वाणिज्य बैंकहरूले पुस महिनामा पनि घटाए ब्याजदर, कुनको कति? - www.nepalclicks.com
काठमाडौं। कर्जाको माग बढ्न नसकेपछि वाणिज्य बैंकहरूले ब्याजदर निरन्तर घटाइरहेका छन्। पुस महिनामा पनि ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिएका छन्। मंसिर महिनाको तुलनामा पुस महिनामा १३ वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। जसमध्ये प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशत ब्याजदर घटाएका हुन्। त्यस्तै, प्रभु बैंक र कृषि विकास बैंकले समान ०.४ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् भने कुमारी बैंकले ०.३८ प्रतिशतले ब्याजदर घटाएको छ। यस्तै, सात वाणिज्य बैंकले भने मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक र हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा मंसिर महिनाकै दरलाई निरन्तरता दिएका हुन्। कर्जाको ब्याजदर एकल अंकमा आउँदा पनि निजी क्षेत्रबाट कर्जाको माग बढ्न सकेको छैन्। जसले गर्दा प्रणालीमा १० खर्ब रुपैयाँ बढी लगानीयोग्य रकम(तरलत) थुप्रिएको छ।