमा दैनिक रु एक हजारदेखि एक हजार ५०० आम्दानी हुने गरेको छ । पछिल्ला केही वर्षयता भाउन्नेमा पोलेको मकैको व्यापार बढ्दो छ। बेलबारी–१० का रमेश कुँवर पनि यही स्थानमा मकै पोलेर बिक्री गर्दै आएका छन्। घरमै होटल सञ्चालन गर्ने कुँवरले कोरोना महामारीका कारण व्यवसाय प्रभावित भएपछि मकै पोलेर बिक्री सुरु गरेको बताए। राजमार्गमा यात्रा गर्ने सार्वजनिक तथा निजी सवारीका यात्रु मकै किन्ने र खानकै लागि रोक्ने गरेका छन्। सुुनसरीको इटहरी घर भएका अनिल सुब्बा परिवारसहित भाउन्नेमा गाडी रोकेर मकै पोलेको स्वाद लिन आउँछन्। उनी भन्छन्, “यहाँको मकैको स्वाद बेग्लै छ, पोलेको मकै उचित मूल्यमा ताजा पाइन्छ।” भाउन्ने चोकदेखि पूर्व चिसाङ खोला क्षेत्रमा २० भन्दा बढी स्थानीय मकै पोलेर व्यवसाय गर्दै आएका छन्। पछिल्लो समय बेलबारीमा व्यावसायिक मकैखेतीमा किसानको आकर्षण बढ्दो छ। मकैले उचित मूल्य पाएपछि किसानहरूले वर्षभरि हरिया मकै उत्पादनमा जोड दिन थालेका छन्।