नख्खुमा रविलाई भेटेपछि प्रदीप खड्कालाई प्रश्न ‘रास्वपाबाट राजनीतिमा आउन खोज्नु भएको ?’ - www.sutranews.com
काठमाडौं । सोमबार अभिनेता प्रदीप खड्काले नख्खु कारागार पुगेर करिब एक घण्टा रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्। भेटमा रविले प्रदीपलाई प्रत्यक्ष राजनीतिमा आउन सुझाव दिएका थिए। तर प्रदीपले स्पष्ट जवाफ दिए, ‘अहिले मेरो प्राथमिकता राजनीति होइन। म मेरो क्षेत्रमा योगदान दिन चाहन्छु।’ प्रदीपले बताए अनुसार रविले भने, ‘तपाईं चुनौती स्वीकार गर्ने पात्र हुनुहुन्छ, यदि मेरो कार्यमा बाधा छैन भने खुला रूपमा रास्वपामा आउनुस्।’ राजनीतिमा आउँदा रास्वपाबाटै आउनुहुन्छ ? भन्ने प्रश्नको उत्तर दिँदै प्रदीपले पुरानो संगठन दुषित भइसकेको छ र त्यसलाई सुधार्न समय लाग्ने भन्दै यदि राजनीतिमा आए नयाँ र स्वच्छ नेतृत्वसँगै आउने बताए। तर अहिले त्यस्तो मनसाय नभएको भन्दै फागुन २१ को चुनावका लागि नयाँ पुस्तालाई मिलेर अघि बढ्न सुझाव पनि दिए। प्रदीपले विदेश पलायन र देशमा बस्न असहज हुने अवस्थालाई उदाहरणको रूपमा उल्लेख गर्दै भने, ‘रवि दाइको भेट प्रेरक रह्यो। आवश्यक परे पछि राजनीति पनि आउँछु।’