Redirecting...

लमजुङबाट रास्वपा उम्मेदवारमा धर्म केसी सर्वसम्मत सिफारिस - nagariknews.nagariknetwork.com

लमजुङबाट रास्वपा उम्मेदवारमा धर्म केसी सर्वसम्मत सिफारिस - nagariknews.nagariknetwork.com
Source: ngrk

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ धर्म केसीको नाम एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।मंगलबार बेंसीशहरस्थित पार्टी कार्यालयमा जिल्ला सभापति अशोक सापकोटाको अध्यक्षतामा बसेको जिल्ला भेलाले केसीलाई सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।उक्त बैठकमा जिल्ला कार्यसमिति, पालिका तथा वडा समितिका पदाधिकारीहरू र प्रदेश सदस्यहरूको उपस्थिति थियो। केसी पार्टीका संस्थापक जिल्ला सभापति एवं केन्द्रीय संगठन विभागका सदस्य हुन्।जिल्लाबाट एकल नाम सिफारिस भए पनि उम्मेदवारको अन्तिम टुंगो भने पार्टीको विधान अनुसार ‘प्राइमारी इलेक्सन’ बाट मात्र लाग्ने केसीले स्पष्ट पारेका छन्।नागरिक न्युजसँग कुराकानी गर्दै केसीले भने, ‘जिल्लाका साथीहरूले सद्भाव देखाएर सर्वसम्मत रूपमा एकल नाम सिफारिस गर्नुभएको छ। तर, हाम्रो पार्टीको पद्धति अनुसार जिल्लाको सिफारिस नै अन्तिम हुँदैन। उम्मेदवार छनोटका लागि ‘प्राइमारी इलेक्सन’, ‘पोलिटिकल प्रोक्सिमिटी’ र ‘लिडरसिप एकेडेमी’ को परीक्षा उत्तीर्ण गर्नुपर्छ।’उनले सांसद भइसकेपछि आफ्नो भूमिका कस्तो हुन्छ र संसद्को विशेष समय वा शून्य समयमा कसरी प्रस्तुति दिने भन्ने विषयमा ‘प्रेजेन्टेसन’ दिएपछि मात्र पार्टी केन्द्रले उम्मेदवारको अन्तिम निर्णय गर्ने बताए।केसी हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको प्रमुख सल्लाहकारको भूमिकामा समेत रहेका छन्। उनले निर्वाचनको तयारीमा केन्द्रित हुनका लागि छिट्टै सल्लाहकार पदबाट राजीनामा दिने तयारी गरेको जानकारी दिए।‘अब चुनावी माहोलमा लाग्नुपर्ने भएकाले मन्त्रालयको जिम्मेवारी छाड्दै छु,’ उनले भने।यसअघि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि केसी लमजुङबाटै रास्वपाका उम्मेदवार थिए। पार्टी स्थापनाको चार महिना मात्र पुगेको र जिल्लामा बलियो संगठन नभएको अवस्थामा पनि उनले ९ हजार ३३ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेका थिए।रास्वपा लमजुङका सभापति अशोक सापकोटाका अनुसार अहिले जिल्लाका सबै पालिकामा संगठन विस्तार भइसकेको छ। उनले पुराना दलहरूप्रति वितृष्णा र रास्वपाप्रति बढेको जनलहरका कारण यसपटकको निर्वाचनमा शानदार नतिजा ल्याउने दाबी गरे।